
७ भदौ, काठमाडौं । बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी सरकारी जग्गा हडपिएको प्रकरणमा संलग्न २१ जनाको मृत्यु भइसकेको पाइएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको सरकारी लिखत कीर्ते तथा संगठित अपराध अनुसन्धानका क्रममा छानबिनको दायरामा परेका राणा परिवार, कर्मचारी, जग्गा घुस पाउने नातेदार र मोहीहरुमध्ये २१ जनाको विभिन्न मितिमा मृत्यु भएको पाइएको हो ।
प्रकरणमा संलगन तत्कालीन भूमि सुधार तथा व्यवस्थामन्त्री प्रभुनारायण चौधरीको २९ भदौ २०६७ मा मृत्यु भएको विवरण प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदनमा संलग्न गराएको छ । भूमिसुधार तथा व्यवस्थापन विभागका पूर्वमहानिर्देशक मुकुन्दप्रसाद आचार्यको पनि मृत्यु भइसकेको छ । उनको २३ चैत २०७२ मा मृत्यु भएको भन्दै प्रहरीले मृत्यु दर्ता प्रमाण पत्र समावेश गरेको छ ।
समरजंग कम्पनीका पूर्वप्रमुख अर्जुनप्रसाद भण्डारीको पनि १५ साउन २०७७ मा मृत्यु भएको छ । राणा परिवारका शैलजा राणाको १३ भदौ २०६१, सुनिती राणाको १३ वैशाख २०७०, हेमन शमशेर जबराको २९ पुस २०६४ र रुक्म शमशेर जबराको २५ भदौ २०७८ मा मृत्यु भएको छ ।
मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नासु जगतप्रसाद पुडासैनीको १९ वैशाख २०७६ मा मृत्यु भएको छ । मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन खरिदार युक्तप्रसाद श्रेष्ठको १२ साउन २०७६ मा मृत्यु भएको छ । भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन निर्देशक पुष्पराज उपाध्यायको २०७६ मा मृत्यु भएको छ ।
पूर्वशाखा अधिकृत मुरलीकृष्ण श्रेष्ठको २०४५ सालमै मृत्यु भइसकेको छ भने गुठी संस्थान केन्द्रीय कार्यालयका तत्कालीन कानून अधिकृत तुलसी पोखरेलको ६ चैत २०७० मा मृत्यु भएको छ ।
यसमा संलग्न मिठुदेवी चापागाईंको २०६४, सानुकान्छा भन्ने पञ्चनारायण महर्जनको २०६०, तीर्थमाया महर्जनको २०७५, सुष्मा बज्राचार्यको २०७०, बालकृष्ण महर्जनको २०६८, भरतराज गिरीको २०७१, आशाखा माया महर्जनको २०६०, परशुराम पोखरेलको २०७४ र हर्कनारायण डंगोलको २०७२ मा मृत्यु भइसकेको छ ।
सीआईबीले मृत्यु दर्ता प्रमाणसहितको विवरण समावेश गर्दै उनीहरुको सम्पत्तिबाट बिगो भराउनुपर्ने राय दिएको छ ।
‘मृतकहरुको हकमा कुनै माग दाबी नलिएको भए पनि सरकारी जग्गा झुठो र फरक व्यहोराको कीर्ते कागजातको आधारमा प्राप्त गरी लाभ प्राप्त गर्ने प्रतिवादीहरुको चल अचल सम्पत्ति तथा जायजेथाबाट विगो दिलाई भराई दिने मागदाबी लिइ दिनुहुन अनुरोध छ’, प्रहरीले बुझाएको रायसहितको प्रतिवेदनमा भनिएको छ । सीआईबीको राय अनुसार २१ जनाबाट १५ अर्ब ६३ करोड रुपैयाँ असुल्नुपर्ने देखिन्छ ।
सूची हेर्नुहोस् :
सि.नं. | नाम थर | परिचय | विगो मागदावी |
१) | शैलजा राणा | राणा परिवार | ३ अर्ब १० करोड |
२) | सुनिती राणा | राणा परिवार | ३ अर्ब १८ करोड |
३) | हेमनशम्सेरज.व.रा. | राणा परिवार | २ अर्ब ८९ करोड |
४) | रुक्मशम्सेर ज.ब.रा. | राणा परिवार | ३ अर्ब १० करोड |
५) | जगत प्र. पुडासैनी | कर्मचारी | २९ करोड ३२ लाख |
६) | युक्त प्रसाद श्रेष्ठ | कर्मचारी | २९ करोड ३२ लाख |
७) | पुष्पराज उपाध्याय | कर्मचारी | २९ करोड ३२ लाख |
८) | मिठु देवी चापागाई | जग्गा बकस पाउने | १९ करोड ३० लाख |
९) | सानु कान्छा भन्ने पंच नारायण महर्जन | मोही | १३ करोड ९० लाख |
१०) | तिर्थमाया महर्जन | मोही | ६३ करोड ५२ लाख |
११) | सुष्मावज्राचार्य शाक्य | जग्गा किन्ने व्यक्ति | ५ करोड ४१ लाख |
१२) | मुकुन्द प्र. आचार्य | कर्मचारी | २९ करोड ३२ लाख |
१३) | अर्जुन प्रसाद भण्डारी | कर्मचारी | ३० करोड ४४ लाख |
१४) | तुलसी पोखरेल | कर्मचारी | १ करोड ८ लाख |
१५) | बालकृष्ण महर्जन | मोही | १ करोड २१ लाख |
१६) | भरतराज गिरी | मोही | १ करोड ९१ लाख |
१७) | आशामाया महर्जन | मोही | १ करोड २१ लाख |
१८) | मुरलीकृष्ण श्रेष्ठ | कर्मचारी | १ करोड ११ लाख |
१९) | पर्शुराम पोखरेल | कर्मचारी | १० करोड ५१ लाख |
२०) | हर्क नारायण डंगोल भन्ने हर्ष महर्जन | मोही | ३ करोड २४ लाख |
२१) | प्रभु नारायण चौधरी | मन्त्री | ६३ करोड १० लाख |
कूल | १५ अर्ब ६३ करोड |
प्रतिक्रिया 4