१० भदौ, काठमाडौं । सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको पहलमा इन्द्रावती गाउँपालिकाले आफ्नो गाउँका एकनाथ नेपाललाई प्रशिक्षणका लागि भारत पठाएको छ ।
ब्याटिङ अलराउन्डर समेत रहेका उनले भारतमा एक महिना विशेष प्रशिक्षण गर्नेछन् ।
संघले विशेष अभियान स्वरुप एक पालिका दुई खेलाडी प्रशिक्षण अन्तर्गत यसअघि पाँचपोखरी थाङपाल गाउँपालिकका सार्थक धिताल र पासाङ दोर्जे तामाङलाई भारतमा अभ्यास गर्न पठाइएको थियो ।
इन्द्रावती गाउँपालिकाले दुई खेलाडीलाई प्रशिक्षणका लागि पठाउने पर्ने सम्झौता भए पनि परीक्षा परेका कारण अर्का खेलाडी भने दशैंपछि जाने सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघका अध्यक्ष विजय धितालले जानकारी दिए ।
भारत जाने खेलाडी नेपाललाई बिदाइ गर्दै इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले खेलकुद विकासका लागि आफू सबै किसिमको सहयोग गर्न तयार रहेको र यो सहकार्य सुरुवात मात्र भएको बताए ।
संघले ग्रेट हिमालय क्रिकेट एकेडेमीसँग सहकार्य गर्दै पाँचपोखरी थाङ्गपाल गाउँपालिका करण स्याङ्बो र मेलम्ची नगरपालिका १ का निश्चल थापालाई एकेडेमीमा ६ महिनाको निशुल्क प्रशिक्षणको व्यवस्था समेत मिलाएको छ ।
सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको तदर्थ समिति मात्र बनेकाले नेपाल क्रिकेट संघ क्यानको सदस्यता पाइसकेको छैन ।
बागमती प्रदेशका ६ जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र नुवाकोटले मात्रै क्यानको जिल्ला सदस्यता मान्यता पाएका छन् ।
प्रतिक्रिया 4