+
+

आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकता दिन प्रस्तावित राजदूतहरुलाई परिसंघको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते १५:०७

१२ भदौ, काठमाडौं । नेपाल उद्योग परिसंघले प्रस्तावित राजदूतहरुसँग आर्थिक क्षेत्रका विषयमा छलफल गरेको छ ।

प्रस्तावित राजदूतहरु संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल, थाइल्यान्डका लागि धनबहादुर वली, फ्रान्सका लागि सुधीर भट्टराई र जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी सहभागी अन्तरक्रियामा परिसंघले आर्थिक एजेण्डालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरुलाई आग्रह गरे ।

आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता दिएर नेपालमा भएको लगानीका अवसरहरुका बारेमा विदेशी लगानीकर्ताहरुलाई जानकारी गराउने महत्वपूर्ण माध्यम राजदूत हुनुपर्नेमा उनको जोड छ ।

निजी क्षेत्रले व्यावसायिक प्रतिनिधिमण्डलको आदानप्रदान गरिरहेको भएपनि नेपाल साँच्चिकै लगानी प्रवर्द्धन गर्न खोजिरहेको छ भन्ने सन्देश दिन नेपाली राजदूतावासहरुको समन्वयनमा व्यावसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तरक्रिया गरिनुपर्ने उनले बताए ।

अध्यक्ष अग्रवालले लगानी तथा निर्यात प्रवर्द्धन गर्न देश केन्द्रित विशिष्ट आर्थिक रणनीति बनाउनुपर्ने आवश्यकतामा जोड दिए । यसका लागि परिसंघ सहकार्य गर्न तयार रहेको समेत उनले बताए ।

कुनै पनि मुलुकसँगको सम्बन्ध राजनीतिक भन्दा आर्थिक सम्बन्ध स्थीर एवम् बलियो रहेको विश्वको उदाहरण प्रस्तुत गर्दै उनले व्यवसायका माध्यमबाट देशको ब्राण्डिङमा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

परिसंघले उच्च व्यापार घाटा कम गर्न नेपाली वस्तुहरुको प्रवर्द्धन, पर्यटन, सूचना प्रविधि, उद्योग, जलविद्युत, पूर्वाधारमा विदेशी लगानी भित्र्याउने गरी काम गर्नुपर्नेमा जोड दिएको छ ।

अन्तरक्रियामा प्रस्तावित राजदूतहरुले आर्थिक सम्बन्ध विस्तार, निर्यात प्रवर्द्धनमा नै आफूहरुको ध्यान रहने भन्दै देश केन्द्रित सुझाव दिन परिसंघलाई आग्रह गरे ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिवहरु शरदराज आरण, डा. सुरेन्द्र थापा, परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्वअध्यक्षहरु हरिभक्त शर्मा, सतिशकुमार मोर, उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?