
२४ साउन, काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहालद्वारा लिखित ‘द पर्पल बुक अफ ट्याक्स’को छैटौं संस्करण बजारमा आएको छ ।
यस पुस्तकमा आर्थिक ऐन, २०८० ले संसोधन गरेको आयकर ऐन, मूल्य अभिवृद्धि कर ऐन नेपाली तथा अंग्रेजी भाषामा प्रस्तुत गरिएको छ । त्यस्तै, भन्सार र अन्तःशुल्कका व्यवस्थालाई संक्षिप्त रुपमा समेत प्रस्तुत गरिएको दाहालले बताए ।
आर्थिक ऐन मार्फत लगाइएका सम्पूर्ण कर, महसुल, दस्तुर, शुल्क तथा रोयल्टीहरुका साथै आर्थिक ऐन, २०८० मार्फत करमा दिइएका छुट तथा सहुलियतहरुलाई समेत छुट्टाछुट्टै रुपमा पुस्तकमा समावेश गरिएको छ ।
आयकर तथा मूल्य अभिवृद्धि कर निर्देशिकाले गरेका विशेष कानुनी व्याख्याहरु ऐनका व्यवस्थासँगै मिलाएर राखेका कारणले पाठकलाई कानुन पढ्न र बुझ्न सरल हुने लेखक दाहालले बताए । यस पुस्तकमा आन्तरिक राजस्व विभागले जारी गरेका परिपत्र, पूर्वादेश तथा सर्वोच्च अदालतले कर सम्बन्धी मुद्दामा गरेका महत्वपूर्ण व्याख्या तथा फैसलालाई ऐनका दफा सँगै मिलाएर राखेका कारण यो पुस्तक करसम्बन्धी महत्वपूर्ण स्रोत सामग्री हुने उनको भनाइ छ ।
पुस्तक ‘दराज’मार्फत पाठककै ठेगानामा निःशुल्क डेलिभरी गर्ने सुविधा रहेको जानकारी पनि उनले दिए । त्यस्तै, उपत्यकाभित्र तथा उपत्यका बाहिरका मुख्य शहरका प्रमुख स्टेशनरी पसलमा पनि यो पुस्तक उपलब्ध रहेको उनले बताए ।
प्रतिक्रिया 4