+
+

व्याख्यात्मक घोषणालाई सम्झौताको अंश बनाउने हो कि होइन एमसीसी उपाध्यक्षलाई सोध्छु : प्रचण्ड

‘अहिले एमसीसीबारे एक जना अधिकारी आउँदै हुनुहुन्छ । प्रधानमन्त्री भएकाले मसँग भेट्ने भइहाल्यो । म व्याख्यात्मक घोषणालाई सम्झौताको अंश बनाउने हो वा होइन सिधा भाषामा राख्ने छु । त्यसपछि के गर्नुपर्छ के हुन्छ भनेर मोर्चामा सल्लाह गरेर गरिन्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते १७:४८

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसी सम्झौताको अंश बनाउने कि नबनाउने भनेर अमेरिकी अधिकारीलाई सोध्ने बताएका छन् ।

एमसीसी परियोजना भोलि बुधबार कार्यान्वयनमा जाँदैछ । त्यसका लागि एमसीसी सम्झौता कार्यान्वयनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आइपुगेका छन् ।

त्यसको अघिल्लो दिन मंगलबार प्रधानमन्त्री प्रचण्ड स्वयंमले एमसीसी सम्झौता अनुमोदनका क्रममा संसदले पास गरेको १२ बुँदे ब्याख्यात्मक घोषणा कार्यान्वयन हुनेमा आशंका रहेको बताएका छन् ।

समाजवादी मोर्चाले बुटवलमा आयोजना गरेको सन्देश सभामा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले एमसीसीबारे आफूले धेरै बोल्दा फाइदा नगर्ने बताए ।

एमसीसी अनुमोदन गर्ने क्रममा आफूले के–के गरेँ भनेर फेहरिस्त पेश गर्ने हो भने नेपालको परराष्ट्र नीतिको सन्तुलन बिग्रिने खतरा रहेको उनले बताए । उनले अगाडि भने, ‘के चाहिँ भन्छु भने नेपालको राष्ट्रिय हित, स्वाधिनता र सार्वभौमसत्ताको रक्षाका लागि लडिठरहेको छु,जसरी जनयुद्धको बेला लडेको थिएँ ।’

अनुदान दिएर नेपालमा विकास गर्छौं भन्नेको अनुदान पनि लिने र राष्ट्रिय हित पनि प्रवर्द्धन हुने उपायको खोजी गर्ने क्रममा व्याख्यात्मक घोषणा भेटिएको प्रचण्डले बताए । अन्तर्राष्ट्रिय कानुनी मान्यता प्राप्त घोषणा भएको भन्दै उनले भने, ‘भोलि गडबड भयो भने आन्दोलनमा जानसक्ने उपाउ के छ भन्दा १२ बुँदे घोषणा ।’

संसदबाट सर्वसम्मत रुपमा पास भएको १२ बुँदे व्याख्यात्मक घोषणा सदनको सम्पत्ति भएको उनले बताए । ‘यसलाई कार्यान्वयन गर्ने हुन्छ कि हुन्न भन्नेमा आशंका छ’ समाजवादी मोर्चाको कार्यक्रममा विप्लव लगायतका नेताहरुले उठाएको आशंकामा सही थप्दै प्रचण्डले भने, ‘अहिले एमसीसीबारे एक जना अधिकारी आउँदै हुनुहुन्छ । प्रधानमन्त्री भएकाले मसँग भेट्ने भइहाल्यो ।’

उनले अगाडि भने, ‘म व्याख्यात्मक घोषणालाई सम्झौताको अंश बनाउने हो वा होइन सिधा भाषामा राख्ने छु । त्यसपछि के गर्नुपर्छ के हुन्छ भनेर मोर्चामा सल्लाह गरेर गरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?