
३२ साउन, काठमाडौं । नेविसंघको ७११ सदस्यीय केन्द्रीय तदर्थ समितिप्रति असन्तुष्टि जनाउँदै असन्तुष्ट समूह नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा रिले अनशन बसेको छ ।
तदर्थ समितिलाई लामो समयदेखि सक्रिय कार्यकर्तालाई छुटाइएको र नेता निकटका व्यक्तिलाई राखिएको भन्दै असन्तुष्ट समितिले बुधबार अपराह्न चार बजेदेखि रिले अनशन सुरु गरेको हो ।
‘तदर्थ समितिमा अरु पार्टीमा भएका र विदेशमा भएकालाई समेत राखियो, लामो समयदेखि सक्रिय इमान्दार कार्यकर्तालाई छुटाइयो र विधानको व्यवस्था विपरीत समिति गठन गरिएकोमा हाम्रो विरोध हो’ असन्तुष्ट पक्षका एक दीपक ओझाले अनलाइनखबरसँग भने, ‘त्यसैले अहिलेको तदर्थ समिति खारेज गरी विधानसम्मत १०१ सदस्यीय तदर्थ समिति गठन हुनुपर्छ भन्ने हाम्रो माग हो ।’
तदर्थ समिति सार्वजनिक भएलगत्तै पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउन खोजे पनि समय नपाएको उनले गुनासो गरे । तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु शेखर कोइराला र रमेश लेखकलाई भेटेर आफ्ना माग र विधानको प्रति बुझाए पनि माग सम्बोधन नभएपछि बाध्य भएर रिले अनशन सुरु गरेको ओझाले बताए ।
हाल रिले अनसनमा २-२ जना १२-१२ घण्टाको दरले बस्दै आएको जानकारी दिंदै उनले भने, ‘हाम्रो माग सम्बोधन नभएसम्म रिले अनशन जारी रहन्छ ।’
स्वेच्छाचारी तरिकाले अगाडि बढे नेविसंघको विधान २०७५ को सातौं संशोधन भाग ६ को धारा ११ अनुसार विधानसम्मत केन्द्रीय कार्यसमिति सार्वजनिक गर्ने चेतावनी आन्दोलनरत पक्षले दिएको छ ।
प्रतिक्रिया 4