
१३ भदौ, गोरखा । आरुघाट गाउँपालिका–५ पाखुरेको मण्डली आधारभूत विद्यालय ११ दिनदेखि बन्द छ । ५ कक्षासम्म सञ्चालित विद्यालयलाई ३ कक्षासम्म झार्ने र दुई शिक्षकको दरबन्दी कटौती गर्ने गाउँपालिकाको निर्णयको बिरोध गर्दै अभिभावकले २ भदौदेखि विद्यालय बन्द गराएका हुन् ।
२५ जना अध्ययन गर्ने विद्यालयमा नेपाल सरकारको दरबन्दीका दुई शिक्षक र गाउँपालिकाको राहत अनुदानको एक शिक्षक कार्यरत छन् । तर विद्यार्थी थोरै भएको भन्दै १ भदौमा बसेको गाउँ कार्यपालिका बैठकले उक्त विद्यालय ३ कक्षासम्म कायम राख्ने र नेपाल सरकारले दिएको दुईवटै शिक्षकको दरबन्दी कटौती गर्ने निर्णय गरेको थियो । सोही निर्णयको विरोधस्वरुप विद्यालय बन्द गरिएको व्यवस्थापन समिति अध्यक्ष रत्नबहादुर गुरुङले बताए ।
‘विद्यार्थी कम भएको विद्यालय मर्ज गर्नु, दरबन्दी कटौती गर्नु ठीकै हो तर हाम्रोमा विद्यार्थी संख्या राम्रै छ’, उनले भने, ‘फेरि हामीलाई भूगोलले पनि साथ दिएको छैन, यो स्कुल रहेन भने पारी स्कुल पढाउन सकिदैन, तीन वटा खोला तरेर जानुपर्छ, बर्खाको बेला बच्चालाई पढ्न जा भन्दा पनि मर्न जा भने जस्तो हुन्छ ।’
पालिकाले बिद्यालय खोल्न आग्रह गरेपनि आफूहरु सहमत नभएको अध्यक्ष गुरुङले बताए । कक्षा नघटाउने र कटौती गरिएको शिक्षक दरवन्दी यथावत नगरेसम्म विद्यालय नखोल्ने उनको भनाइ छ ।
गाउँपालिकाका कर्मचारी यज्ञप्रसाद कँडेलले भने विद्यालयको भवन जीर्ण रहेको र पहिरो जोखिम भएकाले कक्षा ३ सम्म मात्र विद्यालय सञ्चालन गर्ने निर्णय भएको बताए ।
‘हामी गाउँ शिक्षा समितिका पदाधिकारीहरु गत साउन २५ गते विद्यालयहरुको स्थलगत निरीक्षणमा गएका थियौं’, उनले भने, ‘त्यो विद्यालयको भवन जीर्ण रहेछ, कम्पाउण्डमा पनि पहिरोको जोखिम भएपछि विद्यालयनै समायोजन गर्न सिफारिस गरेका थियौं ।’
गाउँ कार्यपालिकाको बैठकले बिद्यालयको समायोजन नगर्ने तर कक्षा घटुवा गरी दुई वटै दरवन्दी कटौती गर्ने निर्णय गरेको उनको भनाइ छ । ‘हामीले बिद्यालय नै समायोजन गर्न भनेर सिफारिस ग¥यौ तर गाउँकार्यपालिका बैठकले तह घटुवा गरेर १ देखि ३ कक्षासम्म सञ्चालन गर्ने भनेर निर्णय गरिदियो’, कंडेलले भने ।
उनका अनुसार समायोजनमा परेका विद्यार्थीलाई स्वाँरागाउँमा रहेको जलकुमारी माविमा आवासीय सुविधासहित पठनपाठनको व्यवस्था गर्ने निर्णय समेत गाउँ कार्यपालिकाले गरेको छ ।
तर अभिभावकहरुले भने उक्त निर्णयप्रति असन्तुष्टि जनाएका छन् । व्यवस्थापन समितिले विद्यालय खुलाउन आवश्यक समन्वय गरिदिन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ ।
प्रशासन कार्यालयले विद्यालयको तह घटाउने र शिक्षक दरबन्दी कटौती गर्ने निर्णयले यस वर्षको पठन पाठनको नियमितता र गुणस्तर प्रभावित हुने बताएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ गोरखाले पनि विद्यार्थीको पठनपाठनको हक सुनिश्चित हुने गरेर मात्र समायोजनको निर्णय लिन आग्रह गरेको छ । इकाइ प्रमुख सुवास आचार्यले समायोजन गर्दा विद्यार्थीको पठनपाठनको व्यवस्था सहज हुनुपर्ने बताए ।
प्रतिक्रिया 4