+
+

शून्य बजेट भएको भन्दै पशुपक्षी लगायतका निकाय आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते १९:१२

३ भदौ, काठमाडौं । सरकारले पशुपक्षीसँग सम्बन्धित निकायहरुमा बजेट शून्यमा पुर्‍याएको भन्दै पशुपक्षी तथा मत्स्य क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सरोकारवालाहरूले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सरकारले बजेट वक्तव्यमार्फत पशु क्वारेन्टाइन कार्यालयहरु, पशु रोग अन्वेषण प्रयोगशालाहरु, केन्द्रिय रेफरल पशु चिकित्सालय, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, राष्ट्रिय दुग्ध विकास बोर्ड लगायतका कार्यालयको बजेट शून्य अवस्थामा रहेको भन्दै आन्दोलन गर्न बाध्य भएको आन्दोलनको घोषणा गरेका हुन् ।

नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा.रामकृष्ण खतिवडाले लम्पी स्किन, बर्डफ्लु फैलिएको अवस्थामा समेत सरकारले यससँग सम्बन्धित कार्यालयलाई बजेट नै नदिएको बताए ।

उनले भने, ‘भोलि सोमबार र पर्सी मंगलबार पशुसेवासँग सम्बन्धित सम्पूर्ण कार्यरत सेवा प्रदायकहरुले कालोपट्टी बाँधेर सेवा गर्ने सहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छौं ।’

उनले सरकारले यो विषम समयमा पशुपक्षी क्षेत्रको आयात निर्यात, पशु रोग नियन्त्रणमा प्रत्यक्ष काम गर्ने पशु सेवा विभागका सरकारी संरचनाहरु खारेजी तथा पुनः संरचना गर्ने नाममा सम्बन्धित सरोकारवालाको राय सुझाव नलिई सुनियोजित ढंगबाट निर्णय गरेको बताए ।

उनले किसानहरुको खर्बौको क्षति हुँदा पनि पशुपक्षीको रोग नियन्त्रण र उपचारमा सक्रिय रुपमा परिचालित हुनुपर्ने निकायहरुमा शून्य बजेट भई काम नै ठप्प गरी बस्नुपर्ने अवस्थाको सृजना भएको बताए ।

उनले पशुपक्षी क्षेत्रको उत्पादनलाई संकुचित पार्ने र फेरि पनि नेपाललाई दूध माछा, मासु र अण्डाको डम्पिङ साइड बनाइ नेपालका पशुपंक्षी उद्योगहरु धरासायी बनाउने र देशको समग्र अर्थतन्त्र र मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको बताए ।

उनले (भोलि) सोमार र (पर्सि) मंगलबार पशुसेवासँग सम्बन्धित सम्पूर्ण कार्यरत सेवा प्रदायकहरुले कालोपट्टी बाँधेर सेवा गर्ने सहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको बताए ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधक संघ (नेल्टा) का केन्द्रीय अध्यक्ष जनक रावलले बजेट आएको दिन जेठ १५ गते नेपाली पशुपालकका लागि कालोदिन सावित भएको बताए ।

उनले नेपालको पशुपक्षी क्षेत्रको विकासमा सरकार संवेदनशील नबनेको बताए । रावलले किसानहरु लम्पी स्किन रोगका कारण मारमा पर्दा समेत सरकार मूकदर्शक बनिरहेको बताए ।

‘बजेट आएको दिन जेठ १५ गते नेपाली पशुपालकका लागि कालोदिन सावित भएको छ । त्यो बजेट वक्तव्यका कारणले पशु सेवा क्षेत्रका करिव ३० वटा कार्यालयहरु शून्य बजेटमा झरेको अवस्था छ । लम्पी स्किन डिजिजका कारण देश आक्रान्त छ । किसानहरु मारमा छन् । सरकार मूकदर्शक भएर बसिरहेको छ ।’ उनले भने ।

सरकारले खारेजी तथा पुनःसंरचनाको नाममा शून्य बजेट भएका सम्पूर्ण पशुपक्षी निकायहरुमा विद्यमान संरचना अनुसार चालु आर्थिक वर्षको बजेट तत्काल व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?