+
+

दावा छिरिङसँग निकट सम्बन्ध देखिएपछि छानबिनको दायरामा परे दिपेश पुन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते १५:०२
दिपेश पुन

१९ भदौ, काठमाडौं । ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग सम्बन्ध देखिएपछि दिपेश पुन छानबिनको दायरामा परेका छन् ।

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेशको छिरिङसँग बाक्लो उठबस देखिएपछि उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान समेत लिएको छ । स्रोतका अनुसार, छिरिङसँग उनले केही कम्पनीमा साझेदारीसमेत गरेका छन् ।

‘सुनसँग जोडिनसक्ने केही कडी फेला परेकाले बयानका लागि बोलाएका हौं’, सीआईबी उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘तर, तस्करीमा उनले आफ्नो संलग्नता इन्कार गरेका छन् ।’ दावासँगको चिनजान र सम्बन्धलाई भने उनले स्वीकार गरेका स्रोतले बताएको छ ।

उनी माओवादीको विद्यार्थी संगठन अरेरास्ववियु क्रान्तिकारीका महासचिव समेत हुन् ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, दिपेश चार वर्षअघि दावासहित अन्य चिनियाँ नागरिकहरुसँग हेलिकप्टरमा गोसाइकुण्ड घुम्न गएको समेत पाइएको छ ।

०७६ माघ १ गते दावाकी श्रीमती अमला रोका र तीन चिनियाँ नागरिकसँग दिपेश गोसाइकुण्ड गएका थिए।

२०७६ को पुसमा नेपालमा बसेर अपराध गरिरहेका चिनियाँ नागरिकमाथि सीआईबीले विशेष अपरेशन चलाएको थियो । त्यसबेला उपत्यकाका विभिन्न ठाउँमा छापा मारेर प्रहरीले १२२ चिनियाँ नागरिक पक्राउ गरेको थियो । नेपालस्थित चिनियाँ दूतावासले दिएको सूचनाका आधारमा चलाइएको अपरेशनमा पक्राउको सूचीमा रहेका केही शीर्ष तहका व्यक्तिहरु छुटेका थिए ।

स्रोतका अनुसार, दूतावासले त्यसबेला दावा छिरिङको नाम पनि पासपोर्ट नम्बरसहित पठाएको थियो । तर, तत्कालीन उपराष्ट्रपति पुन, तत्कालीन आईजीपी सर्वेन्द्र खनाल लगायतसँग सम्बन्ध भएका उनीसहित केही व्यक्तिहरु उम्किन सफल भएका थिए ।

काभ्रेबाट नेपाली नागरिकता समेत लिएका दावा छिरिङको माओवादीका अरु नेताहरुसँग सम्पर्क देखिएको छ । रोल्पाकी माओवादी नेतृ अमला रोकासँग विवाह गरेका कारण पनि माओवादी नेताहरुसँग उनको सहज आउजाउ भएको देखिएको छ ।

त्यो सम्बन्धलाई दुरुपयोग गरेर दावा अवैध गतिविधिमा संलग्न रहँदै आएको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

६० किलो सुनसँग सम्बन्ध देखिएको भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा अहिले प्रहरी हिरासतमा छन् ।

३ साउनमा राजश्व अनुसन्धान विभागले सुन लुकाएर ल्याइएको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । १९ दिनपछि यसको अनुसन्धानको सम्पूर्ण जिम्मा सीआईबीले पाएको थियो । त्यसक्रममा यसमा संलग्न ६ विदेशी नागरिकसहित २५ जना पक्राउ परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?