
११ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको न्यायिक समितिका पदाधिकारीसँग जापान सरकारको न्याय मन्त्रालयअन्तर्गतका पदाधिकारीहरुले छलफल गरेका छन् ।
जापानी प्रतिनिधिसँगको भेटमा न्यायिक समितिको राष्ट्रिय संयोजक समेत रहेकी काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले महानगरको न्याय निरूपणका प्रक्रिया, न्यायिक व्यवहारका विषयमा जानकारी गराएकी थिइन् ।
छलफलमा उनले कानुनी ज्ञान नभएकालाई वडा स्तरीय निःशुल्क कानुनी सहायता, मेलमिलाप गराउन सकिने विवादका लागि गठन भएका वडा महिला सञ्जाल, वडामा स्थापना गरिएका मेलमिलाप कक्षको सञ्चालन लगायत विषयमा बताएकी थिइन् ।
न्यायिक समितिसँग न्यायिक निरुपणका विषयमा जानकारी लिनका लागि अन्तरराष्ट्रिय सहयोग कार्यक्रमका प्राध्यापक तथा न्यायाधीश सोइची हारा, प्राध्यापक एवं जापानी सरकारी वकिल कोइची चिनोने, प्रशासकीय अधिकृत तेत्सु कामिया लगायतको टोली डंगोलसँग भेट्न महानगरको कार्यालय काठमाडौं प्लाजामा आएको थियो ।
जापानका न्यायाधीश हाराले प्राविधिक विषयमा परेका उजुरीको निर्णय प्रक्रियाका बारेमा, कानुन विज्ञ इसोइले, मनोसामाजिक परामर्शदाताको आवश्यकता महसुस गर्नु भएको छ कि छैन ? लगायतमा प्रश्न गरेका थिए ।
जवाफमा डंगोलले, विषयसँग सम्बन्धित विभागहरुबाट आवश्यकताका आधारमा राय लिने, प्राविधिक सहयोग लिने गरिएको बताएकी थिइन् ।
छलफलमा महानगरको न्यायिक समितिका सदस्यहरु कुश ढकाल र आशा श्रेष्ठ रौनियार लगायत सहभागी थिए ।
प्रतिक्रिया 4