
१४ भदौ, काठमाडौं । मनसुन निष्क्रिय भएकाले तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् ।
आज, भोलि र पर्सि तीन दिनसम्मै लगातार ठूलो पानी पर्ने सम्भावना नरहेको वरिष्ठ मौसमविद बरुण पौडेलले बताए ।
उनका अनुसार काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशमा बादल लागेको छ । तराई तिर भने घाम लागेको छ । ‘तर लगातार ठूलो वर्षा हुने सम्भावना छैन,’ उनले भने, ‘काठमाडौंमा पनि शीतल छ । तर तुरुन्तै पानी पर्ने देखिँदैन ।’
उनका अनुसार कोशी प्रदेशको संखुवासभा लगायतका एक-दुई स्थानमा हल्का वर्षा भएको छ । तर झरी जस्तो भने छैन ।
आज र भोलि बेलुकाको समयमा पूर्व र मध्यका पहाडी भेगहरुमा तथा पोखरा आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
तुलनात्मक हिसाबले भोलि (शनिबार) कोशी, बागमती र गण्डकीको हकमा एक-दुई ठाउँमा मात्रै भारी वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद पौडेलले जानकारी दिए ।
‘अहिले मनसुन सक्रिय छैन । नयाँ प्रणाली पनि तत्काल आउने देखिंदैन,’ वरिष्ठ मौसमविद् पौडेलले भने, ‘तत्काल झरी, बाढी-पहिरोको सम्भावना पनि छैन ।’
जल तथा मोसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले पनि आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, बाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सामान्य घटबढ रहने र बाढीको जोखिम न्यून रहने पूर्वानुमान गरिएको जनाएको छ ।
प्रतिक्रिया 4