
यसो गरे पनि हुन्छ
उसो गरे पनि हुन्छ
यही गर्ने भन्ने निश्चित नहुँदा
सही या गलत केही हुन्न
गर्न त केही पर्यो
तर आखिर जे जसो गरे पनि हुन्छ।
मन्दिर धाए पनि हुन्छ
भित्र पसेर घण्टी बजाए पनि हुन्छ
बाहिर बसेर मौसम र राग अनुसार
भजन गाए पनि हुन्छ
संस्कृति/विकृति सबै हेर्ने दृष्टिकोण हुन् आफैंले बनाएका
ऐनमौका अनुसार
सजिलो पर्छ भने
केही फरक पर्दैन
आफूलाई पूरापूर नास्तिक बनाए पनि हुन्छ।
समयले सुन्नैपर्ने बनायो भने
अरुका कुरा सुने पनि हुन्छ
आफैं जान्दछु भन्ने लागे
कतैबाट सिक्नैपर्छ भन्ने छैन
जानेका सबै सबै भने पनि हुन्छ
सहभागिता/सुशासनका त आ-आफ्नै हुन्छन् परिभाषा
नचाहिंदा त ठिकै छ नसम्झनु
दुःख पर्दा पुराना साथीभाइलाई गने पनि हुन्छ।
परिस्थितिले कहिले वस्त्र फेर्न बाध्य पार्छ
कहिले अस्त्र फेर्न अनुकूल परिस्थिति पार्छ
फेरेपछि
अलिकति चेहरा फरक देखिएला
अलि अलि बानीव्यहोरा फरक देखिएला
कतैबाट हेर्दा अझै सर्वहारा देखिएला
कतैबाट अल्लि सामन्ती पारा देखिएला
हेर्नेहरू रूपमा अल्मलिएलान्
कुरो खास सारको हुन्छ
आफू दृढ भए के पर्छ
हल्ला त कतिपय बेकारको हुन्छ।
हिंड्ने हो निरन्तर
उकालो चढे पनि हुन्छ
ओरालो झरे पनि हुन्छ
गतिशीलता हो लक्ष्य, यो अपरिवर्तनीय छ
स्थिर पो रहनुभएन,
हिंड्दै जाँदा
यात्रा त-
कहिले दायाँको गरे पनि हुन्छ
कहिले बायाँको गरे पनि हुन्छ।
प्रतिक्रिया 4