+
+

मेरो गाउँको समाजवादको यात्रा

मेरो बुवा र उहाँका दौंतरी राजनीतिज्ञहरूले राजनीति गर्दा उतिवेला देखेको समाजवादको सपना अहिले पनि झन्डै जहाँको त्यहीं छ।

डा. बच्चुकैलाश कैनी डा. बच्चुकैलाश कैनी
२०८० भदौ ९ गते १७:०१
बायाँबाट क्रमश: तेजबहादुर पन्त, गोविन्दराज जोशी, कृष्णचन्द्र नेपाली, रामचन्द्र पौडेल, अमरराज कैनी, स्व. पुरुषोत्तम काफ्ले, स्व. मेघनाथ कैनी। २०३६ सालमा कास्की कारागारमा लिइएको तस्वीर।)

म नेपालको एक गाउँमा जन्में। उतै हुर्कें, बढें र स्कुले शिक्षा पढें। स्कुल र कलेज जीवनमा पंचायतको गुणगान गाउने बाहेक अन्य राजनीतिक सिद्धान्त र आदर्शको बारेमा औपचारिक रूपमा पढ्ने मौका मिलेन। तथापि राजनीतिक सिद्धान्त जस्तै प्रजातन्त्र, साम्यवाद, पूँजीवाद र समाजवादको बारेमा भने मलाई जानकारी थियो।

यसको श्रेय मेरा स्वर्गीय बुवा मेघनाथ कैनीलाई जान्छ। मेरो बुवा गाउँको सामान्य किसान हुनुहुन्थ्यो। तर पनि उहाँलाई समाज, गाउँ र देशको लागि केही गर्नुपर्छ भन्ने लाग्थ्यो। प्रजातन्त्र, समाजवाद र राष्ट्रियताको मूल मन्त्र लिएर राजनीतिमा लाग्ने नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता हुँदा मेरो बुवा पंचायतकालमा पटक–पटक जेल पर्नुभयो। मेरो घरमा नियमित रूपमा राजनीतिक जमघट र बैठक समेत हुन्थ्यो।

उतिबेला स्कुले जीवनमा म सानो हुँदा राजनीतिको कुरा सुन्दा मलाई दुई वटा कुराहरू प्रजातन्त्र र समाजवादले आकर्षित गरेको थियो। प्रजातन्त्र भनेको लेख्ने, बोल्ने, व्यक्तिगत स्वतन्त्रता र मताधिकार मार्फत आफ्नो प्रतिनिधि छान्ने अधिकार भन्ने सामान्य बुझाइ थियो।

त्यस्तै, समाजवाद भनेको निमुखा, गरिब, किसान लगायत सबैको हित गर्ने, समान अधिकार दिने, स्रोत र साधनको न्यायोचित वितरण गरी समानताको लक्ष्य प्राप्त गर्ने पद्धति भन्ने मेरो बुझाइ थियो उतिवेला सानोमा।

मेरो बुवाले यसैका लागि पंचायतकालमा आफ्नो जीवनको ऊर्जाशील समय खर्च गर्नुभयो। धेरै धन सम्पत्ति खर्च गर्नुभयो। उतिवेला आफ्नो गाउँमा चेतनाको ज्योति छर्नुभयो। उहाँलाई पनि देशमा प्रजातन्त्र ल्याउनु थियो र प्रजातान्त्रिक समाजवाद मार्फत गाउँ, समाज र देशको विकास गर्नुथियो। यो अहिलेको कुरा हैन, आजभन्दा करिब चालीस-पचास वर्ष अघिको कुरा थियो।

समाजवादको अर्को आधारस्तम्भ शिक्षा हो। सरल, सहज, सुलभ र गुणस्तरीय शिक्षा विना देशमा दक्ष जनशक्ति उत्पादन हुन सक्दैनन्। फलत: चेतना, देश विकास, समाजवाद, आर्थिक उन्नति, प्रगति र समृद्धिको बाटो बन्द हुन्छ। यसको प्रत्यक्ष प्रभाव मेरो गाउँमा पनि पर्छ।

मेरो बुवा २०४४ सालमा देशमा प्रजातन्त्र नआउँदै बित्नु भयो। उहाँले देखेको सपना मध्ये देशमा प्रजातन्त्र आयो। उहाँ जहाँ भएपनि निकै खुसी हुनु भयो होला यो कुराले। तर, मेरो बुवाले देखेको अर्को सपना समाजवाद मार्फत गाउँ, समाज र देशको विकास गर्ने थियो। यो कुरा सम्झेर अहिले मेरो गाउँतिर फर्केर हेर्ने हो भने मेरो मनमा धेरै प्रश्नहरू उठ्छन्।

नेपालमा पंचायतकालमा प्रजातन्त्र, समाजवाद र राष्ट्रियताका लागि लड्दा यो तस्वीरमा मेरो बुवा (दायाँबाट पहिलो) सँगै २०३६ सालमा कास्की जेलमा बस्ने गणतन्त्र नेपालको सम्माननीय राष्ट्रपति (तस्वीरमा बायाँबाट चौथो) हुनुहुन्छ। उहाँ धेरैपटक सांसद र मन्त्री हुनुभयो। उहाँले सत्ताको सबैजसो अनुभव लिनुभयो।

तपाईंले चिन्नुभयो कि भएन, यो तस्वीरमा गण्डकी प्रदेशको पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (बायाँबाट तेस्रो), पूर्व गृह र शिक्षा मन्त्री गोविन्दराज जोशी (बायाँबाट दोस्रो) र मेरो काका अमरराज कैनी (पूर्व सांसद र राज्यमन्त्री, बायाँबाट पाँचौं) पनि हुनुहुन्छ। उहाँहरू सबै उतिवेलादेखि नै प्रजातन्त्र र प्रजातान्त्रिक समाजवाद मार्फत देश विकासको सपना देखेर आफ्नो जीवन दाउमा राखेर जेलनेल भोग्नुभएको थियो।

उहाँहरूकै आदर्श, सिद्धान्त, मूल्य र मान्यतालाई उचित मान्दै उतिवेला मेरो गाउँका धेरै जनताले उहाँहरूलाई समर्थन गर्नुभएको कुरा मेरो स्मृतिपटलमा अझै ताजा छ। यो तस्वीरमा हुने नेतृत्व वर्गले यो कुरा भुल्ने कुरै भएन। यो तस्वीर खिचेको झन्डै दश वर्षपछि नेपालमा प्रजातन्त्र आयो। त्यसपछि उहाँहरू वा मैले माथि नाम उल्लेख गरेका मेरै जिल्लाका नेताहरू सत्तामा पुग्नुभयो, त्यो पनि एकपटक हैन पटक पटक।

उहाँहरूले प्रजातान्त्रिक समाजवादको सपना देखाएर राजनीति गरेको पनि झन्डै पचास वर्ष पुगिसक्यो। यो अवधिमा नेपालमा धेरै राजनीतिक परिवर्तन भए। तर, मेरो गाउँका पिछडिएका, दलित, सीमान्तकृत, आर्थिक अवस्था कमजोर भएका, गरीब जनताको अवस्थामा तात्विक अन्तर आउन सकेको छैन भन्ने मेरो बुझाइ छ।

यो अवधिमा एकदमै देखिने परिवर्तन पनि भएको छ। त्यो के हो भने, जो सत्तामा पुगे तीमध्ये धेरैजसो नेता र तिनका परिवारको आर्थिक अवस्था र हैसियत उहिले पंचायतकालमा राजनीति गर्दा भन्दा अहिले निकै माथि छ। यो मैले प्रत्यक्ष अनुभव गरेको कुरा हो।

तर, उतिवेला उहाँहरूलाई साथ दिने, सहयोग गर्ने र कतिपय बेलामा गाउँमा गाँस र बास दिने मेरो गाउँका धेरैजसो जनताको हाल भने करिब करिब उस्तै उस्तै छ।

नेपालमा समाजवादको कुरा गर्दा आर्थिक क्रान्ति नभई आम जनताको जीवनस्तर माथि जान सक्दैन। आर्थिक क्रान्तिको लागि हरेक गाउँमा वा देशभित्रै रोजगारीको अवसर हुनुपर्‍यो। नेपालको परिवेशमा गाउँमा कृषि बाहेक अरु रोजगारीको अवसर जुटाउन निकै कठिन छ।

उहिले भन्दा अहिले मेरो गाउँमा कृषिको अवस्था निकै नाजुक छ। त्यहाँ कृषिमा न कुनै आधुनिकीकरण भएको छ, न कृषि क्षेत्रमा काम गर्ने कुनै मजदुर पाउन सकिन्छ। कामका लागि गाउँ छोडेर बाहिर जानेको संख्या अधिक छ। खेतबारी जोत्न हालगोरु पाल्नेहरू छँदै छैनन् भने पनि हुन्छ।

सरकारले भनेको बेला मेरा गाउँका कृषकलाई मल र बीउ दिन नसकेको धेरै उदाहरण छन्। अहिले मेरो गाउँमा धेरैजसो खेतीयोग्य जग्गा बाँझो छ। व्यावसायिक तरकारी खेती गर्ने नगन्य छन्, भए पनि अपवादको रूपमा। यस अर्थमा मेरो गाउँको समाजवादको यात्रा जहाँको त्यहीं छ।

शिक्षा जुनसुकै देश विकासको लागि न्यूनतम शर्त हो। समाजवादको अर्को आधारस्तम्भ शिक्षा हो। सरल, सहज, सुलभ र गुणस्तरीय शिक्षा विना देशमा दक्ष जनशक्ति उत्पादन हुन सक्दैनन्। फलत: चेतना, देश विकास, समाजवाद, आर्थिक उन्नति, प्रगति र समृद्धिको बाटो बन्द हुन्छ। यसको प्रत्यक्ष प्रभाव मेरो गाउँमा पनि पर्छ।

म उतिवेला पढ्ने मेरो गाउँको निम्न माध्यमिक विद्यालय अहिले माध्यमिक विद्यालय भएको छ। तर, अहिले त्यहाँ कुनै कक्षामा एकल अंकमा विद्यार्थी छन् भन्नुपर्दा दु:ख लगेर आउँछ। धेरैजसो जनतालाई सामुदायिक विद्यालयले दिने शिक्षाप्रति विश्वास छैन। त्यही स्कुलमा पढाउने शिक्षकका छोराछोरी नै निजी स्कुलमा पढ्छन्।

स्कुलमा दरबन्दी अनुसारका शिक्षक कर्मचारी पनि छन्। तर, सरकारले मेरो गाउँका जनताको मन र भरोसा जित्ने स्कुल चलाउन सकेको छैन। यो मेरो गाउँको कुरा मात्रै हैन, देशभर त्यस्तै हालत छ। यो अर्थमा मेरो गाउँले शिक्षामा प्रगति गर्न सकेको छैन र समाजवादको बाटो अहिलेसम्म पहिल्याउन सकेको छैन।

समाजवादको कुरा गर्दा स्वास्थ्य क्षेत्रलाई भुल्ने कुरै भएन। स्वास्थ्य क्षेत्र समाजवादको अर्को प्रमुख आधार स्तम्भ हो। स्वस्थ नागरिक विना स्वस्थ समाज बन्दैन। स्वस्थ जनता र स्वस्थ समाज विना देश बनाउने कल्पना गर्न सकिंदैन।

त्यसैले समाजवादको लक्ष्य प्राप्ति गर्ने हो भने राष्ट्र र समाजले सबै जनतालाई सुलभ, सहज र सरल रूपमा हरेक स्वास्थ्य सेवा उपलब्ध गराउन सक्नुपर्छ।

मेरो वडामा स्वास्थ्य केन्द्र भए पनि त्यो केवल नाम मात्रैको छ। न त्यहाँ भर्ना हुने सुविधा छ, न चिकित्सक नै हुन्छन् त्यहाँ। तनहुँ जिल्ला सदरमुकाम दमौलीमा जिल्ला अस्पताल छ। त्यहाँ आम जनताको लागि आधारभूत स्वास्थ्य सेवा भए पनि कुनै विशेषज्ञ सेवा छैन। कुनै गम्भीर रोग लागे बिरामी पोखरा वा काठमाडौं लैजानुपर्ने अवस्था छ अहिले पनि।

गम्भीर रोग परीक्षण, पहिचान वा निदानका लागि चाहिने सेवा र विशेषज्ञ चिकित्सक छैनन् त्यहाँ। त्यसैले मेरो गाउँले उतिवेला देखेको समाजवादको यात्रा अहिले पनि झन्डै जहाँको त्यहीं छ।

समाजवादको यात्रामा गन्तव्यमा पुग्न हरेक गाउँमा विकासको लागि भौतिक पूर्वाधार हुनु आवश्यक छ। अहिले मेरो गाउँको वडा कार्यालयसम्म पुग्न डोजरे बाटो पुगेको छ। त्यो बाहेक अरु कुनै भौतिक पूर्वाधार त्यहाँ बनेका छैनन्। पृथ्वी राजमार्ग उहिले नै मेरो गाउँमा बनेको थियो। राजमार्गको सहज पहुँच हुने मेरो गाउँको हालत त यस्तो छ भने अरु दुर्गम गाउँको नेपालको हालत कस्तो होला, त्यो सहज अनुमान गर्न सकिन्छ।

मेरो बुवा र उहाँका दौंतरी राजनीतिज्ञहरूले राजनीति गर्दा उतिवेला देखेको समाजवादको सपना अहिले पनि झन्डै जहाँको त्यहीं छ। नेपालको संविधान २०७२ मा ‘लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रहने’ उल्लेख भएको, शिक्षा र आधारभूत स्वास्थ्य जस्ता कुरा जनताको मौलिक हक भन्ने प्रतिबद्धता जाहेर गरिए पनि व्यवहारमा भने मेरो गाउँ अहिले पनि करिब करिब जहाँको त्यहीं छ।

मेरो बुवाले देखेको समाजवादको त्यो सपना सायद मेरो जीवनकालमा पूरा हुने छैन। तर पनि, पूरा होस् भन्ने मेरो बुवाको त्यो चाहना मेरो पनि चाहना हो र मेरो सन्ततिको पनि चाहना रहनेछ।

(लेखक बेलायतको डार्टफोर्ड काउन्सिलका पूर्व काउन्सिलर हुन्। उनी सन् २०१७ को आमनिर्वाचनमा लेबर पार्टीको तर्फबाट सांसदको उम्मेदवार थिए। हाल उनी एङ्ग्लिया रस्किन युनिभर्सिटी, बेलायतमा सिनियर लेक्चररको रूपमा कार्यरत छन्।)

लेखकको बारेमा
डा. बच्चुकैलाश कैनी

बेलायतमा स्वास्थ्य सेवा व्यवस्थापनमा परामर्शदाता रहेका कैनी प्राध्यापक पनि हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?