+
+

च्यासलमा ओली–रावलको सकसपूर्ण मिलाप

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३० गते २१:३५

३० साउन, काठमाडौं । ‘अन्य कुरा यथावत् रहेमा’ एउटै दलका दुई नेता भेटिनु कुनै समाचार होइन । तर एमाले अध्यक्ष केपी ओली र दशौं महाधिवेशनमा उनसित अध्यक्ष पदमा प्रतिस्पर्धी भीम रावलबीचको भेटघाटका लागि ‘अन्य कुरा’ यथावत् थिएनन् ।

आफूसँग असन्तुष्ट भीम रावल भेट्न ओली जाने कुरो भएन । असन्तुष्ट भेट्ने चलन एमालेमा मदन भण्डारीसँगै अस्ताइसकेको थियो । ०४८ को चुनावमा टिकट नपाएका कृष्णगोपाल श्रेष्ठ लगायत नेता भेट्न तत्कालीन महासचिव भण्डरी साइकलको घन्टी किर्लिङ किर्लिङ बजाउँदै घरमै पुगेको सम्झनामात्रै बाँकी छ ।

गत महिना पनि वामदेव गौतम च्यासलस्थित एमाले पार्टी मुख्यालय पुगे, जहाँ गौतम र ओलीबीच ४५ मिनेट कुराकानी चलेको थियो । निस्किँदा वामदेव जोशमै थिए । केही दिनमै उनी निराश बन्न पुगे । ओलीले उनलाई पार्टीमा ठूलो जिम्मेवारी दिने आशमात्रै देखाए ।

मंगलबार पूर्वउपाध्यक्ष भीम रावल पनि च्यासल पुगेका छन् । ओलीसँग उनको झन्डै दुई घण्टा कुराकानी भएको थियो । ओलीको सचिवालयका एक सदस्यका अनुसार रावल एमालेमा फेरि सक्रिय हुन चाहन्छन् ।

‘निष्क्रियता लामो भयो, काम गर्ने खालको मुडमा छु भन्नुभयो’, ती सदस्यले भने, ‘पार्टीमा काम गर्ने वातावरण बनाउनुपर्‍यो भन्ने कुरा छ, बनिहाल्छ नि ।’

ओलीसँगको भेटका बारेमा ट्वीट गर्दै रावलले सौहार्द कुरा भएको टिप्पणी गरेका छन् । ओलीसँग फेरि भेट गर्ने उनले बताए ।

‘लामो समयपछि आज अपराह्न अध्यक्ष ओलीसँग भेटवार्ता भयो,’ उनले लेखेका छन्, ‘पार्टीमा भएका विगतका घटनाक्रम, राष्ट्रिय राजनीतिका विविध पक्षबारे भलाकुसारी र विचारको सौहार्द आदानप्रदान भयो ।’

सँगै रावलले एउटा फोटो पोस्ट गरेका छन्, जहाँ ओली सेता दौरासुरुवालमा खुट्टा खप्ट्याएर, हात फुकाएर बसेका छन् । रावलचाहिँ खुट्टा फुकाएर, हात बाँधेर बसेका छन् । दुवैले एक अर्कालाई हेरेका छन् । रावलले मुख खोलेका छन्, ओलीले मुख टम्म बाँधेका छन् ।

कुनै ठोस नतिजामूखी कुरा नभए पनि रावललाई सुहाउँदो भूमिका दिन ओली सकारात्मक सुनिएका छन् ।

०७८ मंसिरको पार्टी महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्न लाग्दा रावलले उनलाई चुनौती दिएका थिए । प्रतिष्पर्धाको माग राख्दै उनी लगायत नेताहरुले उम्मेदवार बने । नतिजा जगजाहेर छ । तर कुरा त्यतिमै सकिएन । ओलीको एकलौटीपनालाई चुनौती दिने रावल, घनश्याम भूसाल लगायत नेताहरुले गत मंसिरको आम चुनावमा विगतमा जितेको क्षेत्रबाट एमालेको टिकट नै पाएनन् ।

रावललाई टिकट नदिएको मूल्य एमालेले सुदूरपश्चिममा चुकाइसकेको छ । भुसाल एकीकृत समाजवादीको महासचिव बन्न गएका छन् ।

यसबीचमा उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको एकता वार्ता संयोजन समितिले रावल लगायत नेताहरुसँग संवाद बढाइरहेको छ । मंगलबार पार्टी कार्यालयमा भएको ओली रावल भेट त्यसैको एक कडी भएको बताइएको छ ।

रावलले ‘छिटै पाउने’ भनिएको ओलीसँगको अर्को भेट भने हाललाई अनिश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?