१४ भदौ, काठमाडौं । युरोपेली फुटबल महासंघ यूईएफएका अध्यक्ष अलेक्जेन्डर सेफेरिनले साउदी अरेबियाका क्लबले च्याम्पियन्स लिग र युरोपा लिग खेल्ने कुनै संभावना नरहेको बताएका छन् ।
उनले युरोपबाहिर च्याम्पियन्स लिगको फाइनल खेलाउने सम्भावना पनि नरहेको उनले स्पष्ट पारेका मार्काले लेखेको छ ।
विश्वका स्टार खेलाडीहरु धमाधम साउदी अरेबियाका क्लबमा आवद्ध हुन थालेपछि केही सञ्चार माध्यमले साउदीका क्लबले युरोपियन क्लबहरुले खेल्ने च्याम्पियन्स लिग र युरोपा लिगमा समावेश हुने बारेमा बहस चलाउन थालेका थिए ।
तर सेफेरिनले त्यस्तो कुनै संभावना नभएको बताउँदै भने, ‘एउटा सञ्चार माध्यमले हामीसँग कुरै नगरी यसबारेमा बोलेको थियो ।’
उनले अघि थपे, ‘हाम्रो युरोपका क्लबहरु मात्र च्याम्पियन्स लिग, युरोपा लिग र कन्फेरेन्स लिगमा सहभागी हुन सक्छन् ।’
साउदीको लिगको तुलना चिनियाँ लिगसँग
उनले साउदी अरबको अहिलेको क्लब फुटबललाई केही वर्षअघिको चीनको क्लबको फुटबलसँग तुलना गरे । केही वर्षअघि युरोपका केही स्टार खेलाडी चिनियाँ क्लबमा आवद्ध भएका थिए ।
‘हामीले यस्तै खालको स्थिति केही समयअघि चीनमा देखेका थियौं,’ उनले भने, ‘करिअरको उत्तरार्धमा रहेका धेरै खेलाडी राम्रो पैसामा चीन गएका थिए ।’
चिनियाँ क्लब सांघाई एसआईपीजीले २०१६ मा १३० मिलियन युरोमा ब्राजिलका दुई खेलाडी ओस्कर र हुल्कलाई भित्र्याएको थियो । त्यसअघि नै विश्वकप विजेता प्रशिक्षक मार्सेलो लिप्पी र लुइज फेलिप पनि चिनियाँ क्लबमा आवद्ध भएका थिए ।
तर कोरोना महामारी सुरु भएपछि चिनियाँ फुटबल ओरालो लाग्यो । कतिपय चिनियाँ क्लबहरु नै आर्थिक संकटमा परे । युरोपेली र अन्य देशका खेलाडी भित्रिने क्रम रोकियो । त्यसपछि चीनले चर्चित खेलाडी आकर्षण गर्न सकेको छैन ।
युरोपका खेलाडी भित्र्याउँदैमा चीनले फुटबल विकास गर्न नसकेको उल्लेख गर्दै उनले थपे,’ त्यसपछि उनीहरु विश्वकपमै छनोट हुन सकेनन् ।’
विश्वका स्टार खेलाडीलाई मोटो रकममा क्लबमा आवद्ध गराउँदैमा देशको फुटबल विकास नहुने सेफेरिनले बताए । ‘ यो तरिका ठिक होइन। उनीहरूले खेलाडी र प्रशिक्षकको विकासमा काम गर्नुपर्छ,’ उनले भने, ‘तर यो मेरो समस्या होइन ।’
यूईएफएका अध्यक्ष सेफेरिनले युरोपमा करिअरको शिखरमा रहेका उत्कृष्ट खेलाडीहरु साउदी नगएको दाबी पनि गरे । ‘त्यहाँ जाने खेलाडीहरू आफ्नो करिअरको अन्त्यमा छन् र अरू जोसँग शीर्ष प्रतियोगिता खेल्ने महत्वाकांक्षा छैन,’ उनले थपे, ‘मेरो जानकारीमा भएसम्म एमबाप्पे र हालाण्डको सपना साउदी अरब होइन ।’
‘जब मानिसहरू मसँग त्यहाँ गएका खेलाडीका बारेमा कुरा गर्छन्, कसैलाई थाहा हुँदैन उनीहरू कहाँ खेल्दैछन्,’ उनले थपे ।
युरोपेली फुटबलमा मात्र नभएर विश्व फुटबलमै नाम कमाएका क्रिस्टियानो रोनाल्डो, नेमार, करिम बेन्जामा, एनगोलो कान्टे, रोबर्टो फिर्मिन्हो, सर्जियो मिलिनकोभिक, रियद महरेज, साडियो मानेलगायतका खेलाडी साउदी क्लबमा आवद्ध भएका छन् ।
प्रतिक्रिया 4