
लिस्बन शहरको एउटा गल्लीमा
अहो घाम झुल्किसकेछ
उठ्नैपर्यो सबेरै
दिनै पर्यो गमलाको फूललाई पानी
दौडनैपर्यो हतार हतार मेट्रो समाउन
काममा जानुछ उसलाई
नई दिल्लीको झुपरपट्टीमा
अहो घाम एक टाङ्गो चढिसकेछ
गर्नैपर्यो तयारी
सेक्नैपर्यो रोटी
भाग्नैपर्यो ‘जल्दी ‘
‘बापुजी’ लाई खाजा पुर्याउन जानुछ ।
न्यूयोर्क शहरको एउटा कुनामा
घामले आकाशको निलोपाटीमा
बादलको डस्टरले
आधा दिन मेटाइसकेछ
थुन्नैपर्यो पसल एक छिनलाई
गर्नैपर्यो हतारहतार
नानीको स्कुल पुग्नुछ मिटिङमा ।
पूर्वी नेपालको अग्लो डाँडैमा
घाम अस्ताउन लागेछ
दिनभर चरिसकेका गाईवस्तुहरु
फर्काउनैपर्यो गोठतिर
बाँध्नैपर्यो दाम्लाले
भोलि पानी परेन भने
फुकाउनै छ फेरि गाईबस्तु
लैजानैछ फेरि चराउनलाई
हत्तुहैरानै छ
दिल बहादुर दाइकी छोरी हाङमालाई ।
यसो सोचिहेर्छु त
राती एक मीठो निन्द्रा निदाउनलाई
हामी आम मान्छेहरू
हाङमाले गाईबस्तुको गोठालो गरे झैं
आकाशको विशाल चरनमा
हरेक बिहान जुरुक्क उठेर
कतै घाम फुत्केला कि भनेर
घामको गोठालो गर्न अभिशप्त रहेछौं
र जो थोरै बाँकी रहन्छौं
शहरको रात्री ढुकढुकी बचाइराख्छौं
भोलिको एउटा दिन आराम गर्नलाई
आज मस्त निदाएको घामलाई
भोलि उठाउने तयारीमा जुट्छौं ।
अहो … ! हामी सबै त
घाम गोठाला पो रहेछौं ।
प्रतिक्रिया 4