+
+

अमेरिकाबाट सीधै चीन जाने निर्णयमा पुनर्विचार गर्न प्रधानमन्त्रीलाई एमालेको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १४:५६

२१ भदौ, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीन भ्रमणको एजेण्डा र प्राथमिकताहरुबारे संसदमा छलफल चलाउन माग गरेको छ ।

नेकपा एमालेको तर्फबाट बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै एमाले सांसद रघुजी पन्तले चीन जानु अगाडि संसदमा आफ्नो प्राथमिकताबारे संसदलाई जानकारी गराउन र सांसदहरुको सुझाव लिन आग्रह गरे ।

‘प्रधानमन्त्रीको चीन भ्रमणको मिति र एजेण्डाहरु यी–यी हुन सक्छन् भनेर संसदमा आएर छलफल गर्ने फुर्सद छ वा छैन ? प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने, ‘यहाँ (संसद)मा आउनुहोस् र छलफल गरेर जानुहोस् ।’

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदैछन् । त्यहाँबाट सीधै चीन भ्रमणमा जाने उनको तयारी छ । यसमा पुनर्विचार गर्न पनि एमाले सांसद पन्तको सुझाव छ ।

‘संयुक्त राष्ट्रसंघ प्राथमिकता हो कि चीन भ्रमण ? मलाई लाग्छ चीन भ्रमण प्राथमिकता हो’ उनी भन्छन्, ‘अर्को देशबाट जाँदा त्यसको प्रभाव कम हुनसक्छ । यो विषयमा ध्यानाकृष्ट होस् ।’

चीन भ्रमणमा जाँदा विभिन्न नाका खोल्ने विषयदेखि विद्युत व्यापार सम्झौता लगायत विषय प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा हुनसक्ने उनले बताए ।

भारतलाई १० हजार मेगावाट विद्युत् बेच्ने सम्झौता भएको र अगाडि बढेको उल्लेख गर्दै उनले चिनियाँ पक्षलाई पनि विद्युत् बेच्ने विषय भ्रमणको एजेण्डा बन्नुपर्ने सुझाए । दुवैतिर विद्युत् व्यापार खुला हुँदा भारतवेष्टित अवस्थाको अन्त्य हुने पनि उनले सुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?