+
+

आरजुले किन रोजिन् कृषि समितिको सभापति ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ११ गते २२:५६

११ भदौ, काठमाडौं । प्रतिनिधिसभाको १० वटा विषयगत समितिले सोमबार सर्वसम्मत रुपमा सभापति पायो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति भइन् नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवा ।

सभापति भएपछि उनले सबैसँग समन्वय गरेर समितिलाई प्रभावकारी बनाउने बताएकी छन् । आरजुले भनिन्, ‘जति पनि माननीय हुनुहुन्छ, आफ्नो एरियामा पोख्त, ज्ञानी, अनुभवी हुनुहुन्छ । त्यही कारणले सभापतित्व गर्न जमर्को गरेकी हुँ ।’

तर राज्यमन्त्रीसरहको संसदीय समिति सभापतिमा आरजुको रुची यतिमा मात्र सीमित नभएको कांग्रेस नेताहरु बताउँछन् । उनीहरुका अनुसार कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजुलाई कांग्रेसमा ‘नेता’का रुपमा स्थापित गर्ने प्रयास निरन्तर भइरहेको छ । त्यही क्रममा यो पटक उनलाई संसदीय समितिको सभापति बनाइएको हो ।

शेरबहादुर देउवासँग २०५१ सालमा विवाह गरेपछि आरजु लामो समय कांग्रेसको सक्रिय राजनीतिमा आइनन् । गैर सरकारी संस्थाहरुमै व्यस्त रहिन् । २०६४ को पहिलो संविधानसभा र ०७० को दोस्रो संविधानसभामा कांग्रेसबाट समानुपातिक सांसद बन्दासम्म उनको रुची पार्टी राजनीतिमा उतिसारो थिएन ।

जब देउवा सभापति भए, उनको सक्रियता बढ्यो । ०७४ को आम चुनावमा कैलाली ५ मा प्रत्यक्ष चुनाव लडिन् । तर नेकपा एमालेका नारदमुनि रानासँग पराजित भइन् । मंसिर ०७८ मा भएको कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएकी उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनबाट फेरि समानुपातिक सांसद भइन् ।

निकटवर्तीहरुका अनुसार देउवा आफू पार्टी नेतृत्वमै रहेका बेला आरजुलाई पार्टीमा स्थापित गर्न चाहन्छन् । तर १५औं महाधिवेशनमा एकै पटक पदाधिकारीमा अगाडि सार्दा स्वीकार्यता हुन्न भन्ने देउवा र आरजु दुबैले बुझेका छन् । उनले संसदको यो कार्यकालमा केही काम गरेर आफ्नो स्वीकारोक्ति बढाउन बाटो रोजिन्, जसका लागि संसदीय समितिको सभापति उपयुक्त थियो ।

एक सांसद भन्छन्, ‘हिजो गगन थापा, रवीन्द्र अधिकारीहरुले संसदीय समितिको नेतृत्व गरेर आफ्नो छवि बनाएका थए । अब आरजुलाई पनि त्यो अवसर बन्नसक्छ ।’

कांग्रेसका एक सांसदका अनुसार सुरुमा आरजुको रुची सार्वजनिक लेखा समितितिर देखिएको थियो । तर त्यहाँ बस्दा थप विवादमा पर्ने देखेपछि उनी कृषि समितिको सदस्य भइन् । संसदीय समितिहरुको सभापति भागवण्डामा कृषि समिति कांग्रेसले पाएपछि उनले सभापति बन्ने चाहना राखिन् ।

आरजुले चाहेपछि कसैले रोकेनन् । संसदीय समितिको सभापतिहरु चयनका क्रममा देउवाले शेखर कोइराला–गगन थापा समूहका नेताहरुसँग परामर्श गरेका थिएनन् । संस्थापन समूहका नेताहरु त आरजुलाई नेतृत्वमा स्थापित गर्न नै लागेका थिए । स्रोतका अनुसार पछिल्लो समय प्रवक्ता डा. प्रकाशशरण महत, सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर, एनपी साउद, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, मोहनबहादुर बस्नेत लगायतका नेताहरु आरजुलाई स्थापित गर्न लागेका छन् ।

कृषि समितिको सभापति बनाउने क्रममा पनि उनीहरुले नै वातावरण बनाएका थिए । संसदीय समितिहरुको सभापति भागवण्डामा कृषि समिति कांग्रेसले पाएपछि बलायर लगायतका नेताहरुले आरजुलाई सभापति बन्न आग्रह गरे । आरजुले ‘दाइलाई के भन्नुहुन्छ’ भनेकी थिइन् । एक सांसद भन्छन्, ‘दाइले केही भन्नुभयो भने हामी भनौंला भनेपछि उहाँ तयार हुनुभयो ।’

कांग्रेस सांसद बलायर पनि आफूहरुले सभापति भएर नेतृत्व गर्नुस् भनेर आग्रह गरेको बताउँछन् । ‘उहाँलाई जसरी बद्नाम गराउन खोजिएको छ, त्यो होइन’ उनले अनलाइनखबरसँग भने, ‘हामीले नै उहाँलाई नेतृत्व लिन आग्रह गरेका हौं ।’

यसअघि पनि यो समितिमा सदस्य भइसकेका बलायरका अनुसार कृषि समितिले जलवायु परिर्वतन लगायतका मुद्दामा अन्तर्राष्ट्रिय समुदायसँग समेत काम गर्नुपर्छ । त्यसका लागि आरजु उपयुक्त भएकाले नै आग्रह गरेको बलायर बताउँछन् । सभापतिमा आरजुको प्रस्तावक बसेका कांग्रेस सांसद बलायर भन्छन्, ‘यो उहाँको चाहना मात्र होइन, समितिको आवश्यकता पनि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?