+
+

ओलीले सर्वदलीय बैठकमा पनि मलाई निषेध गरे : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ९ गते १४:०७

९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वदलीय बैठकमा आफ्नो पार्टीलाई निषेध गरेको बताएका छन् ।

शनिबार पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकमा बोल्दै उनले संसद खुलाउने विषयमा छलफल गर्न बोलाइएको दलहरुको बैठकमा ओलीकै कारण आफ्नो पार्टी सहभागी हुन नपाएको बताएका हुन् ।

‘ओलीले यो पार्टीको मतलब नै नराख्ने । हुँदाहुँदा हिजोअस्ति त संसदमा अरु सबै पार्टी हुन्छ । तर, एकीकृत समाजवादी पार्टी हुँदैन भनेर हामीलाई प्रस्तुत हुन दिएनन् । र, त्यो सुनकाण्डको बारेमा भएको छानबिन कमिटीमा अरु सबै बसे ६ वटा पार्टी, राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने एउटा आधारमा टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन्’ उनले भने ।

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेर एमालेले गरेको संसद अवरोध खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्रीले अघिल्लो हप्ता राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलको बैठक बोलाएका थिए ।

राष्ट्रिय मान्यता पाउने दलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी मात्र भएकाले एकीकृत समाजवादी पार्टीलाई उक्त बैठकमा बोलाइएको थिएन । अध्यक्ष नेपालले सो बैठकमा आफूहरुलाई नबोलाउनुको कारण ओलीको अनिच्छा भएको बताएका हुन् ।

नेता नेपालले एमाले अध्यक्ष ओलीले आफूलाई विगतमा राष्ट्रपति राष्ट्रपति बन्न प्रस्ताव गरेको भनिए पनि त्यो गलत भएको बताए ।
‘केपी ओलीलाई जब राष्ट्रपति पद पाउनका लागि मतलब लागेको थियो, मसँग भेट्न खोजे । तर मलाई प्रस्ताव राखेनन् । अहिले के भन्छन्–मैले प्रश्ताव राखेको थिए । तर उनले राखेकै थिएनन् । प्रश्ताव राखेर पनि म मान्थे वा मान्दिन थिएँ । त्यो आफ्नो ठाउँमा छ । प्रस्ताव नै राखेको होइन’ उनले भने ।

बरु आफूलाई प्रचण्डले भने राष्ट्रपतिको प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको नेता नेपालले बताए ।

‘प्रचण्डजीले सबै बैठकमा मेरो नाम प्रस्ताव गरेकै हो राष्ट्रपतिमा । तर त्यो बेलामा कांग्रेसले के भन्यो भने सभामुख पाउने एमाले, राष्ट्रिय सभाको अध्यक्ष हुने एमाले, उपसभामुख पाउने राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय सभाको उपाध्यक्ष हुने माओवादी अनि कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको बेलामा केही पनि नपाउने भनेर ? त्यसमा पनि रामचन्द्रजीलाई कि राष्ट्रपति कि प्रधानमन्त्री हुनुपर्ने । प्रधानमन्त्री हुन शेरबहादुरसँग लडाई चलिराख्या छ । शेरबहादुरजीले बचन दिइसक्नुभएको छ रामचन्द्रजीलाई ’ अध्यक्ष नेपालले राष्ट्रपति चुनावअघिको राजनीतिक अवस्थाबारे भने ।

पार्टीलाई त्यसै छाडेर राष्ट्रपति हुँदा आलोचना हुने भएकाले आफूले राष्ट्रपति हुने इच्छा नगरेको उनले बताए । ‘म राष्ट्रपतिमा साँच्चै इच्छुक थिइन । किनभने बिद्रोह गरेर पार्टी बनाइएको छ । म राष्ट्रपतिमा गएँ भने हामीलाई ल्याएर बाटोमै छोडिदिनुभयो भनेर आलोचना आउँछ भनेर मैले इच्छा व्यक्त गरिनँ’ उनले भने, ‘सबै कार्यकर्तालाई हरिबिजोग बनाएर राष्ट्रपति पदमा जानुहुँदैन भन्ने मलाई परेको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?