+
+

‘सर्वश्रेष्ठ फिल्म’ विनै राष्ट्रिय चलचित्र पुरस्कार वितरण, जुरी संयोजक नै अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते २०:४६

काठमाडौं । सर्वश्रेष्ठ फिल्म विधाको घोषणा विनै चलचित्र विकास बोर्डले कथानकतर्फको राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरेको छ । मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा मुख्य विधा बाहेकका आठ विधामा पुरस्कार बाँडियो ।

राष्ट्रिय चलचित्र पुरस्कारको इतिहासमा मुख्य विधा विना अवार्ड वितरण गरिएको यो पहिलो घटना हो । पटकथा, छायांकन, सम्पादन, अभिनेत्री, अभिनेता, निर्देशक, आदिवासी जनजाति र जुरी अवार्ड मात्र वितरण गरिएको थियो ।

पुरस्कार वितरण समारोहमा जुरी संयोजक राजेन्द्र शलभ र सदस्य चेतन सापकोटा अनुपस्थित थिए । शलभ काठमाडौंमै रहे पनि अवार्डमा उपस्थित भएनन् भने सापकोटा अमेरिका भ्रमणमा व्यस्त छन् । समारोहमा उपस्थित एक जुरी सदस्यले अनलाइनखबरलाई बताएअनुसार जुरीले सर्वश्रेष्ठ फिल्म छनोट गरेर बोर्डलाई सिफारिस गरेका थिए ।

उनका अनुसार जुरी र बोर्डबीच सिफारिस फिल्मलाई लिएर मतभेद भएपछि मुख्य विधाको अवार्ड नै घोषणा गरिएन । ती जुरी सदस्यले बोर्डसँगको मतभेदको कारण संयोजक शलभ उपस्थित नभएको संकेत गरे । बोर्डका कुनै पनि सदस्यले सर्वश्रेष्ठ फिल्म विधाको अवार्ड घोषणा नगर्नुको कारणबारे केही खुलाएनन् ।

स्रोतका अनुसार जुरीको समूहले ‘प्रकाश’लाई सर्वश्रेष्ठ फिल्मको रुपमा सिफारिस गरेको थियो । संचार मन्त्रालयमा यसबारे छलफल पनि भएको थियो । ‘प्रकाश’ फिल्ममा समावेश माओवादी सशष्त्र विद्रोहबारेका केही दृश्यलाई लिएर बोर्डले असहमति जनाएको स्रोतको दाबी छ । यसबारे बोर्डले स्वतन्त्र पुष्टि भने गरेको छैन ।

मुख्य विधा घोषणा विनै अवार्ड वितरण गर्ने बोर्डको कार्यप्रति अधिकांश असन्तुष्ट सुनिएका छन् । ‘सर्वश्रेष्ठ फिल्म विधा अवार्डको मेरुदण्ड हो । जस विना अवार्ड कार्यक्रम अपूर्ण हुन्छ’ समारोहमा उपस्थित एक समीक्षकले अनलाइनखबरसँग भने ।

अर्कोतर्फ, दीर्घ साधना सम्मान पनि यसपटक अभिनय विधाका दुई कलाकारलाई दिइएको छ । कम्तीमा कुनै एक वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड अन्य प्राविधिक विधाबाट दिइएको भए उपयुक्त हुने कतिपयको धारणा थियो । यसबारे चलचित्र विकास बोर्डले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

तस्वीर सौजन्य : विवेक बस्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?