
२४ साउन, पोखरा । पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको प्रतिमा हटाएपछि पोखरामा फेरि विवाद सुरु भएको छ । लखन थापाको मुन्तिर रहेको पृथ्वीनारायण शाहको प्रतिमा नभेटिएपछि बुधबार साँझ राप्रपाका कार्यकर्ताले नाराबाजी गरेका छन् ।
उनीहरुले पृथ्वीनारायण शाहको प्रतिमा चोरी भएको आरोप लगाएका छन् । ‘यहाँ हाम्रो राष्ट्रपिता, राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको प्रतिमा थियो । तर, बलजफ्ती चोरी भएको छ’ राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले भने, ‘हामीले त्यो फिर्ता नल्याउँदासम्म आन्दोलन जारी राख्छौं ।’
बुधबार साँझ उनीहरुले पृथ्वीचोकमा केहीबेर नाराबाजी गर्दै धर्ना दिए । बिहीबार बिहानसम्म प्रतिमा पुनर्स्थापना नभए थप आन्दोलन गर्ने राप्रपाले चेतावनी दिएको छ । ‘अब हामीले यहाँ जसरी पनि पृथ्वीनारायणकै प्रतिमा सालिक ल्याउने गरी आन्दोलन थाल्छौं’, प्रवक्ता गिरीले भने ।
बुधबार आदिवासी जनजाति दिवसको अवसरमा नेपाल आदिबासी जनजाति महासघंले पृथ्वीचोक क्षेत्रमा र्याली निकालेको थियो । त्यसैले राप्रपाले प्रतिमा हटाउनुको दोष महासंघतिर सोझ्याएको छ ।
तर आदिवासी जनजाति महासंघले भने आफूहरुले प्रतिमा नहटाएको दाबी गरेको छ । ‘हाम्रो र्यालीमा त्यस्तो केही भएको होइन । केही भाइहरुले गरेको भए थाहा भएन,’ आदिवासी जनजाति महासंघ, गण्डकी अध्यक्ष धर्मबहादुर गुरुङले भने ।
वर्षेनि विवाद
यही विषयमा पृथ्वीचोकमा झण्डै दुई दशकदेखि पटकपटक विवादसँगै झडप हुँदै आएको छ । यो चोकको नाम विभिन्न समयमा चाइना चोक, पृथ्वीचोक हुँदै लखन चोक रहेको छ ।
०६२/६३ को जनआन्दोलनका क्रममा त्यहाँ रहेको पृथ्वीनारायण शाहको सालिक तोडफोड भएको थियो । गणतन्त्र स्थापनापछि शाहको सालिकको ठाउँमा लखन थापाको सालिक उभ्याएर ‘लखन थापा’ चोक राखिएको थियो ।
०७४ असोज ९ गते मध्यरातमा पोखरा महानगरले चोक फराकिलो पार्ने भन्दै सालिकमाथि डोजर चलाएको थियो । स्थानीय र सरोकारवाला निकायसँग समन्वयबिना नै रातारात सालिक भत्काइएको भन्दै तत्कालीन मेयर मानबहादुर जिसीमाथि मगर समुदायसम्बद्ध संघसंस्थाले खनिए । महानगर पछि हट्यो ।
मगर संघसहितको आदिवासी जनजाति समुदायसँग महानगरले २४ घण्टाभित्रै त्यहाँ शहीद लखन थापाकै सालिक राख्ने सहमति गर्यो । तर, त्यही दिन लखनको सालिक फेरि ठड्याउने महानगरको सहमतिविरुद्ध क्षेत्री समाज आन्दोलित बन्यो । क्षेत्री समाजसँग पनि जिसीले फेरि त्यहाँ कुनै सालिक नराख्ने सहमति गरे ।
एकैदिन दुई समुदायसँग फरकफरक सहमति गरेपछि सालिक विवाद साम्य हुनुको साटो झनै चर्कियो । सालिकका विषयमा दुई समुदायबीच विवाद चर्किंदै गएपछि महानगरले दुवै पक्षलाई सन्तुष्ट बनाउन पोखरा जामुनबोटमा शहीद पार्क बनाउने र पोखरा उपत्यकाभरि भएका सबै सालिक एकै ठाउँमा व्यवस्थित गर्ने उपाय निकाल्यो ।
जामुनबोटको करिब ५६ रोपनी जग्गामा शहीद पार्क बनाउने महानगरको योजना बन्यो । त्यसरी पोखरा उपत्यकाभरिका विभिन्न चोकमा रहेका सालिक हटाउँदा सडक फराकिलो हुने र ट्राफिक व्यवस्थापनमा सहयोग हुने महानगरको तर्क थियो ।
उक्त योजनाअनुसार महानगरले आर्थिक वर्ष २०७५/७६ बाटै बजेट विनियोजन गरेर काम अघि बढायो । तर, काम सुरु भएको ६ वर्ष बितिसक्दासमेत उपत्यका भरका सबै सालिक पूर्ण रुपमा स्थानान्तरण हुन सकेका छैनन् । त्यसमध्ये सबैभन्दा विवादमा पृथ्वीचोक आइरहन्छ ।
तत्कालिन समयमा महानगरले त्यहाँ लखन थापा र पृथ्वीनारायण शाह दुवैको सालिक हटाएर जामुनबोटमा राख्ने सहमति गरे पनि योजना कार्यान्वयनमा ढिलाइ गर्दा मगर समुदायले २०७५ फागुन १ गते राति लखन थापाको पूर्णकदको सालिक उभ्याए ।
मगर समुदायले लखन थापाको सालिक उभ्याएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले गत वर्ष पृथ्वी जयन्तीमा लखन थापाको सालिकमुनि पृथ्वीनारायण शाहको प्रतिमा राख्यो ।
सालिक र नामकै विषयमा लामो समयदेखि विवादमा आइरहेको पृथ्वीचोकबाट सालिक महानगरले अझै हटाउन सकेको छैन । महानगर प्रवक्ता मोती तिमिल्सिनाले तत्कालीन महानगर नेतृत्वले त्यहाँबाट सालिक सार्ने निर्णय गरेको आफूहरुलाई जानकारी भएको बताए ।
‘निवर्तमान मेयरज्यूको पालामा पृथ्वीचोकसहित सबै चोकका सालिक शहीदपार्कमा राख्ने निर्णय भएको जानकारी छ । तर, यसबेला त्यो विषयमा कुनै छलफल भएको जानकारीमा आएको छैन’ उनले भने ।
प्रतिक्रिया 4