
मेटा कम्पनीले आफ्नो इन्स्टाग्राममा आधारित सोसल मिडिया प्लाटर्फम थ्रेड्सको वेब संस्करण पनि ल्याउने भएको छ ।
वालस्ट्रिट जर्नलका अनुसार आगामी हप्ता थ्रेड्सको वेब भर्सन जारी गर्न सक्ने सम्भावना छ ।
ट्वीटरको प्रतिस्पर्धीको रुपमा मेटाले अघिल्लो महिना सार्वजनिक गरेको थ्रेड्स एप हाल आइओएस तथा एन्ड्रोइडमा उपलब्ध छ ।
सुरुआती दिनहरुमा ठूलै तहल्का मच्चाउँदै सर्वाधिक छिटो १० करोड प्रयोगकर्ता हुने एप बन्न सफल थ्रेड्स पछिल्ला दिनमा भने सुस्ताएको छ । सक्रिय प्रयोगकर्ताको संख्या उल्लेख्य घटेका कारण थ्रेड्सलाई आफ्ना प्रयोगकर्ता टिकाइराख्न ठूलो चुनौती खडा भएको छ ।
समाचार अनुसार अब वेब संस्करणसँगै थ्रेड्स प्रयोगकर्तालाई अधिक विकल्प प्राप्त हुनेछन् र डेस्कटपमा पनि थ्रेड्स प्रयोग गर्न पाइनेछ । मेटाको यो कदम सफल बनेमा एक्सलाई वास्तविक चुनौति खडा हुने आँकलन गरिएको छ ।
थ्रेड्सका सक्रिय प्रयोगकर्ताको संख्यामा भारी गिरावट आइरहेको बेला मेटाले थ्रेड्सको वेब संस्करण ल्याउने निर्णय गरेको हो ।
तथ्यांक अनुसार थ्रेड्स एपका सक्रिय प्रयोगकर्ताको संख्यामा करिब पाँच गुणाले गिरावट आएको छ । त्यसमा पनि प्रयोगकर्ताको दैनिक थ्रेड्स चलाउने औसत समय तीन मिनेट मात्रै छ ।
प्रतिक्रिया 4