
काठमाडौं । भदौ २७ देखि १३ गतेसम्म बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘ह राम पण्डित’ मञ्चन हुने भएको छ । दैलो प्रोडक्सनको प्रस्तुति र भैरव पुरस्कार गुठीको सहकार्यमा मञ्चन हुने नाटकको निर्देशकमा बारत लिम्बूले छन् ।
नाटकका कलाकारमा श्रवण राना मगर, विकास जोशी, सवीर चुरौटे, सविन कट्टेल, निल्सन राई, रोशन, सन्तोष गिरी, रोशन लोहोरुङ राई, उज्वल राई, सुनिल राई, सम्झना राई, छितिज सन्तोष माझी छन् ।
मानिस मरेपछि उसले जीवनमा गरेको कर्मको आधारमा स्वर्ग र नर्कमा जानुपर्ने हिन्दू धर्मको लोकोक्तिमा यो नाटक आधारित छ । ‘मानिस मरेपछि पनि कसरी उसको पाप र धर्मको लेखाजोखा हुन्छ, कस-कसले यो काममा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेल्छन् ? चित्रगुप्तको कार्यालयले प्रशासनिक रुपमा जे जस्ता झञ्झट झमेलाको सामना गर्छ, यिनै कुरालाई नाटकमा प्रस्तुत गरिएको छ,’ निर्देशक लिम्बूले भने ।
साथै नाटकमा सेवाग्राहीले सरकारी कार्यालयका कर्मचारीबाट व्योहर्नुपर्ने झन्झट, घूस माग्ने प्रवृत्ति र हप्काइ खानुपर्नेजस्ता कुरा पनि यसमा प्रस्तुत छन् । चित्रगुप्तको कार्यालयमा पुगेको मृतकले पनि कारिन्दालाई कोसेली दिन नसक्दा ऊ पृथ्वीमै फर्कनु परेको रोचक विषय यस नाटकले प्रस्तुत गर्छ ।
नाटकमा प्रत्यक्ष संगीत नरेश गजुरेल र अर्पण महर्जनको छ । सेटलाई हुम बीसीले निर्माण र डिजाइन प्रवीण खतिवडाले गरेका हुन् । हास्यव्यंग्यकार भैरव अर्यालले लेखेको काउकुती, जयभुँडी, इतिश्री निबन्ध संग्रहभित्रको निबन्धकै आधारमा रहेर यो नाटक तयार पारिएको निर्देशक लिम्बूले बताए ।
प्रतिक्रिया 4