+
+

चौतर्फी दबाबपछि पक्राउ परे राहुल, कृष्णबहादुर महराको के हुन्छ ?

गौरव पोखरेल गौरव पोखरेल
२०८० भदौ १३ गते २३:०२
सीआईबीमा राहुल महरा । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

१३ भदौ, काठमाडौं । नक्कली भुटानी शरणार्थी, ललितानिवास लगायतका प्रकरणपछि ‘सुशासनको पक्षमा ऐतिहासिक काम’ गरेको बताइरहेको सरकारका लागि विद्युतीय सिगरेट (भेप) मा लुकाएर तस्करी भएको सुनको अनुसन्धानले भने रक्षात्मक स्थितिमा पुर्‍यायो ।

सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल मुछिएको अभियोग–पत्र जिल्ला अदालत, काठमाडौंमा दर्ता भएपछि यो प्रकरणले सनसनी मच्चायो । २७ असार २०८० मा अदालतमा आपराधिक विश्वासघात र संगठित अपराधको कसूरमा मुद्दा दर्ता हुञ्जेलसम्म यसमा महरा बाबुछोराको नाम बाहिर आएको थिएन ।

सीआईबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गोदामबाट सुनसहितको भेप चोरीमा संलग्न भन्सारका नायब सुब्बा रेवन्त खड्का, विचौलिया दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, भारतीय नागरिक साहेव राव पाण्डुङ लगायतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

तर, अभियोग–पत्रमा जब कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम सुन ल्याउने तस्कर समूहका रुपमा उल्लेख भएको विषय सार्वजनिक भयो, त्यसपछि यो प्रकरण चर्चामा आयो । सुरुमा सीआईबी सम्पर्कका आधारमा मात्रै पक्राउ गर्न नसकिने भनेर चुपचाप बस्यो ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी नेतृत्वसँग लिएको ब्रिफिङमा पनि प्रहरी प्रमुख वसन्तबहादुर कुँवर र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) निर्देशक किरण बज्राचार्यले तत्कालको अवस्थामा दुवैको संलग्नता पुष्टि हुने आधार नभएको बताएका थिए ।

तर, प्रमुख विपक्षी दल नेकपा एमालेले भेपमार्फत भएको सुन तस्करी प्रकरणलाई समेत मुद्दा बनाएर दुई महिनासम्म निरन्तर संसद् अवरोध गर्‍यो । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि महरामाथि अनुसन्धान नभएकोमा गम्भीर आपत्ति जनाए ।

देउवाले आफ्ना पार्टीका प्रभावशाली नेता बालकृष्ण खाँण पक्राउ पर्ने तर महराको नाम किटान हुँदा पनि अनुसन्धान नगर्ने भन्दै प्रश्न मात्रै उठाएनन्, शरणार्थी प्रकरणको अनुसन्धान अधिकृतहरुलाई हटाउन समेत दबाब दिए । त्यसपछि सरकारले देउवाको इच्छा बमोजिम उपत्यका प्रहरी प्रमुख श्यामलाल ज्ञवाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीलाई जिम्मेवारीबाट हटायो ।

त्यसपछि प्रचण्डले फेरि प्रहरी प्रमुख कुँवर, एआईजी बज्राचार्यसहितलाई बोलाएर ब्रिफिङ लिएका थिए । बैठकमा सहभागी एक सरकारी अधिकारीका अनुसार आफूले चलाइरहेको सुशासनको अभियान एकैपटकमा भेप प्रकरणले शून्यमा झारिदिएको भन्दै प्रधानमन्त्री प्रचण्ड भावुक बनेका थिए । प्रहरीले भने गृहमन्त्री श्रेष्ठलाई दिएकै जवाफ दोहोर्‍याउँदै मुद्दा चलाउने खालको प्रमाण नभएको दोहोर्‍याएको थियो ।

तर, भेप प्रकरण त्यत्तिकै मत्थर भएन । विपक्षी र सत्ता गठबन्धनभित्रकै तीब्र दबाब र थप आलोचनाका बीच प्रधानमन्त्री प्रचण्डले महरा बाबुछोरामाथि अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिए । अन्ततः पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई प्रहरीको सीआईबीले बुधबार पक्राउ गरेको छ ।

राहुल महरा ।

सीआईबीका पूर्वनिर्देशक हेमन्त मल्ल ठकुरी तीब्र दबाबपछि सीआईबीले उनलाई नियन्त्रणमा लिएको देखिएको बताउँछन् । ‘सत्तारुढ दलकै नेताहरुले आफ्ना नेताहरु चाहिँ टार्गेट गरेर समात्ने, तर माओवादीका मान्छे आउँदा चाहिँ चुपचाप बस्ने भनेर प्रश्न उठाएपछि प्रधानमन्त्री पनि नैतिक संकटमा परेको देखिन्छ’, मल्ल भन्छन्, ‘त्यही प्रेसरको नतिजा आज देखिएको हो ।’

स्रोतका अनुसार, प्रहरीले पक्राउ गर्ने छनक पाएपछि राहुल आफैं सम्पर्क गरेर महाराजगञ्जस्थित सीआईबी कार्यालयतर्फ गएका थिए । त्यसक्रममा बाटोबाटै प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर आएको सीआईबी स्रोत बताउँछ । उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सीआईबीले जिल्ला अदालत, काठमाडौंबाट म्याद पाइसकेको छ ।

छोरा पक्राउ, महराको के हुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद भएको थियो । जाँच गर्दा त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बाको मिलेमतोमा गोदाममा भएको भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरेको खुलेको थियो ।

भेप साटफेर भएको थाहा पाएपछि खोजबिन गर्दा बरामद भएको भेपमा करिब ९ किलो सुन भेटिएको र त्यसलाई बिक्री गरेको अनुसन्धानबाट देखिएको थियो । यसबारे अनुसन्धान गरेको सीआईबीले बुझाएको रायसहितको प्रतिवेदनका आधारमा सुन बिक्री गर्ने र सुन किन्ने समूहविरुद्ध संगठित अपराध र आपराधिक विश्वासघात शीर्षकमा मुद्दा चल्यो ।

तर सीआईबीको ९० दिन लामो अनुसन्धान सुन तस्करी गर्ने मुख्य समूहसम्म पुगेको थिएन । बरु सुन तस्करीमा संलग्न समूहका रुपमा चिनियाँ नागरिक लुई, दावोजिन वाङ, राहुल महरा, लोकेन्द्र पौडेल, श्याम शाह लगायतको नाम राखेर सम्पर्क विवरण देखाइएको थियो । सीआईबी प्रतिवेदनमा सुन ल्याउने समूहका रुपमा महराका अर्का छोरा निर्मलको ९८५१…३८८ नम्बर पनि राखिएको थियो । तर, त्यसमा कृष्णबहादुर महराको नाम उल्लेख भएको थियो ।

सीआईबी स्रोतका अनुसार, त्यसमा त्रुटिवश कृष्णबहादुर महराको नाम परेको थियो । केहीअघि अनलाइनखबरसँग कुरा गर्दै निर्मलले पनि त्यो नम्बर आफूले एक दशकअघिदेखि चलाइरहेको बताएका थिए । यद्यपि, महराले विमानस्थल भन्सार कार्यालयका अधिकारीहरुलाई फोन गरेर चिनियाँ नागरिकले राखेको सामानबारे चासो राखेको पाइएको अधिकृतहरु बताउँछन् ।

‘अभियोग–पत्रमा उल्लेखित नम्बर पूर्वसभामुखको नभएपनि उनले भन्सारका कर्मचारीलाई सामानबारे चासो राख्दै फोन गरेको पाइएको छ’, स्रोतले अनलाइनखबरसँग भन्यो, ‘भेप लिलाम गर्न उनले भनेको पाइएको छ ।’

महरा स्वयंले पनि आफूले एकपटक कर्मचारीलाई फोन गरेको स्वीकारेका छन् । दाङमा पत्रकारहरुसँग कुरा गर्दै महराले ३० साउनमा चिनियाँ नागरिकले भन्सारमा सामान रोकियो भनेपछि अधिकारीहरुसँग कुरा गरेको स्वीकारेका थिए । तर, उनले त्यो सामान सुन भएको भन्ने थाहा नभएको बताएका थिए ।

महराले वाङसँग १०/१२ वर्षदेखि चिनजान र आउजाउ रहेको भन्दै उनलाई फलफूल ब्यापारीका रुपमा चिनेको बताएका थिए । ‘इलेक्ट्रिक चुरोट भेपको सामान आछ भन्सारमा छुटाउन मद्दत गर्नुपर्‍यो’ भनेपछि आफूले बुझेको उनले बताएका थिए ।

सीआईबीका अधिकृतहरु पनि महरालाई तत्काल पक्राउ गरिहाल्नुपर्ने अवस्था नदेखिएको बताउँछन् । तर, उनीसँग पनि सोधपुछ र बयान लिने अवस्था भने बनेको सीआईबी स्रोत बताउँछ ।

महराका कान्छा छोरा राहुलको भने चिनियाँ नागरिकसँग बाक्लो सम्पर्क देखिएको अधिकृतहरु बताउँछन् । राहुलले चिनियाँ नागरिक दावोजिन वाङलाई १३१ पटक फोन गरेको कल डिटेल रेकर्डमा देखिन्छ भने वाङले उनलाई ६४ पटक फोन गरेका छन् ।

राहुलले सुन तस्करीमा संलग्न चिनियाँ नागरिक लुईका सवारी चालक लोकेन्द्र पौडेललाई पनि २६ पटक फोन गरेको देखिन्छ । जेठा छोरा निर्मललाई चिनियाँ नागरिक लुई र दावोजिन वाङले पनि ११/११ पटक सम्पर्क गरेको तथ्य प्रहरीले फेला पारेको थियो ।

राहुलको हकमा उनले सुनसहितको भेप छुटाइदिन भन्दै पटकपटक भन्सार कार्यालयका अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरेका थिए । श्रेष्ठ स्वयंले पनि बयानमा राहुलले जफत भएको भेपको लिलामी प्रक्रियाबारे सोधपुछ गरेको बताएका थिए ।

राहुल स्वयं सुन तस्करीमा संलग्न चिनियाँ नागरिकहरुलाई लिएर विमानस्थल भन्सार कार्यालय पुगेको तथ्य पनि सीआईबीले फेला पारेको छ । उनीहरुसँगै जाने अर्का एक व्यक्तिसँगको बयानबाट चिनियाँ नागरिकलाई लिएर राहुल भन्सार पुगेको खुलेको अधिकृतहरु बताउँछन् ।

‘राहुललाई हिरासतमा राखेर अनुसन्धान गर्न पर्याप्त आधार प्रमाण संकलन गरेपछि उनलाई नियन्त्रणमा लिएका हौं’, सीआईबीका एक अधिकृतले भने, ‘महराको हकमा पनि सोधपुछ र बयान हुनसक्छ, अर्का छोरा निर्मलको हकमा अनुसन्धान भइरहेको छ ।’

६० किलो सुन र भेप प्रकरण जोडियो

सीआईबी स्रोतका अनुसार, अनुसन्धानका क्रममा भेपमा लुकाएर ९ किलो सुन ल्याउने समूह र ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुबीच सम्पर्क हुने गरेको देखिएको छ ।

‘कतै दुवै एउटै गिरोह हो कि भन्ने विषयमा पनि छानबिन भइरहेको छ’, सीआईबीका एक अधिकृतले भने, ‘हाललाई दुवै प्रकरणका आरोपीबीच कुराकानी र भेटघाट हुने गरेको तथ्य फेला परिसकेको छ ।’

सीआईबी स्रोतका अनुसार, ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङको सम्पर्क भेपमा लुकाएर भएको सुन तस्करीका नाइके भनिएको दावोजिन वाङसँग पनि देखिएको छ ।

दावाका सहयोगी किशोर बस्नेतलाई पनि प्रहरीले दिल्लीबाट पक्राउ गरेर ल्याएको छ । उनीमार्फत दावाले हङकङबाट सुनसहितका सामग्रीहरु मगाएको पाइएको अधिकृतहरुको भनाइ छ । किशोरको सम्बन्ध पूर्वसभामुख पुत्र राहुलसँग पनि देखिएको छ ।

बुधबार राहुललाई पक्राउ गरेसँगै सीआईबीले भेपमार्फत तस्करी भएको ९ किलो सुन तस्करी गर्ने गिरोहबारे पनि अनुसन्धानको फाइल खोलेको छ । यसअघि प्रहरीले आपराधिक विश्वासघात र संगठित अपराधमा मात्रै मुद्दा चलाएर सुन चोरीमा संलग्नलाई कानुनी दायरामा ल्याएको थियो भने अब सुन तस्करी गर्नेविरुद्ध अनुसन्धान सुरु भएको राहुलको पक्राउले संकेत दिएको छ ।

दोस्रो चरणको अनुसन्धानका क्रममा प्रहरीले राहुललाई सुन तस्करीमा संलग्न व्यक्तिका रुपमा जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेको छ । ‘यो छुट्टै मुद्दा भएकाले थप ६० दिन हिरासतमा राखेर अनुसन्धान हुन्छ, यसक्रममा सुन तस्करीमा संलग्न चिनियाँ नागरिकहरुको पनि खोजी हुनेछ’, सीआईबी स्रोतले अनलाइनखबरसँग भन्यो ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?