
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली फिल्म ‘गोर्खा वारिअर’ अहिलेका सबै सिपाहीले हेर्नुपर्ने बताएका छन् । सेना र सशस्त्र प्रहरीका अधिकृतका लागि आयोजित फिल्मको विशेष प्रदर्शनपछि कुरा गर्दै शर्माले युद्ध कौशल, सर्भाइभलको टेक्निक र सीप बुझ्नको लागि पनि फिल्म हेर्न जरुरी रहेको बताए ।
क्यूएफएक्सको दरबार सिनेम्याक्समा फिल्म हेरेपछि उनले भने, ‘फिल्मले इतिहास राख्ने काम गरेको छ । यस्तो खालको फिल्म बनाउन निकै कठिन हुन्छ । सबै सिपाहीले युद्ध कौशल, टेक्निक बुझ्नका लागि पनि फिल्म हेर्नुपर्छ ।’ यस्तो खालका फिल्म बनाउन सजिलो नभएको बताउँदै प्रधानसेनापति शर्माले छायांकन र एक्सन कोरियोग्राफीको प्रशंसा गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको गौरवमय इतिहास बुझाउन यो फिल्म प्रभावकारी रहेको बताए । निर्देशक मिलन चाम्सले फिल्म सेनासँग सम्बन्धित भएकाले आफूहरुले विशेष शो आयोजना गरेको बताए । शोमा प्रधानसेनापतिसहित जनरल, लेफ्टिनेन्ट जनरल, बिग्रेडियर जनरल, कर्नेलसहित सशस्त्र प्रहरी प्रमुखसहितका अधिकृत सहभागी थिए ।
दोस्रो विश्वयुद्धको सेटिङमा मलाया युद्धमा बेलायती सेनामा कार्यरत गोर्खा सैनिकले देखाएको वीरताको कथावस्तु पेश गर्ने फिल्मलाई आगामी सेप्टेम्बर १० मा लण्डनमा प्रिमियर गरिंदैछ । फिल्मलाई नेपाली हलमा भने आगामी फागुनमा रिलिज गर्ने तयारी छ । विशेष शोमा फिल्म निर्माता सुमन राई र अभिनेत्री रेविका गुरुङ पनि उपस्थित थिए ।
प्रतिक्रिया 4