
२३ साउन, काठमाडौं । ऊर्जा क्षेत्रको विकास एवम् समस्या समाधानका लागि नेपाल उद्योग परिसंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) बीच सहकार्य गर्ने सहमति भएको छ ।
इप्पानका नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा स्वागत गर्न परिसंघले आयोजना गरेको कार्यक्रममा यी दुई संस्थाबीच यस्तो सहमति भएको हो ।
इप्पानका नवनिर्वाचित पदाधिकारीलाई परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले स्वागत गरेका थिए ।
सो क्रममा परिसंघका अध्यक्ष अग्रवालले ऊर्जा क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने दीगो माध्यम रहेको बताए । उनले ऊर्जा क्षेत्रको समग्र विकास, नीतिगत सुधारका लागि सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । परिसंघले ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको भन्दै उनले परिसंघमा ऊर्जा परिषद् गठन गरी यस क्षेत्रमा कार्य गर्दै आएको बताए । उनले पीपीए खुला गरिनुपर्ने, नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गरिनु पर्नेमा जोड दिए ।
इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रको विकासका लागि ऊर्जा संकटकाल घोषणा गर्न सरकारलाई सुझाव दिएको बताउँदै ऊर्जा क्षेत्रको सन्दर्भमा निजी क्षेत्रको सुझावमा एकरुपता हुनुपर्नेमा जोड दिए ।
निजी क्षेत्रलाई आन्तरिक एवम् बाह्य क्षेत्रमा विद्युत व्यापार गर्न दिनुपर्ने, विद्युत निर्यातका लागि सीमा क्षेत्रसम्म प्रसारणलाइन निर्माण हुनुपर्ने, उद्योगीहरुले आवश्यक विजुली पाउनु पर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएको उनले बताए ।
प्रतिक्रिया 4