+
+
विचार :

अनुत्पादक नेतृत्व बाटो छोड, थप बोझ नबन

क्षमता र योग्यता भएको वा आफ्नो जिम्मेवारी बुझेको व्यक्तिले एकैपटकमा आफ्नो कुशलता देखाउँछ । बारम्बार अवसर पाएर पनि केही गर्न नसक्ने व्यक्तिको राज्य सञ्चालनमा कुनै काम छैन ।

 

गुरुराज घिमिरे गुरुराज घिमिरे
२०८० भदौ ३ गते १४:०१

हिजो–आज देशका कुनाकाप्चा सबैतिर सतहमा एउटै बहस चलेको देखिन्छ— ‘नेपाल अब कहिल्यै बन्दैन, नेपाल बनाउने कोही भएनन्, दलहरूले देश बिगारे, नेताहरू भ्रष्ट भए ।’

लोकतान्त्रिक नेपालका लागि यो निकै निराशाजनक र दुःखद कुरा हो । वर्तमान शासन प्रणालीका निम्ति कांग्रेसले झण्डै आठ दशक लामो लडाइँ लड्यो । नेपालमा पटक–पटक राजनीतिक अधिकार खोसियो र कांग्रेसकै प्रयत्न एवं अगुवाइमा प्राप्त पनि भयो । यस ऐतिहासिक यथार्थसँग नेपाली जनमानस पूर्ण परिचित छ ।

र, यसमा कुनै नेपालीले विवाद पनि गर्दैन । तर मुख्य कुरा राजनीति भए पनि जनताको जीवनमा आधारभूत परिवर्तन आयो कि आएन भन्ने कुराले राजनीतिक प्रणालीको साख र भविष्य निर्धारण गर्दछ । आफ्ना जनताप्रति राज्यले न्याय गर्‍यो कि गरेन भन्ने विषय प्रमुख हो ।

जनतालाई राजनीतिक अधिकारले मात्र पुग्दैन । सुरक्षा, खाद्यान्न र शान्ति अपरिहार्य शर्त हो । अरु धेरै विषय जनताको दैनन्दिन जीवनसँग जोडिएका हुन्छन् । साथै, उसले आफ्नो प्रतिष्ठापूर्ण जीवनका निम्ति आवश्यक पर्ने सबै पूर्वाधारयुक्त समाज खोज्दछ । राज्यको गठन र उत्पत्ति नै जनआवश्यकताले भएको हो भन्ने कुराको हेक्का शासन व्यवस्था चलाएकाहरूले राखेको देखिंदैन ।

यस विषयमा स्वयं राज्य अर्थात् नेपाल कति जिम्मेवार र गम्भीर छ त? यसको एउटै उत्तर छ, गम्भीर छैन । त्यसैले यस्ता बहसहरू सघन रूपमा निरन्तर चलिरहेका छन् । शासनबाट फाइदा उठाइरहेको सीमित समूह बाहेक लगभग सबै तह र समुदायका नेपालीहरू यो बहसमा सामेल छन् । यसले नेपाली समाजमा तनाव र आक्रोश बढिरहेको छ । त्यसका बाछिटाहरू सर्वत्र पुगेका छन् ।

राजनीति, कूटनीति र शासन व्यवस्थाका सम्बन्धमा उर्बर तथा प्रखर ज्ञान राख्ने प्राचीन मगधका चिन्तक विश्वविख्यात विचारक चाणक्यले राज्यको गठन वा उत्पत्तिका बारेमा आफ्नो धारणा दिएका छन् । उनी संसारमा चाणक्य, कौटिल्य र विष्णुगुप्तका नामले चिनिन्छन् ।

उनका अनुसार, जङ्गली अवस्थामा पशुवत् जीवन बिताइरहेका मानिसहरूले शोषण, असुरक्षा र जीविकाको संकटबाट जोगिनका लागि राज्यको निर्माण वा गठन गरेका हुन् । र, सँगसँगै आफूले विश्वास गरेको वा पत्याएको मेधावी, बुद्धिमान र बलशाली व्यक्तिलाई राजा वा शासक चयन गरेका हुन् ।

शासन व्यवस्था सञ्चालन गर्न ऐन कानुनको प्रबन्ध मिलाएका हुन् । प्राचीनकालमा मनुष्यको प्रथम राजाको रूपमा मनुलाई लिइन्छ । जनताले आवधिक रूपमा तय गरिएको कर बुझाउने र त्यही खर्चबाट शासकले राज्य सञ्चालन गर्ने प्रबन्ध गरिएको हो ।

कौटिल्यका अनुसार राज्यका खास कामहरू निर्धारण गरिएको हुन्छ । जसअनुसार तीन वटा कार्य प्रमुख छन्- आन्तरिक शान्तिसुरक्षाको स्थापना, बाह्य शत्रुको आक्रमण वा असुरक्षाबाट जोगाउने र राज्यको सुख समृद्धिका लागि लोक कल्याणकारी योजना बनाई लागू गर्ने ।

यी तीनै कार्यको उद्देश्य जनतालाई सुख दिने हो । जब संसारमा राज्यको निर्माण वा गठन भयो, त्यहाँका बासिन्दाका निम्ति राज्य नै सर्वोपरि ठान्न थालियो । राज्यलाई शक्तिशाली बनाउनतिर राजा र शासकहरूको ध्यान केन्द्रित हुन थाल्यो । समयक्रममा तिनै राजा र शासकहरू निरंकुश हुन थाले । त्यसपछि पुनः जनताको दुर्दिन सुरु भयो ।

शासन व्यवस्थाको तानाशाहीकरणले राज्य गठनको आधारभूत मान्यता नै क्षत–विक्षत हुन पुग्यो । शासनमा पुगेका वा पुर्‍याइएका व्यक्तिहरूले राज्यको दोहन गरी आफ्नो स्वार्थ पूरा गर्न थाले । समयक्रममा लोककल्याणकारी राज्यको प्राचीन अवधारणालाई पुनर्स्थापित गर्ने प्रयासको दौरानमा लोकतान्त्रिक शासन प्रणालीको उदय भयो । यद्यपि प्राचीनकालमा पनि संसारका कतिपय राज्यमा यसको निष्ठापूर्ण अभ्यास कायम थियो ।

केही दिनअघि भारतीय लोकसभामा कांग्रेस नेता राहुल गान्धीले मणिपुर राज्यमा चलिरहेको आन्दोलनमा राज्यले गरेको हिंसाको चर्को आलोचना गरे । उनले मणिपुरका जनताको भावना र आत्मसम्मानप्रति राज्यको अपहेलनाको चर्चा गर्दै प्राचीन रामायणको प्रसंग जोडे । लंकामा आगो हनुमानले होइन, रावणको अहंकारले लगाएको र रावणको मृत्यु रामद्वारा होइन, रावणको अहंकारका कारण भएको चर्चा गरे ।

यसबाट प्रष्ट हुन्छ, अहंकार कति खतरनाक हुन्छ । अहंकारले आफैंलाई भष्म गर्ने भएकाले यो एक प्रकारको आत्महत्या पनि हो । संसारमा अहंकारीहरूको विनाश नै भएको छ । नेपालमा २०६४ सालको संविधानसभा निर्वाचनपछि र २०७४ पछि शासनमा पुगेका व्यक्तिहरूको अहंकार प्रकट भएको थियो । जसको मूल्य तत्कालै चुकाउनु परेको थियो ।

त्यसो त २०४६ को परिवर्तनपश्चात् सत्तामा पुगेका अधिकांश व्यक्तिको अहंकार विभिन्न रूपमा प्रकट भएकै हो । जसले जनतालाई निर्वाचन प्रयोजनका लागि मात्र स्मरण गर्छ र सत्तामा बसेर बारम्बार दुर्व्यवहार गर्छ । यस्तो सुविधा वा छुट दुनियाँका उत्कृष्ट लोकतन्त्रमा कतै पनि छैन ।

नेपाल त्यसको अपवाद छ र कतै पनि यहाँको जस्तो जात्रा हेर्न पाईंदैन । विश्वका समुन्नत र उत्कृष्ट लोकतान्त्रिक शासन प्रणालीको अभ्यास भएका देशहरूमा राजनीतिक दलहरू जनता वा मतदातालाई जनार्दन अर्थात् भगवान मान्दछन् । जनताकै कृपा, अनुकम्पा र विश्वासले दलहरू सत्तामा पुगेर काम गर्ने अवसर पाउँदछन् ।

के नेपालका राजनीतिक दलहरू जनभावना अनुसार चलेका छन् त? आज हाम्रासामु अनगिन्ती प्रश्न उठेका छन् । जनताबाट छानिने तर जिम्मेवारीमा पुगेपछि जनता बिर्सने र जथाभावी गर्ने प्रवृत्तिबाट नेपाली समाज ग्रस्त छ र राज्यप्रतिको जनविश्वास ऋणात्मक छ ।

राजनीतिमा जे गरे पनि हुने हो र? सत्ता सीमित नेताको स्वार्थ पूरा गर्ने माध्यम हो र? यतिबेला नेपालमा चलिरहेको राजनीतिक प्रहसनले जनतालाई मर्माहत तुल्याएको छ ।

भ्रष्टाचार, तस्करी र अख्तियार दुरूपयोग राज्यको जीवन पद्धति भएको छ । राजनीतिक जवाफदेही शून्य बराबर छ । समाज आदर्शच्युत हुँदैछ । कसलाई हेरेर आश गर्ने ? मन अड्याउने कहाँ ? भर गर्ने कसलाई ?

कांग्रेस पार्टीमा तीव्र गतिमा मूल्य स्खलन जारी छ । अरु दलको कुरै भएन । यस्तो स्थितिले समाजमा घोर निराशा फैलिंदै छ । यसले आक्रोशको रूप लियो भने विद्रोहको नयाँ चरण सुरु हुनेछ । अनि देश सम्हाल्ने कसले ?

अब थोरै चर्चा गरौं, नेपालको सर्वाधिक लोकतान्त्रिक पार्टी कांग्रेसको आन्तरिक जीवन र लोकतान्त्रिक अभ्यासका बारेमा ।

हामी सिद्धान्तले अब्बल लोकतन्त्रवादी भयौं । दुनियाँमा प्रयोगमा आएका विचारधारा, वाद र सिद्धान्तहरूमध्ये सर्वाधिक लोकतान्त्रिक सिद्धान्त कांग्रेसले अवलम्बन गरेको सिद्धान्त हो । हाम्रो राजनीतिको केन्द्र जनताको सुख हो । अर्को कुरा कुनै पनि देशका बासिन्दाले खोजेको कुरा आफू बसेको समाजको शान्ति र सुव्यवस्था हो ।

गुणस्तरीय सुलभ शिक्षा, सुलभ र सहज स्वास्थ्य उपचार, राजनीतिक अधिकारको सुनिश्चितता र गुणस्तरीय जीवन प्रमुख कुरा हुन् । यी कुरा सफल शासन व्यवस्थाले मात्र सुनिश्चित गर्न सक्छ ।

देशलाई राम्रोसँग चलाउन नसक्ने, छिमेकी देशहरूसँग सुमधुर सम्बन्ध राख्न नसक्ने, देशमा धार्मिक तथा सामाजिक सद्भाव जोगाउन नसक्ने र नयाँ पुस्तालाई देशमै राखेर राष्ट्र निर्माण कार्यमा सरिक गराउन नसक्ने राजनीतिज्ञहरूलाई देशको बागडोर अँठ्याइराख्ने कुनै अधिकार छैन ।

 सफल शासन व्यवस्था भनेको असल शासन व्यवस्था हो । यसलाई सुशासनले मात्र प्रत्याभूत गर्न सक्छ । यसका निम्ति सही सिद्धान्त भएको गतिलो र भरपर्दो राजनीतिक दल चाहिन्छ । विचार र सिद्धान्तका हिसाबले कांग्रेस बाहेक अरु दलसँग अपेक्षा गर्ने ठाउँ थिएन ।

अहिलेको अवस्था के छ त? नेपाली कांग्रेस जनअपेक्षा अनुसार चलेको छ त? सीमान्तमा उभिएको गरीब नेपालीको कांग्रेसका बारेमा के धारणा छ? के हामी आफैं राम्रोसँग चलेका छौं त? कि अरुलाई उपदेश दिएर मात्र पुग्छ? हामीबाट न पार्टी राम्रो चल्न सक्यो, न देश । राज्य सञ्चालनमा गतिलो व्यवहार प्रदर्शन गर्न सकेनौं भन्ने होस नहुँदा सरकारमा पुग्नु भनेको पार्टीका नेताले जागिर खानु जस्तो प्रमाणित भएको छ ।

के कांग्रेस पार्टीका लागि सुहाउँदो कुरा हो यो? र अर्को कुरा जनताले राजनीतिक दलको सिद्धान्त र इतिहास मात्र हेर्दैन, वर्तमान भूमिका पनि हेर्छ । के हाम्रो भूमिका जनतालाई आश्वस्त पार्ने खालको छ त? पटक्कै छैन । पार्टीको आन्तरिक जीवनमा असहमत पक्षलाई कुनै स्थान छैन । के यही हो लोकतान्त्रिक पार्टीको चरित्र ?

पार्टी त राम्रो चलाउन सकेनन् नै, नेपालको भूराजनीतिक वास्तविकतालाई दृष्टिगत गरी राज्य सञ्चालन गर्ने कौशल हाम्रा राजनीतिज्ञहरूले देखाउन सकेनन् । चीन, भारत र अमेरिका जस्ता महाशक्ति राष्ट्रहरूको चाख, चासो र अन्तर्राष्ट्रिय स्वार्थलाई मध्यनजर गरी सन्तुलित भूमिका खेल्नु नेपाल जस्ता देशको बुद्धिमानी र बाध्यता दुवै हो ।

भारत र चीन जस्ता सीमा जोडिएका छिमेकी देश हाम्रा लागि बरदान र शक्ति बन्न सक्छन् । यो धरातलीय यथार्थलाई आत्मसात् गरी नेपालले भूमिका खेल्न सक्नुपर्छ । अरु पार्टीको कुरा भएन, बीपीको पार्टीले त कुरा बुझ्नुपर्थ्यो कि पर्दैनथ्यो ?

त्यसैले नेपाली समाजले एउटै निष्कर्ष निकाल्दैछ कि नेपालको अधोगतिको कारण के हो? राजनीतिक प्रणाली हो वा राजनीतिक दल हुन्? राजनीतिक दल हुन् या तिनका नेता? यसको अन्तिम निचोड हो दलका नेता । दलका नेता को को? किनकि नेता त धेरै छन् !

यसको पनि अन्तिम निचोड छ, जो तर्कसंगत र जायज छ । क्षमता र योग्यता भएको वा आफ्नो जिम्मेवारी बुझेको व्यक्तिले एकैपटकमा आफ्नो कुशलता देखाउँछ । बारम्बार अवसर पाएर पनि केही गर्न नसक्ने व्यक्तिको राज्य सञ्चालनमा कुनै काम छैन ।

यो कुनै पूर्वाग्रही लाञ्छना होइन, विश्वव्यापी सत्य हो । नेपालमा २०४६ देखि बारम्बार सत्तामा गएर काम गर्न नसक्ने, राजनीतिक प्रणाली र दललाई बदनाम गराउनेहरूको अब कुनै काम छैन । यो नेपाली जनताको आवाज हो ।

साँच्चै भन्ने हो भने आफूबाट अपेक्षाकृत काम हुन सकेन भने स्वयंले बुझ्नुपर्ने कुरा पनि हो । दुनियाँलाई थाहा छ कि जनताबाट बारम्बार चुनिएर पनि राष्ट्रका प्रतिको जिम्मेवारी पूरा गर्न सकिंदैन भने आफूले मार्गप्रशस्त गरिदिनुपर्छ, समाजका लागि बोझ बन्नुहुँदैन । समाजका लागि बोझ बनेकाहरूलाई राज्यले पाल्न सक्तैन ।

हामी सबैलाई थाहा छ, देशलाई राम्रोसँग चलाउन नसक्ने, छिमेकी देशहरूसँग सुमधुर सम्बन्ध राख्न नसक्ने, देशमा धार्मिक तथा सामाजिक सद्भाव जोगाउन नसक्ने र नयाँ पुस्तालाई देशमै राखेर राष्ट्र निर्माण कार्यमा सरिक गराउन नसक्ने राजनीतिज्ञहरूलाई देशको बागडोर अँठ्याइराख्ने कुनै अधिकार छैन ।

त्यसैले अहिलेको राष्ट्रिय आवश्यकता साढे तीन दशकको अनुत्पादक नेतृत्वबाट पूर्ण मुक्ति हो । यसमा मुख्य दलका सबै नेता पर्दछन् । थारो भैंसी किन पाल्ने ? अबको साझा प्रयत्न यसैमा हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?