
७ भदौ, काठमाडौं । नेपाल र जापानबीचको कूटनीतिक र आर्थिक सम्बन्ध ऐतिहासिक रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।
नेपाल भ्रमणमा रहेका जापानी सांसदहरु काजुहिरो कोवायासी र नागाई मनावुको सम्मानमा आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जापानसँग नेपालको सम्बन्ध आर्थिक र व्यापारिक दृष्टिकोणले ऐतिहासिक रहेको बताए ।
राजदूत किकुता युताका सहित भएको कार्यक्रममा अध्यक्ष मल्लले नेपालमा लगानीका लागि पहल गर्न जापानी सासंदहरुसँग आग्रह समेत गरे ।
अध्यक्ष मल्लले भने, ‘दुई मुलकबीचको कूटनीतिक सम्बन्ध ७० बर्ष पुग्न लागेको छ । लगानी वृद्धि र व्यापारिक साझेदारी मार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ ।’
उनले नेपालको जलविद्युत, पूर्वाधार क्षेत्र, पर्यटन एवम् प्रविधिको क्षेत्रमा लगानीको वातावरण बनाउन सांसदहरुसँग आग्रह गरे । कृषिमा प्रविधि हस्तान्तरण हुन सके नेपालले लाभ प्राप्त गर्न सक्ने अध्यक्ष मल्लको भनाइ छ ।
जापानमा १ लाख ३९ हजार हाराहारीमा नेपाली रहेको भन्दै अध्यक्ष मल्लले नागरिक स्तरमा पनि दुई मुलुकबीचको सम्बन्ध निकै उत्कृष्ट रहेको उल्लेख गरे । नेपालले जापानमा ९० लाख डलर बराबरको वस्तु निर्यात गर्दा ४ करोड ७० लाख डलर हाराहारीमा आयात गर्ने गरेको छ ।
चेम्बरको स्वागत कार्यक्रममा जापानी सांसद काजुहिरो कोवायासीले नेपालमा ३० वर्ष अघि आएर लुम्बिनीमा बिरुवा रोपेको स्मरण गरे । नेपाल र जपानबीचको आर्थिक र कूटनीतिक सम्बन्ध सधैं उत्कृष्ट रहेको उनको भनाइ छ । अर्का सांसद नागाई मनावुले पनि दुई मुलुकबीचको आर्थिक र कूटनीतिक सम्बन्धलाई जनस्तर सम्मै पुर्याउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया 4