+
+

झलमल्ल आर्कब्रिजमा प्रफुल्ल तन्नेरी

काठमाडौं महानगरले पुलमा रहेका फलामे डण्डीहरुमा बत्तीहरु जडान गरेपछि अहिले सेल्फी खिच्ने, टिकटक बनाउनेहरुको उल्लास नै अर्को छ । अत्याधुनिक डिजाइनको पुललाई फूल र बत्तीले सिंगार्दा विकासले दिएको खुसियालीमात्रै होइन, यादगार पलहरु साट्ने स्पट बन्न पुगेका छन्, काठमाडौंका आर्कब्रिजहरु ।

अमृत चिमरिया अमृत चिमरिया
२०८० भदौ ६ गते १९:४२

६ भदौ, काठमाडौं । नाममात्रै बिजुलीबजार । अलिक पहिलासम्म यो क्षेत्रमा पुग्दो प्रकाश नै थिएन । तर जब आर्कब्रिज बन्यो,  तब बिजुलीबजारमा साँझपख भीडभाड हुन थालिसकेको थियो । अब त पुलमा बत्ती राखिदिएपछि युवायुवतीलाई के चाहियो !

काठमाडौं महानगरले पुलमा रहेका फलामे डण्डीहरुमा बत्तीहरु जडान गरेपछि अहिले सेल्फी खिच्ने, टिकटक बनाउनेहरुको उल्लास नै अर्को छ । अत्याधुनिक डिजाइनको पुललाई फूल र बत्तीले सिँगार्दा विकासले दिएको खुसियालीमात्रै होइन, यादगार पलहरु साट्ने स्पट बन्न पुगेको छ बिजुलीबजार ।

सीता महतोलाई नै सोधौं न । मंगलबार साँझ बिजुलीबजारको आर्कब्रिजनेर टिकटक बनाइरहेकी सीतालाई यहाँ आइपुग्दा विदेशकै जस्तो अनुभूति भएछ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढिरहेकी सीतालाई यहाँसम्म डोर्‍याएर ल्याउने माध्यम बनिदियो टिकटक ।

‘टिकटकमा देखेर हामी त पुल हेर्न आएको,’ उनी खुसियाली साट्छिन्, ‘पहिला खासै याद हुन्थेन, अहिले यसलाई सिंगारेर रमाइलो बनाइदिएकोमा मेयर बालेनलाई धन्यवाद ।’ नयाँ पुस्ताको पढेलेखेको मेयर आउँदा सिर्जनात्मक काम हुने रहेछ भनी आफूले बुझ्न पाएको उनले बताइन् ।

सीताकै जस्तो अनुभूति छ, थापागाउँकी सुलोचना अमात्यको । उनी त झन् परिवारै लिएर आएकी थिइन् । बिजुलीबजारबाट यति नजिकै बसेर पनि परिवारसहित पुलनेर सुस्ताउन आइपुग्नु उनका लागि रोचकै कुरा थियो । किनभने पहिला त झिलिमिली चाड तिहारमा समेत सम्साँझै अँध्यारो हुने बिजुलीबजार अब साँझपख घुम्न आउने ठाउँ बनिदियो ।

‘सानो काम गर्दा पनि ठूलो चर्चा हुँदो रहेछ, यति काम गर्न बालेन नै आउनुपर्‍यो,’ उनले हाँस्दै सुनाइन् । खासमा उनलाई पनि छोराछोरीले आउनका लागि जिद्दी गरेका रहेछन् । आफैंले पुल देखेपछि भित्रैबाट प्रसन्न भएको सुलोचनाले सुनाइन् ।

यो त भयो, बिजुलीबजारको कुरा । यस्तै आर्कब्रिज बनेका छन् अन्यत्रका खोलाहरुमा पनि । परोपकारमा रहेको विष्णुमती माथिको पुल र डल्लुको आर्क ब्रिजमा महानगरपालिकाले विद्युतीय सौन्दर्यकरण गरेपछि यस्तै भीड त्यहाँ पनि लाग्न थालेको छ ।

काठमाडौं महानगरपालिकाले ‘सुन्दर महानगर कार्यक्रम’ अन्तर्गतको पहिलो काम पुलहरुमा बत्ती जडान गरेको थियो । विजलुी बजारको दुईवटा सिग्नेचर आर्क ब्रिज र विष्णुमती नदी माथि रहेको परोपकार अगाडिको आर्क ब्रिजलाई महानगरले विद्युतीय सौन्दर्यकरण गरेको हो । त्यस्तै डल्लुको आर्क ब्रिजमा पनि बिजुलीको उज्यालो छर्दै हेर्नलायक बनाइएको महानगर बताउँछ ।

‘हामीले पुलबाट सुन्दर महानगर कार्यक्रम सुरु गरेका छौं, यो निरन्तर अन्य स्थानमा पनि हुँदै जान्छ । धेरै सवारीको चाप हुने र सिग्नेचर आर्क ब्रिज भएको पुलबाट यो काम सुरु गरको हौं,’ महानगरका सार्वजनिक निर्माण विभाग प्रमुख रामबहादुर थापा भन्छन् । सुन्दर महानगर कार्यक्रमको लागि चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट छुट्याएर काम सुरु गरेको उनले बताए ।

‘बजेट अन्तर्गत नै रहेर हामीले पुलमात्रै नभई विभिन्न आइल्याण्ड, पार्कहरुको मर्मत सम्भार, रंगरोगन र लाइटिङको काम गर्छौं । सार्वजनिक स्थान भएका वालहरुमा पेन्टिङको काम गर्ने महानगरले तयारी गरेका छौं,’ थापाले भने । कार्यक्रम अन्तर्गत महानगरपालिकालाई सुन्दर बनाउनुपर्ने कामहरु गर्ने भन्दै थापाले हनुमान ढोका, पशुपति क्षेत्रमा रंग रोगन र विद्युतीय सौन्दर्यको काम गर्ने बताए ।

सडक पनि उज्यालो बनाउँदै

काठमाडौं महानगरपालिकाले पुलहरु झिलिमिली बनाए पनि पैदलयात्रुहरुलाई भने सडकमा हिँड्न अझै सास्ती छ । सडकबत्तीहरु नहुँदा हिँड्ने मान्छेहरु समस्यामा पर्दै आएका छन् । पुल उज्यालो भयो तर गल्ली र सडकपेटी अँध्यारो कहिले हट्छ भन्ने अनलाइनखबरको प्रश्नमा थापा आशावादी जवाफ दिन्छन् । ‘५ महिना भित्र काठमाडौंका मुख्य सडकहरुमा २ हजार भन्दा धेरै स्मार्ट लाईटहरु हाल्दै छौं,’ उनी भन्छन्, ‘दसैंअघि नै नयाँ टेन्डर हुन्छ ।’

गत आर्थिक वर्षको टेण्डर मार्फत २ हजार भन्दा बढि सडकबत्ती राख्ने योजना बाहेक ‘महानगर उज्यालो कार्यक्रम’ अन्तगर्त चालु २० करोडको टेण्डर आ्हवान गरेर थप सडकबत्तीहरु राख्ने थापाले बताए ।

     

तस्वीर/भिडियो : आर्यन धिमाल र शंकर गिरी

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?