
१९ भदौ, काठमाडौं । सरकारले न्याय सेवाको कानुन समूहबाट फणीन्द्र गौतमलाई सचिवमा बढुवा गरेको छ । उनले सत्य निरुपण तथा मेलमिलाप आयोगमा सचिवको जिम्मेवारी पाएका छन् ।
गत ५ साउनमा कानुन सचिव धनराज ज्ञवालीले निजामती सेवाबाट अवकाश पाएसँगै न्याय सेवाको कानुन समूहले नयाँ सचिव कुरिरहेको थियो ।
न्याय सेवा आयोगले गरेको सिफरिसमा गौतम कानुन समूहबाट नयाँ सचिव बनेका हुन् । आयोगमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अध्यक्ष छन् भने कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहित सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, लोकसेवा आयोगको अध्यक्ष र महान्यायाधिवक्ता सदस्य छन् ।
विगतदेखि नै आयोगले बढुवाका लागि कानुन समूहका वरिष्ठतम् सहसचिव (एक जना)को नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने गरेको छ । वरिष्ठता नमिच्ने परम्पराअनुसार हाल कानुन मन्त्रालयका प्रवक्ता गौतमले कानुन सचिवको रुपमा बढुवा पाएका हुन् ।
कानुन समूहबाट प्रधानमन्त्री कार्यालयमा लीलादेवी गड्तौला (निरौला), कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा उदयराज सापकोटा, कानुन आयोगमा तोयानाथ अधिकारीको सरुवा भएको छ । हाल कानुन समूहबाट ४ जना सचिव हुने व्यवस्था छ ।
प्रतिक्रिया 4