+
+

नयाँ डिजाइनमा ५ रुपैयाँको सिक्का प्रचलनमा ल्याइने

राष्ट्रबैंक भन्छः ५ रुपैयाँभन्दा बढी दरका सिक्का पनि निकाल्ने योजना छ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते २०:१३

२३ साउन, काठमाडौं । सरकारले ५ रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैंठकले उक्त परिमाणमा सिक्का टकमरी गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

हाल नेपाल राष्ट्र बैंकको टक्सार विभागले १ रुपैयाँ र २ रुपैयाँ दरको सिक्का मात्रै टकमरी गर्दै आएकोमा अब राष्ट्र बैंकले ५ रुपैयाँ दरको सिक्का बजारमा ल्याउन लागेको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेलले बताए ।

नेपाल राष्ट्र बैंक ‘नोट छपाइ तथा सिक्का टकमरी सम्बन्धी निर्देशिका, २०६५-पहिलो संशोधन, २०७५’मा नयाँ डिजाइन हुने सिक्काको टकमरी नेपाल सरकारबाट स्वीकृति प्राप्त भएपछि मात्रै  गर्न सक्ने व्यवस्था छ ।

पुरानै डिजाइनको सिक्का पुनः टकमरी भने राष्ट्र बैंकको सञ्चालक समितिबाट स्वीकृतिबाटै गर्न पाइने व्यवस्था छ ।

५ रुपैयाँ दरको नयाँ सिक्का नयाँ डिजाइनमा आउने राष्ट्र बैंक टक्सार विभाग प्रमुख थानेश्वर आचार्य बताउँछन् । सिक्काको नयाँ डिजाइनमा नेपालको संस्कृति झल्कने र राष्ट्रिय जनावर पनि अंकित हुने उनले बताए ।

नेपालमा यसअघि पनि ५ रुपैयाँको सिक्का प्रचलनमा रहेको थियो ।

किन प्रचलनमा ल्याउन लागियो ५ रुपैयाँको सिक्का ?

राष्ट्र बैंकले हाल ५ रुपैयाँ दरको नोट छपाइ गर्दै आएको भए पनि सिक्का टकमरी भने गर्ने गरेको थिएन । ५ रुपैयाँ दरको नोटको आयु कम हुने र छपाइ लागत बढी पर्ने भएकोले सिक्का टकमरी गर्न लागेको राष्ट्र बैंकका सहायक प्रवक्ता डा.  पोख्रेलले बताए ।

सिक्का मात्रै बोकेर बजारमा जाँदा पनि केही सामान खरिद गर्न सक्नेगरी सिक्का निष्कासन गर्नुपर्छ भन्ने राष्ट्र बैंकको योजना रहेको उनले बताए । ५ रुपैयाँ मात्रै नभई त्यसभन्दा बढी दरका सिक्का पनि टकमरी गर्ने योजना रहेको उनले बताए ।

नोटको आयु १ देखि ३ वर्ष हुन्छ । सिक्काको आयु २० वर्ष भनिए पनि ४० वर्षसम्म पनि यसलाई प्रचलन गर्न सकिने देखिएकाले लागत पनि कम हुने राष्ट्र बैंक टक्सार विभाग प्रमुख आचार्य बताउँछन् ।

‘१ रुपैयाँ र २ रुपैयाँ दरको सिक्काको खरिद क्षमता कमजोर भयो । त्यसैले ५ रुपैयाँको सिक्का प्रचलनमा ल्याउन लागिएको हो,’ उनले भने, ‘५ रुपैयाँको सिक्का पनि सानो हुन्छ । ५० रुपैयाँसम्मको सिक्का निष्कासन गर्नुपर्छ ।’

अहिले नोट पनि छपाइ हुने र सिक्का पनि टकमरी हुने तर विस्तारै सानो दरको नोट भन्दा सिक्का टकमरी गर्नुपर्ने भन्ने योजना रहेको टक्सार विभाग प्रमुख आचार्य बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?