+
+
विचार :

माओवादीको वन(जन)वास

माओवादी मार्फत जनताले खोजेको डेमागग् प्रवृत्ति हैन । यो प्रवृत्ति त रास्वपा र नवीन राप्रपाको प्राधिकारभित्र परिसकेको छ । जहाँ सिद्धान्त, दर्शन हुँदैन; त्यहाँ डेमागग् प्रवृत्तिले जनता अल्मल्याउनुको विकल्प हुन्न ।

भवानी बराल भवानी बराल
२०८० भदौ २१ गते ११:३३

गएको भदौ १६ गतेदेखि नेकपा माओवादी केन्द्रले सुरु गरेको जनसम्पर्क अभियान आउँदो मंसीर २५ गतेसम्म चल्नेछ । माओवादी, मुख्य सत्तारुढ राजनैतिक दल हो । राजनैतिक दलसँग दैनिक जनसम्पर्क भएकै हुन्छ । पार्टी, जनवर्गीय तथा शुभेच्छुक संगठन मार्फत दैनिक क्रियाकलाप पनि भइराखेकै हुन्छ । कुनै विशेष घटना, निर्वाचन वा विकसित परिस्थितिमा जनसभा वा अभियान गर्नु अर्को कुरा हो । तर माओवादीले यतिखेर नै यो अभियान गर्नुपछिको मकसद के होला ?
यतिवेला माओवादीको संगठनमा कुनै भवितव्य आइलागेको पनि छैन । पार्टी पूरै एकमना छ । भर्खरै केन्द्रीय कमिटीको बैठक सकिएको हो । त्यही बैठकले ४०९ जनाको जम्बो केन्द्रीय कमिटी बनाइसकेको छ । यस मानेमा असन्तुष्टहरूलाई बिलो लगाएर भाग पु¥याइदिएको छ । राष्ट्रिय राजनीतिमा प्रतिगामी परिदृश्य पनि देखिएको छैन । सत्ता तल–वितल होला भन्ने योग पनि छैन । तर किन फेरि तीन महिना जनतामा जाने अभियानको थालनी गरेको हो ? राजनीतिका पारखीहरूले पनि बुझिसकेका छैनन् ।

भारतीय समाजवादी नेता डा. राममनोहर लोहियाले पार्टीलाई चलायमान बनाइराख्न कुनै कार्यक्रम नभए चलिरहेको रेल, बसमा कार्यकर्तालाई ढुंगामुढा गर्न लगाउँथे रे ! यसो हुँदा मिडियाले समाचार बनाउँथे र पार्टीको नाम जीवन्त रहन्छ भन्ने उनको उद्देश्य रहन्थ्यो रे ! तर माओवादीले त लोहियाको जस्तो अनुकरण पनि गरिरहेको होइन ।

माओवादीले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ नामको ‘थिम’ लिएर जाँदैछ । यो थिमभित्र माओवादीको ‘जिन’ कहाँनेर फिट हुन्छ ? त्यसमाथि रूपान्तरण हुने कुराको चुरो चैं के हुन्छ ? अलिक आलोचक र समीक्षात्मक टिप्पणी गर्ने हो भने प्रश्नै–प्रश्नको घेरामा माओवादी अभियान हुनेछ । माओवादी रूपान्तरण भएर जनताबीच जाने कि जनताले भने अनुसार रूपान्तरित हुने ? प्रश्न अनुत्तरित नै छ ।

वनवास कि जनवास ?
हिन्दु धर्मतान्त्रिक मिथकमा ‘भगवान’ रामको जन्म लंकाधिपति रावणलाई बध गर्ने उद्देश्यले भएको मानिन्छ । तर कथाको बाहिरी रूप चैं राम राजा भए राजपाटमा रानी कौशल्याको प्रभाव पर्ने भयले अर्की रानी कैकेयीले वनवास जान बाध्य पारिएको कथा मञ्चित हुन्छ । यसैले कैकेयीले राजा दशरथलाई मनाएर रामलाई वनवास जान बाध्य बनाएको, मनाएको कथाको पेटबोली हाम्रो कञ्चटमा आउँछ ।

भवानी बराल

तर राम जन्मको उद्देश्य अनुसार रावण बध गर्ने कार्यभार पूरा गर्न जंगल जान सहजै मानेका हुन् । जंगलमा जानुको खसोखास कुरा हनुमानसँग संयुक्त मोर्चा गर्नुथियो र यसो नगरी रावणको बध गर्न सकिन्नथ्यो । वास्तवमा राम वनवासको सार यही थियो । मिथक अनुसार पृथ्वीबाट पापलाई मुक्त गर्न उनले रामलीलाको भूमिका निभाउनु थियो, जसलाई राम राज्य भनेर हामी सबैले जान्ने गरेका छौं ।

तर, माओवादी ‘तत्कालीन प्रतिक्रियावादी’ हरूले भन्ने गरेको ‘वनवास’बाट फर्केको धेरै हिउँद बर्खा बितिसकेको छ । माओवादी त्यही वनवासबाट फर्किएपछि जे जस्तो परम्परागत प्रणालीको बध भयो त्यसको जानकार हामी सबै छौं । त्यस्तै वनवास जाने माओवादीको कुनै योजना हैन । तर, यति नै वेला राजनीतिको कुन घटनालाई बध गर्न माओवादी हतारहतार ‘जनवास’ जान खोज्दैछ ? यो प्रश्न पनि अनुत्तरित हुनुहुन्न ।

जनवासमा जाने बन्दोबस्ती
माओवादी केन्द्रले महाधिवेशनदेखि निष्क्रिय रहेको प्रचार तथा प्रकाशन विभागलाई पुनर्गठन गरेको छ । पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाको कमाण्डमा बनेको विभागले अभियानमा जाने कार्य योजना सार्वजनिक गरिसकेको छैन । प्रवक्ताले अभियानको लक्ष्य ‘निर्देशक सिद्धान्तलाई पुनस्र्थापित गर्ने’ बताएका छन् । तर निर्देशक सिद्धान्तको रूपरेखा भने बाहिर आएको होइन ।

प्रचार भन्नासाथ प्रोपोगाण्डा शब्द अगाडि आउँछ । अमेरिकी विद्वान् नोम चोम्स्कीले प्रोपोगाण्डा शब्दको सकारात्मक र विशद व्याख्या ‘प्रोपोगाण्डा एण्ड द पब्लिक माइण्ड’ पुस्तकमा गरेका छन् । नत्र पत्रकारिताको बुर्जुवा पाठ्यक्रममा सेतो (ह्वाइट) र कालो (ब्ल्याक) प्रोपोगाण्डा मात्र छ । यी दुई प्रोपोगाण्डा नकारात्मक अर्थका हुन् । तर पनि बुर्जुवाहरूले यसैको उपयोग गर्दै आएका छन् । यसर्थ माओवादीले विकास गर्नुपर्ने रातो (रेड) प्रोपोगाण्डा होला । यस्तो रातो प्रोपोगाण्डाको भाष्य निर्माण भइसकेको छैन । अथवा यहाँ जनमुखी प्रोपोगाण्डा पनि भन्न सकिएला ।

यसै मेसोमा माओवादीलाई डिजिटलाइजेसन गर्न आईसीटी फोरम नामको अर्को संगठन बनाएको छ । अभियानको पूर्वसन्ध्यामा बनेको यी फोरम माओवादी तीन महिने अभियानको अर्को बन्दोबस्तीको साजोसामान होला । माओवादीका यी दुई संगठन त साधन मात्र हुन् । यी साधन मार्फत लैजाने अन्तरवस्तु के हुने प्रश्नको जवाफ खुट्टिएको छैन । डिजिटलाइजेसन मार्फत लैजाने ‘लोकरिझ्याइँ’ ग्रीकमा धेरै सय वर्ष अगाडि प्रयोग भइसकेको ‘डेमागग्’ प्रवृत्तिको नयाँ रूप हो । माओवादी मार्फत जनताले खोजेको डेमागग् प्रवृत्ति हैन । यो प्रवृत्ति त रास्वपा र नवीन राप्रपाको प्राधिकारभित्र परिसकेको छ । जहाँ सिद्धान्त, दर्शन हुँदैन, त्यहाँ डेमागग् प्रवृत्तिले जनता अल्मल्याउनुको विकल्प हुन्न ।

रह्यो माओवादी पार्टी संगठन सात प्रदेशका ७५३ पालिका र ६ हजार बढी वडामा ‘अलरेडी’ माओवादीका सक्रिय–निष्क्रिय संगठन हुँदै होलान् । प्रत्येक वडामा पुगेर माओवादीले के गर्छन्, के भन्छन् ? व्यवस्था बदल्यौंः अब अवस्था बदल्छौं ? यो नारा भनिरहन पर्दैन । घरी–घरी सत्तामा पुगेको वेला गर्ने आम कर्तव्य हो । ‘सच्चिन्छौं कि सिद्धिन्छौं’ यो वाक्य पनि दोहो¥याई तेह¥याइरहनु पर्दैन । खराखरी सच्चिए भइहाल्छ । सच्चिए नसच्चिएको जनताले कसी लगाइहाल्छन् ।

यो अभियानमा माओवादीले लैजाने सुशासनको मुद्दा होला । स्वशासनको मुद्दा त भर्सेलामा परिसकेको छ । भ्रष्टाचार अनियमिततामा भइरहेको अनुसन्धान कारबाहीले माओवादीको लोकप्रियतामा केही ग्राफ बढेको होला । तर यति नै सबै कुरा होइन । भ्रष्टाचार, संगठित अपराधका मुद्दा अदालतमा पुगेपछि ‘टाय टाय फिश’ हुने सम्भावना बढी छ । अहिलेका चर्चित मुद्दाहरू ललितानिवास, नक्कली शरणार्थी र सुन प्रकरणमा अनुसन्धानमै ठूला माछालाई उन्मुक्ति दिएको प्रसंगमा कसैको विमति देखिन्न ।

ललितानिवास प्रकरणमा प्रहरीको अनुसन्धानबाट आएको संगठित अपराधलाई सरकारी वकिलको कार्यालयले किर्ते जालसाजीमा पतन गराइसकेको छ । अनुसन्धानमा किटान भएका केहीलाई मुद्दा नचलाउने निर्णय गरिसकेको छ । मुद्दा संगठित अपराधबाट किर्तेमा पतन गराउनासाथ यो मुद्दाको न्यायिक निरुपणमा आकाश–जमिनको फरक पर्नेछ ।

यसर्थ यस्ता अस्थायी मुद्दाले पार्टीको साखलाई दीर्घकालीन बनाउन सक्दैन । माओवादीका केन्द्रीय नेताहरू विभिन्न अनैतिक काण्डहरूमा संलग्न भएको बेहोरा बाहिर आएकै छ । नाम आएका ती पात्रहरूलाई पार्टीले निलम्बन नगरेकोमा केन्द्रीय नेताहरूकै असन्तुष्टि व्याप्त छ । ल्हारक्याल लामाको नियुक्तिले त पहिलो गाँसमै ढुंगा लागेको छ ।

हिन्दु धर्मसापेक्ष मुलुक बनाउनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, भरसक राजतन्त्रलाई पनि स्पेस दिनुपर्ने गणतन्त्रको विपक्षमा पक्षपोषण गर्दै हिंड्ने माओवादी केन्द्रीय समितिकै केही नेता छन् । यस्ता सदस्यहरूलाई जनताको दैलो–ठेलोमा लैजाँदा जनतामा कस्तो सन्देश दिन्छन् ? यस्तै पात्रहरूलाई अभियानमा लिएर गए भने जनताले सीधै पिठ्युँ फर्काउने छन् ।

माओवादी नेताको बेमेल, गुटबन्दीको पोको बोकेर जनताको घरदैलोमा जाँदा के हुन्छ अहिले नै यकिन गर्न सकिन्न । अर्थात् यी विषयको उत्तर जनतामा जाँदा के हुन्छ त्यसको आधारमा जनमूल्यांकन हुनेछ ।

अभियान, विधान र महाधिवेशन
यो अभियान सकिएपछि माओवादीले विधान अधिवेशन र विशेष महाधिवेशन गर्ने निर्णय सार्वजनिक गरेको छ । अर्थात् माओवादी रूपान्तरण भइसकेपछि विधान अधिवेशन र महाधिवेशन हुनेछ । अब प्रश्न उठ्छ यसपछि माओवादीको विधान विधिसम्मत हुन्छ ? गोजीसम्मत हुँदैन ? यो प्रायश्चित गरेपछि आइन्दा माओवादीहरू विधिमा विश्वास गर्ने लायक बन्छन् ?

रह्यो महाधिवेशनको कुरा । माओवादीले महाधिवेशनमा लिने कार्यदिशाले पार्टीको भविष्य निश्चित गर्छ । समाजवादको आधारशिला तय गर्ने रणनैतिक रूपरेखा कथनी र करणीको विश्वसनीयताले नै पार्टीको आगामी यात्राको प्रस्थानविन्दु खोल्नेछ । माओवादी केन्द्रलाई यति चैं फाइदा छ कि मौजुदा राजनैतिक दलहरूमा माओवादी केन्द्र ‘हिङ नभए पनि हिङ बाँधेको टालो’ हो । तर नारा वा थिम लिएर घरदैलो गर्दैमा राजनीतिको रथारोहण गुड्दैन ।

सन् २०१४ मा भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीको नराम्रो पराजय पछि उसले ‘जाग एक होउ र हराउ’ नारा ल्याएको थियो । तर पश्चिम बंगाल र त्रिपुरामा झनै नराम्रो पराजय भोग्नुपरेको थियो । कुनै समयमा भारतको राष्ट्रिय एवम् प्रमुख प्रतिपक्षी र तीन प्रान्त पश्चिम बंगाल, त्रिपुरा र केरलामा सरकार चलाएको पार्टी लोकसभामा यतिवेला तीन सिटमा खुम्चिएको छ । यसर्थ नारा र अभिभारामा तालमेल भएन भने यस्तै नियति दोहोरिन बेर लाग्दैन । माओवादी नेतृत्वलाई यी कुराहरू पच्न सक्छ सक्दैन तर भारतीय कम्युनिष्टको पराजयबाट सिक्न जरूरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?