
हाम्रा सडकमा प्रवेश गर्दै हुनुहुन्छ भने केही आधारभूत ज्ञान, सीप र कला तपाईंसँग हुनैपर्छ। जस्तो: यो देशमा सबैभन्दा हतार मोटरसाइकललाई हुन्छ भन्ने तत्त्वज्ञान तपाईंले पहिल्यै प्राप्त गरेको हुनुपर्छ। तपाईं एम्बुलेन्स, शववाहन वा दमकल आदि चलाउँदै हुनुहुन्छ भने पनि जस्तोसुकै साँघुरो, अप्ठेरो वा उबडखाबडयुक्त सडक भए पनि थपक्क मोटरसाइकललाई साइड छोडिदिने गर्नुपर्छ।
मोटरसाइकलले गलत लेन र विपरीत दिशाबाट आएर तपाईंको गाडीलाई ठक्कर दियो र बाटो छेकेर उल्टै तपाईंलाई थर्कायो भने पनि थर्किने सीपको विकास गर्न नबिर्सिनुस्। ठक्कर मोटरसाइकलले दिएको भए पनि गल्ती तपाईंको हुन्छ। ‘म मेरै लेनमा छु’ ‘ट्राफिक नियम पालना गरेकै छु’ भनेर धर पाइन्न।
आकारमा मोटरसाइकल भन्दा ठूलो हुनु नै तपाईंको सबैभन्दा ठूलो गल्ती हो। यस सन्दर्भमा एउटा अलिखित तर सार्वभौम नियम नै प्रचलनमा छ। जस अनुसार सवारी दुर्घटना भयो भने जुन सवारी साधनको साइज ठूलो हुन्छ नि:सन्देह गल्ती उसैको हुन्छ। यसका अघि सीसीटीभी फुटेज, चश्मदीद गवाह, दसी प्रमाण, प्रचलित कानुन आदि बेकारका कुरा हुन्।
*** *** ***
तपाईं बाइक लिएर सडकमा प्रवेश गर्दै हुनुहुन्छ भने सारा ट्राफिक नियमहरू मानिरहनुपर्ने जरूरत पर्दैन। आफ्नो सुविधा अनुकूल कुन नियम मान्ने कुन नमान्ने अधिकार तपाईंकै हातमा हुनेछ। ट्राफिक नियम सबै मान्ने भए बाइक किनेको मतलब नै भएन नि !
त्यसैले बाइक चलाएपछि लेन, जाम, वन-वे, जेब्राक्रसिंग, नो पार्किंग आदिसँग परिचित हुनै पर्दैन। किनभने सबै ठाउँमा ट्राफिक प्रहरीको उपस्थिति संभव हुँदैन। यसपछि ओभरटेकमा तपाईंले सिद्धता प्राप्त गर्नुहुनेछ भने ठोकठाकमा विद्वत्ता प्राप्त गर्नुहुनेछ। हप्कीदप्कीमा श्रेष्ठता र लेन अनुशासनहीनतामा विज्ञता हासिल गर्नुहुनेछ।
हाम्रा सडकका अलकत्रा पनि यति खतरा छन् कि बाइक चलाउन थालेपछि तपाईं राजमार्गीय दादागिरीमा एकाएक उस्ताद भएर निस्कनुहुनेछ। माटो सुहाउँदो राजनीतिक व्यवस्था भने झैं अलकत्रा सुहाउँदो सवारी साधन भनेकै बाइक हुन्। हाम्रा सडकमा बढ्दो बाइकको संख्या र तिनको बढ्दो अराजकताले यो कुरालाई पुष्टि गर्दैन र ?
*** *** ***
साइकल चलाउँदै हुनुहुन्छ भने आफूले आफूलाई अपराधी झैं सम्झिने बानी बसाल्नुस्। हीनताबोध गर्न अभ्यस्त हुनुस्। एक त त्यति सस्तो, सानो र बकम्फुसे सवारी साधन! त्यसमाथि कछुवाको गति। न धुवाँ फाल्या छ, न आवाज निकाल्या छ, न हर्न, न होहल्ला! टिङरिङ् टिङरिङ् घण्टी बजाएको भरमा किन गन्नु साइकललाई !
गन्नुपर्ने सरकारले त गन्दैन भने अरूले किन गन्ने? द्रुत गतिमा आएको बाइक, कार वा त्यस्तै कुनै सवारी साधनको हावाको एकै झोंक्कामा ढल्ने बबुरो साइकलको यत्रा–यत्रा नगर/महानगरमा के भ्याल्यू! खानामा ढिंडो र सवारी साधनमा साइकल उस्तै हुन्। यिनको मूल्य जति घटे पनि माग बढ्नेवाला छैन।
अर्थशास्त्रले पनि यही भन्छ। केही बुझक्कडहरू पर्यावरण, इकोसिस्टम, ग्रीन हाउस आदिको हवाला दिंदै भन्ने गर्छन्- ‘साइकलका दुई पाङ्ग्रामा नै अडेको छ यो धराको भविष्य।’ त्यस्तो हो भने त ‘मानवका दुई खुट्टामा अडेको छ यो धराको भविष्य’ भने पनि त भयो नि !
*** *** ***
ठिक्क स्पिडमा चलाउनु हुन्छ, लेन अनुशासनमा दुरूस्त, ओभरटेकमा सुस्त र ट्राफिक नियमको पालनामा मस्त, पार्किङमा पोख्त, धैर्यमा अभ्यस्त, सवारी नियममा प्रष्ट हुनुहुन्छ भने सडकमा प्रवेश नै नगर्नुस्। दु:ख पाउनुहुनेछ। अनेकौं उल्झनमा अल्झिनुहुनेछ। यहाँको सडकीय समाजले तपाईंको मजाक उडाउनेछ।
बीसौं वर्षको चालकीय अनुभव भए पनि तपाईंलाई सिकारू करार गरिदिनेछ। डरछेरुवा र हुतिहारा उपमा दिनेछ। गाडी, बाइक होइन रिक्सा, साइकल वा ठेलागाडा चलाउने वा पैदल जाने सल्लाह दिनेछ।
*** *** ***
द्रुत गतिका सवारी साधन लिएर सडकमा छिरेपछि रफ चलाउनु आफ्नो मौलिक अधिकार ठान्नुस्। अनि अरूले तुच्छ गल्ती गरे बबाल मच्चाउनुस्। रफ चलाएपछि कुनै न कुनै दिन त दुर्घटना हुने निश्चितै छ।
तपाईंकै गल्तीको कारण दुर्घटना भयो भने पनि मेरो गल्ती छँदै छैन भन्दै चर्को चर्को स्वरले कुरा गर्नुस्। बडे बडे भीआईपीको नाम लिंदै फोन लगाउने चेष्टा गर्नुस्। पाखुरा सुर्कनुस् । लठैत र भुसतिघ्रेहरू भेला गर्न सक्नुहुन्छ भने त्यो पनि गर्नुस् । बुरुक बुरूक उफ्रिनुस् । उफार्नुस् ।
उस्तै परे एकाध मारमुङ्ग्री पनि बर्साउनुस् । उस्तै कमलो दिलको र यो देशको सडकको सिस्टम बुझेको मनुवा रै’छ भने उसैले आफ्नो गल्ती स्वीकार्छ र सरक्क तपाईंलाई क्षतिपूर्ति तिरेर खुरूक्क आफ्नो बाटो लाग्छ। उपायै नभएपछि उसको यो मात्र एक उपाय हो ।
हाम्रा सडक र राजनीति दुवैतिर चलेको अभ्यास नै यही हो ।
कुनै झूटलाई हजारपल्ट सही हो भनेर अड्डी कसेपछि त्यो सत्य हुन्छ भन्ने हिटलरका सञ्चार मन्त्री गोयबल्सको अभ्यास थियो। यही गोयबल्सीय मोडेलको प्रयोग नेपालको राजनीतिमा एक पटक होइन दुई पटक होइन पटक–पटक भैसकेको छ। सडकमा पनि त्यही हाल छ।
जसले ठूला–ठूला राजनीतिक अपराध, असंवैधानिक काम र ‘कु’ गरेको छ उसैले त्यसैलाई जनहितकारी कदम भन्दै जोड-जोडसँग नारा लगाउँदै जुलुस निकाल्दै गोयबल्सगिरी गरेको विगत छ वर्तमान छ। भविष्यमा नहोस्- कामना गरौं ।
*** *** ****
मानिलिनुस् अनियन्त्रित गतिमा भएको एउटा असाध्यै महँगो कार/जीपले तपाईं वा तपाईंको सवारी साधनलाई ठक्कर दियो। त्यसपछि तपाईं गम्भीर घाइते हुनुभो वा सिल्टिम्मुर खानुभो भने पनि गल्ती तपाईंको हुन्छ। त्यो कसरी ? भन्नुहोला।
महङ्गो सवारी साधनले यो देशमा गल्ती अपराध गर्ने संभावनै छैन। गरे पनि त्यो क्षम्य हुन्छ। दण्डरहित हुन्छ। त्यस्ता अपराध कानुनको दायरा त परको कुरा समाचारको दायरामा पनि आउन्नन्। समाचारको दायरामा आइहाले कानुनको दायरामा पुग्दैनन्। कथम् कानुनको दायरामा पुगिहाले सफाइ निर्विकल्प हुन्छ।
किनभने महङ्गो कार/जीपहरू आफ्नो डिकीमा कानुन पनि लिएर गुडेका हुन्छन्। धेरै नै महंगो सवारी साधन भए डिकीमा राज्य र हत्केलामा कानुन नै बोकेर हिंडेका हुन्छन्। राज्य र कानुन बोकेर गोयबल्सगिरी गर्दै हिंड्ने सवारी साधनसँग जोरी खोजेर पार पाइन्छ? पटक्कै पाइन्न।
यस सन्दर्भमा लोकगायक स्व. प्रवीण गुरूङ र गोर्खाली चेली स्व. लीला देवकोटाप्रति हार्दिक श्रद्धाञ्जली !
*** *** ***
आफ्नो सवारी साधनको हर्न बजाइरहन नबिर्सिनुस्। हर्न यसरी बजाउनुस् कि सामुन्नेको अर्को सवारी वा यात्रु यो आवाज सुनेर तर्सियोस्। यसबाट तपाईं र तपाईंको सवारी साधनको इज्जतको उचाइ बढ्छ।
ट्राफिक लाइटको कारणले एकछिन रोकिनुपर्दा होस् वा अगाडि बाटो खराब भएको कारणले स्पिड स्लो गर्नुपरेको किन नहोस् अथवा प्रहरी चेकिङ्गको कारण एकछिन सुस्त हुनुपरेको किन नहोस् वा जेब्रा क्रसिङ्गबाट बाटो क्रस गरिरहेका भुईंमनुवाहरू देख्नुभएको नै किन नहोस् हर्न चाहिं बजाइहाल्नुस्।
किनभने हर्न भनेको हेर्नको लागि होइन बजाउनकै लागि हो। सजाउनको लागि होइन सुनाउनकै लागि हो। हर्न बजाएपछि कथम् दुर्घटना भइहाले ‘मैले हर्न बजाएकै हो’ भन्दै ‘गोयबल्सगिरी’ गर्न पनि पाइन्छ।
*** *** ***
रसिक चालकजीहरू बाटोमा रूपसी देखे बाटो हेर्न बिर्सिदिनुस्। सुन्दरताको परख गर्न छोडेर हिलाम्मे वा धुलाम्मे बाटोको परख किन गर्नु? त्यसैले फर्की फर्की हेर्नुस्।
दोहोर्याई तेहेर्याई धीतमरुञ्जेल हेर्नुस् र आफ्नो सवारी साधनलाई एकाध स्टण्ट देखाउन पनि अह्राउनुस्। किनभने दिलको अगाडि दुर्घटना भनेको तपसिलको कुरा हो।
*** *** ***
बिस्कुन सुकाउनुस् वा कार्पेट सुकाउनुस् वा सिरक डसना बनाउनुस् त्यो सडकमै हो। ग्यारेज खोल्नुस् वा म्यारिज खेल्नुस् वा म्यारिज गर्नुस् त्यो पनि सडकमै हो।
किराना पसल, होलसेल वा खुद्रा पसल त झन् भन्नै परेन। आँगन बनाउनुस् वा दलान बनाउनुस् वा खेल मैदान बनाउनुस् त्यो पनि सडकमै हो।
तान लगाउनुस् वा शान देखाउनुस् त्यो पनि सडकमै हो। चेस वा लुँडो वा बाघचाल वा क्यारिम बोर्ड- यी खेलका लागि सडक भन्दा उम्दास्थल दुनियाँमा कतै छ त? अहँ छैन।
सडकमा त्यति पनि गर्न नपाए सरकारलाई कर तिरेको के अर्थ? दललाई भोट हालेको के अर्थ? पार्टीमा लागेको के अर्थ? लोकतन्त्र र गणतन्त्र ल्याएको के अर्थ?
*** *** ***
घरपालुवा दोपाया या चौपाया जेसुकै हुन् ती छोड्ने पनि सडकमा नै हो। बाँध्ने पनि सडकमै हो। एकैछिनलाई मानौं, यात्रारत कुनै सवारी साधनले मध्य सडकमा चरिरहेको कुखुरा मार्यो। मध्य सडकमा मस्तले चारो टिपिरहेको कुखुरा दिनदहाडै यसरी मार्न पाइन्छ? कदापि पाइन्न। यसमा अबोध कुखुरा दोषी हुने कुरै भएन। छाडा छोड्ने कुखुरा मालिक त झन् कसरी दोषी होस्। हुँदैन।
दोषी को हुन्छ त ? सवारी साधन चलाउने चालक हुन्छ। राजमार्गमा कुखुराको त्यत्रो भव्य सवारी नदेख्ने वा देखेर पनि अनदेखा गर्ने सवारीधनी हुन्छ। यो पनि अर्को अलिखित नियम हो।
सडक त सवारी साधनको होइन नि! कुखुराहरूको पो हो, मगमग बासना आउने बोकाहरूको पो हो, ढलक्क ढलक्क ढल्किने हाँसहरूको हो, च्वाँ च्वाँ गर्ने सुँगुर इत्यादिहरूको हो। जसले सडकमा यिनलाई चर्न, क्रीडा गर्न र अन्य पशुसुलभ गतिविधि गर्न रोक लगाउँछ त्यो नासमझ हो। अपराधी हो।
अब सवारीधनीले मरेको कुखुराको क्षतिपूर्ति तिर्नैपर्छ। कति तिर्नुपर्छ? यसको पनि आफ्नै काइदाको हिसाबकिताब छ। यस अनुसार मरेको कुखुराको वर्तमान बजार मूल्य होइन कि त्यसको भविष्यको संभावित आम्दानीलाई आधार मानेर क्षतिपूर्तिको गणना गर्ने सिद्धान्तलाई फलो गर्नुपर्छ।
यो सिद्धान्त अनुसार कुखुरोको बजार मूल्य मर्नुअघि एक हजार थियो भने सवारी साधनले ठक्कर दिएर मर्नासाथ स्वत: पाँच हजार वा सोभन्दा बढी हुनेमा कुनै शंका छैन। नत्र तोडफोड, चक्काजामको विकल्पै छैन। त्यसैले सडकमा कुखुरा पालन गरौं; मालामाल बनौं।
*** *** ***
तपाईं पैदल यात्री हुनुभो भने आफूलाई जहाँबाट मन लाग्छ त्यहींबाट बाटो काट्ने गर्नुस्। जेब्रा क्रसिङ ओभरहेड ब्रिज खोज्न थाल्नुभो भने या त भेट्टाउनुहुन्न भेट्टाइहाले त्यस्ता ठाउँबाट बाटो काट्ने भन्दा अन्यत्रबाट बाटो काट्नेहरू धेरै भेट्टाउनुहुनेछ।
‘यहाँ फोहोर फाल्ने फलानो हो’ भनेर अपशब्दहरूका साथ गालीयुक्त चेतावनी लेखेर टाँसेको ठाउँमै सबैभन्दा बढी फोहोर थुप्रिएको देख्नुभएको छ? हो, ठ्याक्कै त्यही मोडलमा हाम्रा आकाशे पुलहरू खाली हुन्छन् तर ठीक पुलमुनिबाट बाटो काट्नेहरूको भीड हुन्छ। हुन पनि हो’ पुल तर्न थाले कहिले हो कहिले: पुल मुनिबाट गए अहिलेको अहिले।’
यसरी बाटो काट्दा अमूक सवारी साधनले ठक्कर दिइहाले अपराध उसैको हुने अर्को सार्वभौम नियम छँदैछ। यो नियमले काम नगरे गोयबल्सगिरी त छँदैछ। पैदल यात्रीको दोष देखाउने कसको पिताम्!
त्यसैगरी सडकमा हिंड्दा सडकपेटी खुल्ला भए पनि त्यताबाट हिंड्ने काम बन्द गर्नुस् । ती त फुटपाथ व्यवसाय र मिचमाचका लागि हुन्। हात हल्लाई हल्लाई बाटो ढाकेर मूल सडकबाटै हिंड्ने गर्नुस्।
अझ साथीभाइ साथमा भए त एकअर्काको काँधमा अँगालो हालेर ‘देउडा पोज’ बनाउँदै हिंड्ने गर्नुस्। यसो गर्दा तपाईंको शान, मान बढ्नेमा सन्देह रहेन। यहाँ पनि अमूक सवारी साधनले ठक्कर दिइहाले अपराध उसैको हुने अलिखित तर सार्वभौम नियम छँदैछ। पेटीबाट किन नहिंडेको भनेर सोध्ने पिताम् कसको?
*** *** ***
तपाईं सार्वजनिक यातायात अर्थात् बस, ट्रक, ट्रिपर, माइक्रोबस, ट्याक्सी आदि चलाउँदै हुनुहुन्छ भने सडक भन्ने चिज सरकारले तपाईंलाई दाइजो दिएको हो भन्ने कुरामा ढुक्क हुनुस्। यो ढुक्कपनले तपाईंको कन्फिडेन्स् लेभल ह्वात्तै बढ्नेछ र झिनामसिना सवारी साधन र पैदल यात्रुलाई गनिरहने झण्झटबाट मुक्ति दिलाउँछ।
यसो भएपछि यात्रु र अन्य सेवाग्राहीहरूले छिटोछरितो सेवा पाउनेमा सन्देह रहँदैन। एकाध दुर्घटनाको पछि लागेर साध्य पनि चल्दैन नि! दुर्घटना भनेको हुँदै गर्छ, मिल्दै गर्छ। नमिल्ने भए आजसम्म यो देशमा ट्रिपरको दादागिरी उन्मूलन भैसकेको हुनेथियो र धेरैको ज्यान बच्थ्यो।
हुन पनि हो पब्लिक अर्थात् जनताको सवारी साधन चलाएपछि जनताको बारेमा सोच्न पाउनु र सोचाइ अनुरूप व्यवहार गर्न पाउनु नैसर्गिक अधिकार नै हो। जनताबाट मत लिएकाहरूको गतिविधि हेर्नुस् त काटीकुटी मिल्दैन त तपाईंहरूसँग?
तपाईंको सवारी साधनमा जनता चढ्नासाथ बीसको भाडालाई बाईस भन्नुस् अनि तीन रुपैयाँ खुद्रा छैन भन्दै पच्चीस असुल्नुस्। मिटरमा जाउँ भन्नेलाई मिटर निकालेर त्यसैमा चढेर जानू भन्दिनुस्।
सेवाको गुणस्तर खोज्ने एकाध लालबुझक्कडहरूलाई त्यस्तो चाहिए आफैं गाडी किनेर चढ्नू भनेर सल्लाह दिन नबिर्सिनुस्। तब न सार्वजनिक यातायात!
*** *** ***
हाम्रो देशका इञ्जिनियरहरू बहुत राम्रा राम्रा सडक बनाउन सक्छन्। अनि सडक बनाएभन्दा अझ राम्रोसँग ढलको मंगलको ढक्कन फिट गर्न सक्छन्। तब न हाम्रा एकाध सडक ‘अफ्रिकन सुन्दरीका गाला’ जस्ता चिल्ला भए पनि ती सडकका ढलको मंगलको ढक्कन भने टाउकोका टुटुल्का जस्ता छन् । खस्रा सडकका त कुरै गर्नु परेन।
नजाने कति जना यस्ता ढक्कनको आतिथ्यता ग्रहण गरेर अस्पताल हुँदै आईसीयूको बाटो तय गरे। यो पंक्तिकारले पनि कैयौंपल्ट यस्ता कलात्मक ढक्कनको आतिथ्यता ग्रहण गर्ने सुअवसर प्राप्त गरेको छ।
जति धेरै खाल्टाखुल्टी र टुटुल्का उति धेरै रिपेयर एण्ड मेन्टिनेन्स। जति धेरै रिपेयर एण्ड मेन्टिनेन्स उति धेरै रोजगारी। जति धेरै रोजगारी उति धेरै आम्दानी र राजस्व। यति बुझ्नुभो भने सडकमा खाल्टाखुल्टी र टुटुल्का देखेपछि तपाईं पक्कै रिसाउनुहुने छैन।
बरू दंगदास पर्नुहुनेछ अनि खाल्टाखुल्टी र टुटुल्का नभए स्पिड ब्रेकरको नाममा लामा लामा सडकीय थुम्का सिर्जना गर्नतिर लाग्नुहुनेछ। यी थुम्काको महत्व पनि ती टुटुल्का र खाल्टाखुल्टीको महत्व भन्दा कुनै मानेमा पनि कम छैन।
यी टुटुल्का, थुम्का र खाल्टाखुल्टीको कारण दुर्घटनामा परेर कति घाइते भए होइन कि कतिले सहज यात्रा गरे त्यो तथ्यांक हेर्ने हो। त्यो हेर्दा त सकुशल यात्रा गर्नेको संख्या कता हो कता धेरै हुन्छ होइन र? नेगेटिभ कुरो किन गर्ने?
प्रतिक्रिया 4