+
+

विश्वविद्यालयका लागि एउटै क्यालेन्डर कार्यान्वयनमा शंका

नुनुता राई नुनुता राई
२०८० भदौ १० गते २०:१४

१० भदौ, काठमाडौं । विश्वविद्यालय अनुदान आयोगले सबै विश्वविद्यालयका लागि एकीकृत राष्ट्रिय शैक्षिक क्यालेन्डर लागू गरेको छ । हाल विश्वविद्यालयपिच्छे स्नातक, स्नातकोत्तर, एमफील र पीएचडी तहको भर्ना, परीक्षा, नतिजा सार्वजनिकलगायत शैक्षिक गतिविधि फरकरफरक समयमा हुने गरेको छ ।

आयोगले एकरुपता कायम गर्न क्यालेन्डरमा तोकिएअनुसार शैक्षिक गतिविधि गर्न सबै विश्वविद्यालयहरूलाई परिपत्र गरेको छ ।

यस्तो छ एकीकृत क्यालेन्डर

एकीकृत क्यालेन्डर अनुसार स्नातक तहमा मंसिर १ देखि साउन मसान्तसम्मको ९ महिना अवधिलाई एक शैक्षिक वर्ष मानिएको छ । विश्वविद्यालयहरुले यो नौ महिनाभित्रै परीक्षा सञ्चालन र नतिजासमेत प्रकाशन गर्नुपर्नेछ । अर्थात् विद्यार्थीहरुले चार वर्षे स्नातक तहको नतिजा पनि ४ वर्षभित्रै पाइसक्नुपर्नेछ ।

सेमेस्टर प्रणालीमा कक्षा सञ्चालन भएको ५ महिनाभित्र अन्तिम परीक्षा गरिसक्नुपर्छ । कक्षा सुरु भएको ९० दिनभित्र पढाइ सक्नुपर्ने, परीक्षा सकिएको दुई महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्ने, अघिल्लो सेमेस्टरको मेकअप परीक्षा चलिरहेको सेमेस्टरको परीक्षा भन्दा अगाडि नै सञ्चालन गर्नुपर्ने, अन्तिम सेमेस्टरको परीक्षाफल सेमेस्टरको अवधिभित्रै प्रकाशित गर्नुपर्ने क्यालेन्डरमा उल्लेख छ ।

पहिलो सेमेस्टरका लागि भदौमा आवेदन खुलाएर प्रवेश परीक्षा, भर्नालगायतका सबै प्रक्रिया पूरा गरी मंसिरबाट पढाइ सुरु गर्नुपर्ने, दोस्रो सेमेस्टरको पढाइ वैशाख दोस्रो हप्ताभित्र सुरु गर्नुपर्ने, तेस्रो सेमेस्टरको कक्षा कात्तिक दोस्रो हप्ता सुरु गर्नुपर्ने एकीकृत क्यालेन्डरमा उल्लेख छ ।

कक्षा १२ को नतिजा साउन मसान्तसम्म प्रकाशन भएपछि क्याम्पसहरूले ६० दिनभित्र विश्वविद्यालयले स्नातक तहको भर्ना गरिसक्नुपर्नेछ भने नतिजा प्रकाशन नहुँदै भर्ना गर्न पाउने छैनन् ।

एकीकृत क्यालेन्डरसँग मिल्ने गरी विश्वविद्यालयहरुले आफ्नै क्यालेन्डर पनि लागू गर्न सक्ने छन् । भर्नाका लागि भिन्नभिन्न प्रकृतिको प्रवेश परीक्षा सञ्चालन हुने मेडिकल, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान तथा प्रविधिका संकायको क्यालेन्डरमा भने शैक्षिक कार्यक्रमको समय तालिकामा केही तलमाथि हुन सक्ने विश्वविद्यालय अनुदान आयोगले जनाएको छ ।

उच्च शिक्षामा एकीकृत क्यालेन्डर लागू गर्न आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । आयोगले विश्वविद्यालयहरुसँगको छलफलपछि एकीकृत क्यालेन्डर तयार गरेको बताए पनि लागू हुनेमा संशय छ ।

हाल कतिपय विश्वविद्यालयहरु, इन्जिनियरिङ अध्ययन संस्थान र चिकित्सा शिक्षा अध्ययन संस्थानले छुट्टै क्यालेन्डर तयार गरेर कार्यान्वयन गर्दै आइरहेका छन् ।

विश्वविद्यालयहरुमा संरचनागत सुधार तथा नीतिगत परिवर्तन नगरे कार्यान्वयन गर्न कठिन हुने आयोगका अध्यक्ष प्रा. डा. अधिकारी बताउँछन् । धेरै विद्यार्थी, देशभर छरिएका क्याम्पस र केन्द्रीकृत परीक्षाका कारण त्रिविले यो क्यालेन्डर लागू गर्नेमा आशंका छ ।

हुनत त्रिविले शैक्षिक वर्ष २०८० का लागि आफ्नै क्यालेन्डर बनाएको छ । क्यालेन्डर अनुसार स्नातक तहको वार्षिक कार्यक्रमको पहिलो वर्षको भर्ना साउन महिनाको तेस्रो हप्तादेखि भदौ दोस्रो हप्तासम्म गरिसक्ने र कक्षा सञ्चालन मंसिर पहिलो हप्तामा हुनेछ ।

परीक्षा अर्को वर्षको साउन तेस्रो हप्ता गरिसक्ने र परीक्षाफल मंसिरभित्र सार्वजनिक हुनेछ । कोरोना महामारीपछि त्रिविले लिएको परीक्षाको नतिजा सार्वजनिक गर्न १८ महिनासम्म लगाएको थियो भने पढाइ सकिएको एक वर्षपछि पनि परीक्षा सञ्चालन गर्न नसकेको स्थिति छ ।

त्रिभुवन विश्वविद्यालयको शिक्षा संकायका डिन प्रा.डा.चित्रबहादुर बुढाथोकीले प्रदेशस्तरमा वा हालका क्षेत्रीय निर्देशनालयबाट परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षण गर्न सकेमा कार्यान्वयन गर्न समस्या नहुने बताए ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझा अहिलेकै संरचना र जनशक्तिबाट आयोगको क्यालेन्डर लागू गर्न कठिन रहेको बताए । प्रविधिमैत्री र दक्ष कर्मचारी खुला प्रतिस्पर्धाबाट नियुक्त गरेमा मात्र त्रिविले क्यालेन्डर लागू गर्न सक्ने उनको भनाइ छ ।

त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसाल त्रिविले आफ्नो शैक्षिक क्यालेन्डर लागू गर्न काम गरिरहेको र आयोगको एकीकृत शैक्षिक क्यालेन्डर पनि कार्यान्वयन गर्न सकिने बताए । ‘कोभिड जस्तो समस्या आयो भने ठूलो मासमा विद्यार्थी भएकोले व्यवस्थापन गर्न गाह्रो हुन्छ, नभए सक्छौं’ उनले भने ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. अधिकारी पनि विश्वमा त्रिवि भन्दा धेरै विद्यार्थी भएका विश्वविद्यालयले क्यालेन्डर लागू गरिरहेकाले त्रिविले पनि सक्ने बताउँछन् । ‘संसारमा त्रिवि भन्दा ठूला विश्वविद्यालयहरु छन् जसले क्यालेन्डर लागू गरेका छन् त्यसैले त्रिविले परीक्षा सञ्चालन तथा उत्तरपुस्तिका जाँचको लागि क्षेत्रगत संरचना विस्तार गरेर काम गर्ने, चौथो वर्षको र अन्तिम सेमेष्टरका कोर्षहरु अगाडि सार्नुपर्ने लगायतका काम गर्नुपर्छ’, उनले भने ।

त्रिविका सहप्राध्यापक रमेश पौडेल त्रिवि मात्रै नभएर पूर्वाञ्चल, सुदुरपश्चिम लगायत विश्वविद्यालयले पनि क्यालेन्डर लागू गर्न सक्नेमा संशय व्यक्त गर्छन् । उनी भन्छन् ‘नेपालमा अहिले आफ्नो क्यालेन्डर लागू गरेका केहीले बाहेक अधिकांशले गर्न सक्लान् भन्ने लाग्दैन ।’

विश्वविद्यालयहरू तयार

हाल नेपालमा ११ वटा विश्वविद्यालय, ६ मानित विश्वविद्यालय (प्रतिष्ठान), ४ प्रादेशिक विश्वविद्यालयका आंगिक र सामुदायिक गरी करिब एक हजार ५०० क्याम्पसमा करिब ५ लाख विद्यार्थी अध्ययनरत छन् ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले एकीकृत क्यालेन्डर लागू गर्न समस्या नहुने बताए । ‘हाम्रोमा समस्या छैन किनभने मध्यपश्चिम विश्वविद्यालयले आफ्नो क्यालेन्डर कार्यान्वयन गर्दै आएको छ र हाम्रो क्यालेन्डर र एकीकृत शैक्षिक क्यालेन्डर लगभग मिल्ने भएकोले थोरै मिहिनेत गरे मात्रै हुन्छ’, उनले भने ।

मधेश कृषि विश्वविद्यालयले आयोगको क्यालेन्डर अनुसार नै भर्ना खोल्ने तयारी गरिरहेको रजिस्ट्रार भगवान ठाकुरले बताए । ‘हाम्रो पहिलो सेमेष्टर सकिन लागेको छ । अब एकीकृत क्यालेन्डर अनुसार नयाँ भर्ना खोल्ने तयारीमा छौं’, उनले भने ।

सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठक बेला बेलामा सरकारले दिने सार्वजनिक बिदाले क्यालेन्डर कार्यान्वयनमा समस्या हुने बताउँछन् । ‘हामीले सबै कार्यक्रम सेमेष्टर प्रणालीमा चलाइरहेका छौं ।

संघ, प्रदेश र स्थानीय सरकारले दिने छुट्टाुछ्टै बिदाका कारण समस्या भइरहेको छ’, उनी भन्छन् । आयोगले तयार गरेको एकीकृत क्यालेन्डर कार्यान्वयन गर्नुपर्ने उनले बताए ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा.प्रेमनारायण अर्याल एकीकृत क्यालेन्डर आफूहरुको पनि माग भएको बताउँछन् । त्यसलाई कार्यान्वयन गर्ने योजना बनाउन छलफल भइरहेको उनको भनाइ छ ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?