
२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसले बीपी साहित्य महोत्सवका लागि पार्टी केन्द्रीय कार्यालयलाई झकिझकाउ बनाउने भएको छ ।
भदौ २४ देखि २६ सम्म हुने महोत्सवका लागि पार्टीको ठूलो शक्ति परिचालन भएको छ ।
सानेपामा रहेको केन्द्रीय कार्यालयलाई सजाउन र मञ्च निर्माणका लागि १०० भन्दा बढी कामदार परिचालन गरेको कांग्रेसले जनाएको छ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दुई सिफ्टमा गरेर काम भइरहेको जानकारी दिए ।
केन्द्रीय कार्यालय आफ्नै भवनमा सरेपछि दोस्रोपटक भित्ताको रंगरोगन गरिएको छ । २०६१ सालमा सेतो रंग लगाइएको भवनमा १९ वर्षपछि भित्ताको रंग परिवर्तन लागेको छ । हरियो र रातो रंगको मिश्रण गरिएको छ ।
हरियो र रातो रंग प्रयोग गर्नुको तात्पर्य कांग्रेसको चुनाव चिन्ह र झण्डाका रंग मार्फत देखाउनु हो । रुख र चार तारे झण्डाको आकृति भित्तोमा देख्न सकिने गरि रंगरोगन गरिएको छ ।
कार्यालयमा दुई स्थानमा समानान्तर रुपमा कार्यक्रम गर्न सकिने गरी हलको कार्य भइरहेको छ । प्राङ्गणमा टेन्ट टाँगेर बनाउन लागिएको हलमा १३ सय बढी अटाउने बीपी साहित्य महोत्सव तयारी समितिले जनाएको छ । फराकिलो मञ्च सहितको कार्यक्रम हल बनाउन कामदारहरु खटिरहेका छन् । बाहिरी हलमा एक दिनमा चार सेसन गरि बीपीको साहित्य कर्म माथि बहस मन्थन हुनेछ ।
पूर्वबाट कार्यक्रममा प्रवेश गर्ने र पश्चिमबाट निस्कने गरि गेट निर्माण हुनेछ । पार्किङका लागि रिङरोडको एउटा लेनलाई उपयोग गरिने छ ।
११० औं जन्मजयन्तीका अवसरमा ११० वटा बेलुन उडाएर उदघाटन हुनेछ । पार्टी कार्यालयको छतबाट बीपी महोत्सवको लोगो र पार्टीको झण्डा भदौ २४ मा उडाउने गरि कार्यक्रम तय भएको छ ।
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4