
६ भदौ, पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले प्रशोधित पिउने पानी (मिनरल वाटर) को बोत्तलभित्र फोहोर भेटिएको भन्दै एक पानी उद्योग बन्द गराएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहभागी भएको कार्यक्रममा प्रयोग भएको पानीको बोतलभित्र लेउजस्तो फोहोर भेटिएपछि प्रशासनले पोखरा महानगरपालिका-१८, भकुन्डेमा रहेको नेपा फ्रेस मिनरल वाटरको उद्योग बन्द गराएको हो ।
भदौ १ गते गण्डकी प्रदेश नीति तथा योजना आयोगले लेकसाइडको एक रिसोर्टमा दोस्रो पञ्चवर्षीय योजनाको तर्जुमा सम्बन्धित अन्तक्र्रिया कार्यक्रममा प्रयोग भएको बोत्तलको पानीमा फोहोर भेटिएको थियो ।
उक्त कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित ७ जना मन्त्री तथा कर्मचारी सहभागी थिए । पानीमा फोहोर भेटिएपछि मुख्यमन्त्री कार्यालयले नै ‘कैफियत देखिएको भन्दै बोतल प्रशासन कार्यालयमा पठाएको थियो । मुख्यमन्त्री कार्यालयबाट प्रमाणसहित बोतल आएपछि प्रशासन अनुगमनमा गएको हो ।
बुधबार सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको नेतृत्वमा पुगेको अनुमगन टोलीले हालका लागि उद्योग बन्द गराएर मौज्दातमा रहेका पानी बिक्रीमासमेत रोक लगाएको छ ।
उद्योग सञ्चालक भीमप्रसाद शर्माले ब्याच नम्बर ६० मा उत्पादित पानीमा कैफियत देखिएको स्वीकारेका छन् । उनले बिजुलीको समस्याले गर्दा प्रशोधित पानीमा फोहोर पर्न गएको बताए ।
‘त्यो दिनको उत्पादनमा समस्या देखिएको थाहा पाउने बित्तिकै रोक्यौं । मार्केटमा छ भने निकालिहालौं है भनेर कहीं छ भने ल्याइदिनू भनेर डिलरलाई पनि भनेका थियौं’, उनले भने, ‘तर, निकै कम पानीका बोतल फिर्ता भए ।’
प्रतिक्रिया 4