
३ भदौ, काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता शेखर कोईरालाले संसद बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताएका छन् ।
आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले संसद तत्काल सुचारु गराउनका लागि संयोजनकारी भूमिका निर्वाह गर्न सरकारसँग आग्रह समेत गरे ।
देश र जनताको कुरा भएकाले संसद बैठक छिटो भन्दा छिटो सुचारु गरानुपर्ने नेता कोइरालाको भनाइ थियो । उनले संसदीय व्यवस्थामा प्रतिपक्षले सरकारलाई गाली गर्ने र सरकारले प्रतिपक्षले काम गर्न दिएन भन्ने कुरा स्वभाविक भएपनि संसद बैठक भने सुचारु गराउनुपर्ने बताए ।
नेता कोइरालाले भने, ‘संसद छिटो भन्दा छिटो चल्नुपर्छ । अब पर्सी बैठक बोलाइएको छ । हेरौँ, के गर्नुहुन्छ ? यो एमाले, माओवादी र काँग्रेसको कुरै होइन । यो नेशनको कुरा हो । देशको कुरा हो । राष्ट्रको कुरा हो । संसद चल्नुपर्छ । म एउटा सांसद हो नेपाली काँग्रेसको ।’
नेता कोईरालाले सदन चलाउने कुरा देश र जनताका लागि आवश्यक भएकाले त्यस्ता कुरामा राजनीतिक दलहरुले अडान लिन नहुने दोहोर्याए ।
प्रतिक्रिया 4