+
+

२३ वर्षपछि पोखरामा मनाइयो धुमधाम बाघजात्रा (तस्वीरहरू)

विकास रोकामगर विकास रोकामगर
२०८० भदौ २० गते २०:०५

२० भदौ, पोखरा । जंगलैजंगलले भरिएको पोखरा उपत्यका । कतैकतैमात्र देखिने एकाध घरबस्ती । जंगलले घेरिएको बस्तीमा बाघ पसेर हैरान ।

स्थानीयले पालेका घरपालुवा जनावरमात्रै होइन, कहिलेकाहीं त मान्छेमाथि नै आक्रमण ।

बाघको त्रासले आक्रान्त पोखरेली !

पोखरेलीको संख्या पनि थोरै । बस्ती पसेर दुख दिने बाघबाट मुक्ति पाउनै गाह्रो । गाउँलेले राजासँग बिन्ती बिसाए, ‘बाघले दिनदिनै दुख दिन थाल्यो । गाईवस्तुको पनि साह्रै क्षति भयो । यो समस्याबाट पार लगाई पाऊँ सरकार !’

पोखरेलीको माग सुनुवाइ हुने भयो । राजाले गाउँ पसेर दुख दिने बाघ मार्न सैनिक खटाउन आदेश दिए । सैनिक, शिकारीहरु खटिएर पहिले बाघ कहाँकहाँ बस्छ गौंडो पत्तो लगाए । अन्ततः सैनिकले बाघ भेट्टाए । बाघलाई लठ्याउन तन्त्रमन्त्रसहित बाजागाजा बजाइयो । अनि ३ दिन लगाएर लखेट्दै-लखेट्दै घेरा हालेर बाघ मारियो ।

बाघ मारेको क्षण राजारानी पनि स्वयं उपस्थित थिए । राजारानीको अघिपछि प्रधानमन्त्री, मन्त्री, सेनापति, सेना, प्रहरी, ज्यासीन्यासी, ढेकेग्वारा (जंगली पोशाक लगाएर ढुकेर बाघ मार्न बसेका सिकारी) सबै जम्मा भए र हर्षोल्लाषका साथ बाघ मारेको खुसियाली मनाए । मरेको बाघ बस्ती घुमाउँदै सिन्दुर जात्रा गरे ।

यो आजको पोखराको कथा भने होइन । बुधबार पोखरा रंगशालामामा मनाइएको बाघजात्राको दृश्य हो । जुन कथा, नेवारी समुदायभित्र प्रचलित छ ।

पोखरामा २३ वर्षपछि बाघजात्रा मनाइएको हो । जात्रामा सहभागी हुन पोखरेलीमात्रै होइन, भक्तपुरदेखि पनि सहभागी भएका थिए । बाघजात्रा आयोजक समितिका सदस्य केदारप्रसाद मर्सानीले परापूर्वकालमा पोखरामा बाघले निकै दुख दिएको र त्यही बाघ मारेको सम्झनामा मनाइँदै आइएको सुनाए ।

‘परावूर्वकालमा पोखरामा बाघले नोक्सान पुर्‍याउँदै गएपछि राजालाई गुहारियो । राजाले सैनिक खटाइदिनुभयो,’ मर्सानीले सुनाए, ‘सैनिकले गौंडो ढुकेर बाघ मारेपछि राजासँग जनता खुसी भए ।  त्यसैको सम्झनामा बाघजात्रा मनाउन सुरु गरिएको हो ।’

सोमबारदेखि बाघ खोज्न निस्किएका जात्राका सैनिकले ३ दिन लगाएर बुधबार पोखरा रंगशालामा फेला पारेर मारेका हुन् ।

पहिलो दिन नेवा छेंबाट बाघ खोज्न निस्किएको टोली मोहरियाटोल, बागबजार, बालमन्दिर स्कुल, बालधाराचोक, नालामुखचोक, दोस्रो दिन गणेशटोल, सिमलचौर, सिर्चजनाचोक, पृथ्वीचोक, महेन्द्रपुल क्षेत्रमा पुगेको थियो ।

तेस्रो दिन भीमसेन मन्दिर, तेर्सापट्टि, महेन्द्रपुल, रानीपौवा, माटेपानी, गौंडामुख, कुँडहरचोक, अमरसिंहचोक हुँदै पोखरा रंगशालामा पुगेर जात्राको अन्त्य गरिएको थियो ।

यसअघि पछिल्लो समय पोखरामा २०५७ सालमा बाघजात्रा निकालिएको थियो । जानकारहरुका अनुसार पोखरामा २०१४ सालदेखि भैरवटोलदेखि बाघजात्रा मनाउन सुरु गरिएको थियो ।

बाघजात्रा आयोजक समितिका सचिव सुनिल उलकका अनुसार जात्रा निकाल्न ठूलो संख्गामा कलाकार चाहिने र सोहीअनुसार खर्चालु हुने भएकाले निरन्तरता दिन रोकिएको थियो ।  तर, अब भने कोष नै खडा गरेर प्रत्येक ५/५ वर्षमा जात्रा देखाउने योजना छ ।

‘पहिले पनि आर्थिक अभावले नै जात्रा रोकिएको थियो । सबै गरेर ४, ५ सय जना कलाकार नै हुन्छन्, ३, ४ दिन मनाउँदाखेरि ठूलो खर्च हुन्छ,’ उलकले भने, ‘यसपालिदेखि कोष नै बनाएर हामीले निरन्तरता दिने भनेका छौं । अब यो निरन्तर देखाइन्छ ।’ बाघजात्रा देखाउन ३ महिनाभन्दा बढी समय लागेको समितिको भनाइ छ ।

हेर्नुहोस् थप तस्वीरहरू :

 

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?