१८ भदौ, काठमाडौं । कागेश्वरी मनोहरा-२ आलापोटका ३८ वर्षीय अशोक खड्का सुरुमा फुटबल खेल्थे । नेपालका लागि फुटबलमा सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्नेमध्ये एक निराजन रायमाझी र उनले सानोमा संगै फुटबल खेलेका थिए ।
तर उनलाई तेक्वान्दोको ड्रेसले लोभ्यायो । अरुले तेक्वान्दोको ड्रेस लगाएको देखेर त्यही ड्रेसमा खेल्ने इच्छा जाग्यो । व्यक्तिगत खेल भएकोले पनि तेक्वान्दो रोजेको उनी बताउँछन् ।
सानो र होचो भएकोले कम तौल हुँदा उनले धेरै समय जुनियरमै खेल्नुपर्यो । स्कुल सकिएपछि उनले विभिन्न राष्ट्रिय प्रतियोगिताहरु खेले । उनले जिल्ला, अञ्चल, विकास क्षेत्रबाट खेल्दै पदक जिते ।
नेपाल तेक्वान्दो संघको आयोजनामा भएको सातौं राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उनले सिनियरमा खेले । जहाँ विभागीय खेलाडीहरुलाई समेत हराउँदै फाइनल पुगेका उनी फाइनलमा भने पराजित भएर रजत पदकमा रोकिए ।
‘दुई पटक साग खेलिसकेको कुमार मानन्धरसँग फाइनल थियो । जुनै धेरै प्रतिस्पर्धात्मक भयो । धेरैले म नयाँ आएको खेलाडी यसले केही गर्छ भन्ने सोच पनि थियो । तर अन्तिममा पेनाल्टीका कारण म पराजित भएँ’, उनले त्यो खेल सम्झिए ।
उनले २००२ मा कोरियन एम्बासडर प्रतियोगितामा स्वर्ण जितेका थिए ।
पूरा भएन साग खेल्ने लक्ष्य
अशोकले सुरुदेखि देखेको सपना थियो नेपालका लागि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने र पदक जित्ने ।
राष्ट्रियस्तरमा उमेर समूहदेखि सिनियर स्तरसम्म खेलिसकेपछि अब उनको नजर सागतिर थियो । तर उनले नसोचेको घटना भयो जसले उनलाई सागमा होइन अस्पतालमा पुर्यायो ।
सन् २००६ मा श्रीलंकामा भएको दशौं सागको लागि अशोकले पहिलो र दोस्रो चरणको छनोट जिते । अशोकसहित कुमार मानन्धर र सुरेन्द्र शाहीबीच अन्तिम छनोट भइरहेको थियो । तर अन्तिम चरणमा भने उनी घाइते भए ।
‘अन्तिम छनोटमा सुरेन्द्र शाहीसँग ठोक्किएर खुट्टा भाँचिएपछि म अस्पतालको बेडमा पुगेँ, साथीहरूले साग खेल्नुभयो’, अशोक ती दिन सम्झिँदा भावुक हुन्छन्, ‘अन्तिम क्षणमा घाइते हुँदा नेपालका लागि साग खेल्ने र पदक जित्ने सपना पूरा हुन सकेन । निकै नरमाइलो लागेको थियो ।’
साग खेल्ने सपना बनाएका उनी अस्पतालमा केही दिन बसेर घर फर्किए । घाइते भए पनि उनले हिम्मत हारेका थिएनन् र फेरि खेल्छु भन्ने लक्ष्य राखेका थिए । केही समय आराम गरेपछि उनले आफ्नो तौल समूहमा फेरि खेले अनि पहिलो पनि भए ।
सन् २००७ मा एउटा प्रतियोगिता खेल्न उनी भारत गएका थिए । त्यहाँ उनले झन् अर्को ठूलो चोट बेहोरे । क्वाटरफाइनलल खेल्दा उनको खुट्टा फ्याक्चर भयो । घाइते भएपछि उनको केही लागेन । सेमिफाइनल पुग्न सकेनन् । ‘त्यो एकदमै कहाली लाग्दो घटना थियो । जसले मलाई निकै भावुक बनाउँछ । देशको लागि केही गर्छु भनेर अगाडि बढेको थिएँ’, उनी सम्झन्छन् ।
त्यो चोट उनको लागि कतिमसम्म ठूलो बन्यो भने १३ महिनाको अन्तरमा उनको खुट्टाको १४ पटक अप्रेशन गर्नुपर्यो । उनको खुट्टा निकै जटिल अवस्थामा पुगिसकेको थियो ।
‘त्यतिबेला डक्टरले तपाईंले अब ग्योरोगी (फाइट विधा) खेल्न सक्नु हुन्न भन्दा निकै नरमाइलो लागेको थियो । तर अझै पनि केही गर्छु भन्ने हिम्मत राखेर मैले फेरि खेल्छु भनेको थिएँ ।’
उनलाई आफ्नो दृढ साहस र हिम्मतले फेरि खेलाडी बनायो । विस्तारै अभ्यास गर्न थाले ।
२०६८ सालमा धनगढीमा भएको छैटौं राष्ट्रिय खेलुकुदमा उनले पुम्से विधा (डेमोस्ट्रेस) मा खेल्दै स्वर्ण पदक नै जिते । त्यसपछि उनको करियर पुम्सेतिर मोडियो । पुम्सेबाटै उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर पदक पनि जिते ।
रेफ्रीमा चर्चित
चोटका कारण फाइट खेल्ने नसक्ने भएपछि पुम्सेमा लागे पनि उनको चित्त बुझेन । ओलम्पिकमा देशका स्वर्ण जित्ने लक्ष्य बनाएका अशोकले त्यो लक्ष्य पूरा नहुने ठानेपछि अर्को बाटो समाते रेफ्री बन्ने ।
‘खेलाडीबाट पुग्न नसकेपछि रेफ्रीबाट गर्न सक्छु भनेर मैले सन् २०१८ मा अन्तर्राष्ट्रिय रेफ्री कोर्स गरेँ । वर्ल्ड तेक्वान्दोले आयोजना गरेको सेमिनारमा मैले ग्योरोगी र पुम्से दुवै विधामा एकै पटक पास गरेँ । पुम्सेमा बेस्ट परफरमर समेत घोषित भएको थिएँ’, अशोकले भने ।
तेक्वान्दोको सेकेण्ड क्लास अन्तर्राष्ट्रिय रेफ्री उनले तेक्वान्दोको तीन विभा ग्योरोगी, पुम्से र पारामा रेफ्रीको मान्यता पाइसकेका छन् । उनी पाराको पनि अन्तर्राष्ट्रिय रेफ्री हुन् । उनले सन् २०१९ मा ट्युनिसियाबाट पारा अन्तर्राष्ट्रिय रेफ्रीको कोर्स पूरा गरेका थिए ।
तीनै विधामा अन्तर्राष्ट्रिय रेफ्री हुने आफू एक मात्र नेपाली जज रहेको अशोकको दाबी छ ।
‘नयाँ जर्नीको रुपमा मेरो काम सुरु भयो । त्यसपछि मैले जजको रुपमा भाग लिँदै आएँ । मैले वर्ल्ड च्याम्पियनसिप, एसियन च्यामपियनसिप देखि युथ च्याम्पियनसिप साग गराएँ । विभिन वर्ल्ड र्याङ्किङ गेमहरु करिब ३० वटा गराएँ ।’ केही समयअघि बाकुमा भएको तेक्वान्दोकको सबैभन्दा ठूलो प्रतियोगिता वर्ल्ड च्याम्पियनसिपमा उनले रेफ्रीको भूमिका निर्वाह गरेका थिए । जुन अशोक र नेपालकै लागि गौरवको विषय हो ।
अशोकले सन् २०१६ मा वर्ल्ड तेक्वान्दो एकेडेमीबाट मास्टर इन्सट्रक्टरको कोर्स समेत पूरा गरेका छन् । यसको अर्थ उनले अन्तर्राष्ट्रिय कोचहरुलाई समेत सिकाउन पाउँछन् ।
अशोकले विश्वका पाँचै महादेशका २५ देशमा गएर करिब तीन दर्जन अन्तर्राष्ट्रिय प्रतियोगितामा जजको भूमिका निर्वाह गरिसकेका छन् ।
निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउँदै आएका अशोकले रेफ्रीको प्रदर्शन र उनले गरेको भूमिकाका आधारमा अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्री छनोट गर्ने मापदण्ड रहेको बताए ।
दुई वर्षअघि नेपाल सरकारबाट उत्कृष्ट रेफ्रीको सम्मान प्राप्त गरेका उनी भन्छन्, ‘विशेषगरी मेरो मुख्य टार्गेट रेफ्रीलाई नै केन्द्रित गर्ने हो । यसमा छोटो समयमै राम्रो भइरहेको छ । अन्तर्राष्ट्रसिय जज र रेफ्रीको रुपमा अघि बढ्नेछु ।’
खेलाडीबाट पूरा गर्दै आफ्नो सपना
खेलाडी हुँदा नै मूलपानी तेक्वान्दो डोजाङमा अशोकले गुरुसँग मिलेर बच्चाहरुलाई प्रशिक्षण समेत दिने गरेका थिए ।
आफूले खेलाडीबाट सोचेको सपना पूरा गर्न नसकेपछि उनले २०१४ मा त्यसलाई नै नेपलिज तेक्वान्दो एकेडेमीको रुपमा स्थापना गरेर खेलाडीहरु उत्पादनतर्फ लागे ।
त्यसबेलासम्म उनले विभिन्न स्कुलहरुमा समेत तेक्वान्दो सिकाउँदै आएका थिए ।
खेलाडी हुँदा पूरा गर्न सकेको सपना अब प्रशिक्षक बनेर अरु खेलाडीमार्फत पूरा गर्ने उनको लक्ष्य छ । ‘खेलेर त ओलम्पिक पुग्न नसक्ने भएँ । त्यसपछि मैंले त्यो सपना किन अरु खेलाडीबाट पूरा नगर्ने भनेर मुलपानी डोजाङलाई नेपलिज तेक्वान्दो एकेडेमी बनाएँ । अब एकेडेमीबाट राम्रो खेलाडीहरु उत्पादन गरे र उनीहरुलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य छ’, छैटौं डान प्राप्त तेक्वान्दोका ग्राण्ड मास्टर उनी भन्छन् ।
उनले एकेडेमीबाट खेलाडी उत्पादन गर्ने, आफ्नो खेलाडीलाई ओलम्पिकमा पुर्याउने लक्ष्य पनि राखेका छन् । ‘राज्यले के गर्यो भन्दा पनि आफूले राज्यलाई के दिन सकिन्छ भन्ने उदेश्यका साथ राम्रो खेलाडी उत्पादन गर्न भनेर लाग्नेछौं । तेक्वान्दोमा व्यक्तिगत गेम भएकोले थोरै खेलाडी राखेर तयार पारेपनि धेरै पदक ल्याउन सकिन्छ । खेलाडीबाट गोल्ड मेडल ल्याउने सपना छ’, उनी भन्छन् ।
प्रतिक्रिया 4