
७ भदौ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमीस्थित बालसुधार गृहमा एक युवकको मृत्यु भएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले छानबिन सुरु गरेको छ ।
३ भदौमा उक्त बालसुधार गृहमा रामेछापका २१ वर्षका कमल बस्नेतको मृत्यु भएको थियो । उनको मृत्युको विरोधमा सुधारगृहभित्र बालबालिकाहरुले र बाहिर उनीहरुका आफन्तहरुले प्रदर्शन गरेका थिए । ४ भदौमा बाल सुधार गृहबाट बालबालिकाहरु गेट फुटाएर बाहिर निस्केका थिए ।
मानव अधिकार आयोगले बाल सुधारगृहभित्रको मृत्यु र तोडफोडका विषयमा अनुगमन सुरु गरेको बताएको छ ।
अनुगमनको क्रममा आयोगले बालसुधार गृहमा रहेका बालबालिकाहरु, बालसुधार गृहको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरीबाट गठित छानबिन समिति तथा भक्तपुर जिल्ला सुरक्षा समितिबाट गठित छानबिन समितिका सदस्यहरुसँग प्रत्यक्ष भेटेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए ।
बालसुधार गृह व्यवस्थापनको जिम्मेवारी लिएको युसेप नेपालले बिरामी कमल बस्नेतको स्वास्थ्योपचारमा संवेदनशीलता नदेखाएको एवं सुधारगृहका कमाण्डरहरुले आवश्यक समन्वय गर्न नसकेको भन्दै प्रदर्शन र तोडफोड भएको थियो । आयोगले बस्नेतको मृत्यु भएको घटनाको उजुरी दर्ता गरी अनुसन्धान प्रारम्भ गरेको छ ।
बालबालिकाको स्वास्थ्य, सुरक्षा एवम् जीवनको अधिकारप्रति संवेदनशील हुँदै उक्त घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन आयोगले आग्रह गरेको छ । त्यस्तै बालसुधार गृहमा भयरहित वातावरणको सुनिश्चितता गर्न र यस प्रकारका घटना पुनः दोहोरिन नदिन पनि सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।
प्रतिक्रिया 4