
मुलुकको विकास हुनु भनेको भौतिक रंग र जलपले सिंगारिनु मात्र होइन; संस्कृति, सभ्यता र सम्पादनको संरक्षण, सम्वद्र्धन र निरन्तर अभ्यास पनि हो । कुनै वेला युद्ध, अभाव र गरिबीबाट गुज्रिएको चीन वर्तमान विश्व विकासको शिखरमा रहेको छ । भौतिक विकासको बादशाहको रूपमा विश्वमाझ आफ्नो ओजिलो पोजिसन कायम गरिरहेको चीन प्रविधि विकासको लहडमा छ ।
राज्यभित्रको मानव विकासको अवस्था, आर्थिक विकास, सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्यको अवस्था र औद्योगिक विकासको अवस्थाले विकासको चित्रण गर्दछन् । यस पक्षका हिसाबले चीन विश्व विकास मञ्चमा अग्रभागमा छ ।
चिनियाँ विकास संसारको मोडल प्रायः सबै देशका लागि अनुकरण र अनुसरणको विषय बनेको छ । यद्यपि विकासको सम्बन्धमा मुलुकका आ–आफ्ना मोडल र अभ्यास हुने गर्दछन् । चिनियाँ विकासलाई आन्तरिक रूपमा रहेको र बाह्य रूपमा देखिने गरी दुई कोणबाट हेर्न सकिन्छ । चिनियाँ विकासमा दुई वटा सत्यता भेटिन्छ । एउटा ग्राउण्ड डेभेलपमेन्ट र अर्को ग्राण्ड डेभेलपमेन्ट ।
ग्राउण्ड डेभेलपमेन्ट भनेको मुलुकभित्रको मानवीय विकास, संस्कार, नैतिकता, अनुशासन, पद्धति र प्रक्रियाको कुरालाई बुझ्न सकिन्छ भने ग्राण्ड डेभेलपमेन्टको रूपमा उसले विश्वले अनुभूति गर्ने गरी सारभूत रूपमा विज्ञान र प्रविधिको क्षेत्रमा गरेको विकासलाई हेर्न सकिन्छ । यिनै ग्राउण्ड र ग्राण्ड डेभेलपमेन्टको सन्दर्भमा चिनियाँ विकासको अवस्थालाई प्रस्तुत आलेखमा चित्रण गर्ने प्रयास गरिएको छ ।
संस्कारी संस्कृति
आतिथ्यता र सत्कारमा तिलस्मी प्रदर्शन गर्छ, चीन । चीनको विषयमा सुन्दा र भोग्दा फरक अनुभूति हुन्छ । निमन्त्रित आगन्तुकलाई आगमनदेखि निगमनसम्मको अवधिमा गर्ने व्यवहार दिलचस्पी छ । उनीहरू आफ्नो संस्कारी संस्कृतिको उच्चतम प्रदर्शन गर्दछन् । एउटा सामान्य नागरिकले गर्ने व्यवहार मुलुकको पहिचानको प्रतिनिधित्व गर्दछ भन्ने विषयमा चनाखो छन् ।
आफ्नो संस्कृति पहिचान दिन विनयशीलता र विनम्रता प्रदर्शन गर्दछन् । विश्वमा दुर्लभ रूपमा हुने सांस्कृतिक क्रान्ति भएको चीन संस्कृति र सभ्यताको हिसाबले आफूलाई श्रेष्ठतम रूपमा उभ्याइरहेको छ । मुलुकका नागरिकको व्यवहारले मुलुकको खराब सन्देह प्रवाह नहोस् भन्नेमा सचेत छन् ।
मुलुकप्रतिको सकारात्मक धारणा निर्माण गर्न सांस्कृतिक सत्कारले लेपन लगाइरहन्छन् । सांस्कृतिक रूपमा धन्य हुनु र धनी हुने मुलुकको पहिचान विराट बनाउने अर्को पाटो हो । जसलाई चिनियाँ विकासको एक अंश मान्न सकिन्छ ।
ग्रीन एण्ड क्लिन सिटी
भौतिक संरचनाको विहंगम विकास र विस्तारको क्रममा प्रकृतिलाई अक्षुण्ण राख्नु मामुली विषय होइन । विकासको आवश्यकता र मागको नाममा प्रकृतिको विनाश गरी हुने गरेको विकास ठिक उल्टो भन्ने मानक चीनले स्थापित गरेको छ । जलवायु परिवर्तनको रापबाट जल्न लागिरहेको विश्वले ‘ग्रीन म्यानेजमेन्ट’को अवधारणा अगाडि सारेको छ ।
पछिल्लो समय विश्वको धेरै जनसंख्या भएको शहरहरू प्रदूषणको शिकार हुने गरेका छन् । विश्वमा धेरै जनसंख्या भएको चीनमा ग्रीन एण्ड क्लिन सिटीलाई एकै साथ स्पर्श गर्न सकिन्छ ।
विकासमा नवीनता, सुन्दरता, हरियाली र प्रकृति भेटिनु र प्रदूषण तथा फोहोरमैला मेटिनु ग्रीन र क्लिन सिटीको खास मर्म हो । विकास, प्रकृति र वातावरणबीचको परस्पर सन्तुलित सम्बन्ध कायम गरेर विकासजनित क्रियाकलाप सञ्चालन गर्नु ग्रीन म्यानेजमेन्टको सार हो ।
वातावरण संरक्षणको नाममा विकासको गतिको गला अवरुद्ध पार्नुहुँदैन र विकासको नाममा विनाश निम्त्याउनुहुँदैन भन्ने मान्यतालाई अंगीकार गरेका छन् । ग्रीन सिटीको अवधारणालाई व्यावहारिक रूपमा अंगीकार गरेका छन् । चिनियाँ सडकमा हिंड्दा घरी जंगलको बाटोमा हिंडेको प्रतित हुन्छ, घरी पार्कतिर घुमेको जस्तो हुन्छ ।
सडक छेउमा फूल पनि फुलेका छन् । फल पनि लागेका छन् । र हरियालीले ढकमक्क छ सडक छेउ । सफा र चिटिक्क पनि । भौतिक संरचना निर्माणमा जोडिएको हरियालीसँगको आकर्षकताले थप सुन्दरता थपेको देखिन्छ ।
संरचना निर्माण भइरहेको क्षेत्रमा व्यवस्थित रूपमा भइरहेको हुन्छ । हाम्रो जस्तो सडक नै अवरुद्ध हुने गरी बालुवा, गिट्टी र फलामका रड सडकमा असरल्ल पारेको देखिंदैन । विकास मात्र होइन विकासको प्रक्रिया समेत संगठित र व्यवस्थित छ ।
विकासमा आम जनताको आशा, अपेक्षा, आवश्यकता र भरोसा जोडियो भने मात्र विकास दिगो र सन्तुलित हुन्छ । विकास नागरिकसँग जोडिनुपर्छ र विकासका कार्यले नागरिकलाई समेट्नुपर्दछ भन्नु नै ग्रीन विकास हो ।
मानवीय विकास
विकास मानिसको लागि मानिसले गर्ने गर्दछ । विकासले मानवीय आवश्यकता पूर्ति र सहजता प्रदान गर्नुपर्दछ । विकासको लागि अनेकौं स्रोतसाधनको आवश्यकता भए जति ती सबै साधनको वाहक र परिचालक मानिस नै हो ।
यस हिसाबले मानव विकास विनाको अन्य विकास छुचुन्द्रोको मुखमा चमेली हुन्छ । भौतिक विकास, आर्थिक विकास, सामाजिक–सांस्कृतिक लगायत विकास भन्दा मानव विकास अग्र विकास हो ।
सन् २०३० सम्म गरिबी उन्मूलन गर्ने दिगो विकासको लक्ष्य अगावै चीनले त्यो पूरा गरिसकेको छ । सन् २०१९ पछि गरिबी अन्त्य भएको देखाएको छ । अफिम युद्ध समेत भोगेको चीनमा गरिबी १९७८ मा व्यापक थियो । सन् १९७८ बाट २०१९ मा आउँदा गरिबी शून्यमा झारेको छ । गरिबी अन्त्य गर्न सञ्चालित गरिएका कार्यक्रमहरूले सार्थकता पाएको देखिन्छ ।
यस हिसाबले विश्वको ठूलो जनसंख्यामध्येको देश चीनले आफ्ना नागरिकलाई निरपेक्ष गरिबीबाट छुटकारा दिइसकेको छ । गरिबी निवारणका लागि गरिएको कार्यक्रम विश्वका अन्य मुलुकका लागि पनि अनुसरण र खोजका विषय पक्कै बन्ने छन् ।
एकीकृत विकास र शहरीकरण
विशाल जनसंख्या भएको चीनको सडकपेटीमा हाम्रो जस्तो मानिस र हाम्रा जस्ता स-साना कटेरा देखिंदैनन् । भवनको मोडल अपार्टमेन्ट स्टाइलका छन् । जसले गर्दा बीच शहरमा पनि खाली जग्गा देख्न सकिन्छ । पार्किङको लागि स्थान छ ।
विकास टुक्रे होइन होलसेल र सग्लो रूपमा गर्नुपर्दछ भन्ने मान्यताको साथ चीन अघि बढेको देखिन्छ । हाम्रो मुलुकमा विकासको उपस्थिति सार्थक नहुनुको पछाडि जटिल भूबनोट र स्टार कम्युनिटी (छरिएर रहेको बस्ती) पनि हो ।
घर–घरमा धारापानी र बिजुली अल्पविकसित अवस्थामा पुर्याउन सहज छैन । त्यसको लागि एकीकृत बस्ती भयो भने सहज हुन्छ । चीनका धेरै भूभाग घुम्दा सडक आधा पिच भएका, बीचमा छोडिएका र प्वाल परेका कतै देखिएन । सडक पूरै पिच छन् भने सडक पेटीमा रोपिएका बिरुवाले त्यसको सुन्दरता दिएको प्रतीत हुन्छ ।
आधा निर्माण भएका घर, भवन र संरचना कुनै भेटिंदैन । शहरमा पूरै अपार्टमेन्टमा बस्छन् मान्छे । मान्छेको कोलाहल अन्यत्र देखिंदैन । देखिने भनेको रेल स्टेशन, एयरपोर्ट वा कुनै पर्यटकीय स्थानमा मात्र हो । हाम्रो जस्तो आना र मिटरको रूपमा घरघडेरी बिक्री वितरण गर्ने सिस्टम भएको भए घना शहरमा कहाँ त्यो सुन्दरता भेटिन्थ्यो । अनि शहरमा कहाँ टहरा भेटिन्थ्यो ।
शहरीकरण भनेकै घनाबस्ती, जनसंख्याको बाहुल्य, विराट भौतिक संरचना र सेवा–सुविधाको प्रचुरता हो । शहरीकरणको नाममा फोहोरमैला र प्रदूषण जन्माउनु होइन ।
हाम्रो जस्तो सधैं फोहोरी राजनीति र फोहोरमा राजनीति हुँदैन । फोहोरको राजनीतीकरण र राजनीतिको फोहोरीकरणको संभावना चीनमा देखिंदैन । योजनाबद्ध, समयबद्ध र व्यवस्थित शहरीकरण पदार्पण भएको छ ।
वक्ता भन्दा कर्ता बन
चीन बनेको नै कामले हो । भनिन्छ, कुनै बेला चिनियाँसँग दुई वटा मात्र विकल्प थिए, एउटा अठार घण्टा काम गर्ने अर्को देश छोडेर जाने । यी दुईमध्ये कुन रोज्छौ भन्दा चिनियाँहरूले भने हामी १८ घण्टा काम गर्छौं ।
देश बनाउन १८ भन्दा बढी घण्टा खट्ने गरे र चीन बनाए । काम समयमा नै गर्छन् र तत्काल सक्छन् । काममा दृढ छन् । कुनै सम्झौता हुँदैन ।
पंक्तिकारले नेपालमा पनि धेरै पटक सुनेको छु, यो कम्पनीका मान्छेले त चिनियाँ जसरी काम गर्छन् । चिनियाँले गरेको जस्तो गरी काम गर्छन् । कोरोनाकालमा एक हजार बेडको अस्पताल चीनले चौबिस घण्टाभित्र तयार गर्यो भनेर समाचार सम्प्रेषण भएका थिए । साँच्चै चामत्कारिक विकास गर्छन् ।
कामप्रतिको डेडिकेशन र समर्पण ठूलो छ । हामी नेपालीलाई सबैको चियो चर्चा गर्नुपर्दछ । कसैको सूचनाकर्ता । कसैको प्रवक्ता । कसैको विरुद्ध न्यायाधीश कसैको विरुद्ध अनुसन्धानकर्ता बन्नुपर्छ । तर चिनियाँलाई कसैको महत्व र मतलब छैन । छ त केवल समय र कामको ।
उनीहरू समय र कामसँग सम्झौता गर्दैनन् । चिनियाँहरू कम बोल्छन् र आवश्यक मात्र बोल्छन् । आफ्नो कला, कौशल र संस्कृतिलाई पुज्छन् । अनावश्यक र व्यर्थका विषयमा अरूको सोधीखोजी गर्दैनन् ।
आन्तरिक उडानको एक फ्लाइटमा सिटमा चिनियाँ नागरिक परे अलि अलि अंग्रेजी बोल्ने । चीनको धेरै विषयमा सोध्न खोजें तर उनले उत्तर दिएर पन्छिए । कुरा गर्न खासै उत्साहित देखिएनन् । अर्को एक दिन ट्रेनको यात्रामा पनि त्यस्तै भयो । केही बोल्न चाहेनन् । आफ्नो मोबाइलमा घोप्टो परेर व्यस्त भए । मोबाइल भने उनीहरूले हामीभन्दा धेरै चलाउँछन् । सडक काट्दा समेत मोबाइल चलाउँदै हिंड्छन् । बेअर्थका विषयमा सोधीखोजी गर्दैनन् । चाहिने र आवश्यक कुरामा बोल्छन् । आफ्नो भाषाको प्रवद्र्धनमा दृढ छन् ।
समयको उच्च व्यवस्थापन
चिनियाँहरू समयको मूल्य खोज्नेछन् अर्थात् ‘भ्यालु फर मनी’ खोज्छन् । समयलाई कति महत्व दिन्छन् भन्ने कुराको महत्व बुझ्न तीन फरक किसिमका अनुभव छन् ।
पहिलो हामी चाइना क्रिमिनल इन्भेष्टिगेटिङ्ग युनिभर्सिटीले आयोजना गरेको एशिया र अफ्रिकन डेभलपिङ्ग कन्ट्रीको लागि आयोजना गरेको इमिग्रेशन सेमिनारमा सहभागी हुन गएकामध्ये केही साथीहरू फुटबल खेल्न थाल्यौं ।
खानाको लागि समय ५:३० देखि ६:३० सम्म तोकिएको थियो । त्यस दिन हामी खेल्दाखेल्दै ढिला गर्यौं । निर्धारित समयभन्दा केही ढिला पुग्यौं । र हामी केही ढिला जाँदा खाना त के खान जाने कोठाको ढोका नै बन्द गरिसकिएको थियो ।
दोस्रो युनिभर्सिटीले सुपरमार्केटमा लिएर गएको थियो र ५:३० मा सबै जना बसमा आइसक्ने भनेको थियो । तर घुम्दा र हेर्दा हेर्दै समय घर्किहाल्यो । सम्पर्कको साधन केही थिएन । चिनियाँ सीमा थिएन । हामी ५:३७ मा बस भएको ठाउँमा आउँदा बस हिंडिसकेको थियो ।
तेस्रो उक्त युनिभर्सिटीमा झण्डै चारहजार विद्यार्थी होस्टेलमा बसेर पढछन् । हामीसँग केही विद्यार्थी कुरा गर्न खुब रुचाउँदै एक दिन दुई जना हामीसँग गफिंदै थियो । उसले घडी हेर्यो दुई मिनेट बाँकी रहेछ भनेर बाई समेत नभनेर दौडिएर गयो । उनीहरूले अर्को दिन विच्याटमा म्यासेज गरेर भने, ‘सरी हिजो मलाई बाई भन्ने समय पनि भएन ।’
यी प्रतिनिधि घटना हुन् । उनीहरूले समयलाई ग्रेट भन्छन् र उच्च प्राथमिकता दिई कार्य गर्ने गर्दछन् । हाम्रोमा भने टाइमपास भन्ने गलत प्रवृत्ति हावी भएको भने एलाभेन्थ (लास्ट आवर) मा काम गर्ने प्रवृत्ति छ ।
अर्को हाम्रोमा कामचोर प्रवृत्ति पनि हाबी छ । समयलाई प्राथमिकता दिने कहाँ पुगे, सूर्यलाई पुज्नेको हालत अर्कै छ । उनीहरू समयको मूल्य खोज्छन् । हामी समय कटाउने बहाना खोज्छौं ।
जीवनशैली र खानपान
एउटा नेपाली उखान छ– थोरै खाए बल धेरै खाए मल । हामी नेपाली जिब्रोलाई मिठो पाए मल हुने गरी खान्छौं । जिब्रोलाई नमिठो स्वास्थ्यलाई मिठो हुने खान रुचिकर लाग्दैन । हामी खाने दालभात मात्रै हो । एकपटक सीबीआईले आयोजना गरेको दिल्लीको कार्यक्रममा गएको वेला भातको लागि रेष्टुरेन्टमा झगडा नै परेको थियो ।
भएको के थियो भने उसले धेरै थरी आइटम ल्याएको थियो । तर हामी नेपाली भात र दाल मात्र झिकेर खान्थ्यौं । अरू बाँकी रह्यो तर भात–दाल नपुगे पछि आयोजकबीच त्यही कारण विवाद बढेको थियो । हामीले एक–एक आइटम सबैको स्वाद लिएको भए नि हुन्थ्यो तर हामी नेपालीलाई चाहिने त्यही भात र दाल ।
तर चिनियाँहरूको जीवनशैली सरल छ र खानपिन भव्य तर स्पाइसी । चिल्लो, पिरो छैन । अर्को चिनियाँ चियाको विशेषता भनेको चिनी विनाको चिया । उमेरले ४० कटेका पनि २७/२८ वर्षको जस्तो देखिन्छन् । कारण उनीहरूको खानपिन । एकाध मान्छे बाहेक चिनियाँहरू पेट लागेका हुँदैनन् । सबै स्लिम छन् ।
खानामा नून विरलै मात्रामा पाइन्छ । हुँदैन भने पनि हुन्छ । मासु आइटम धेरै खान्छन् । तर मिलाएर समय–समयमा खान्छन् । एउटा रुटिन छ । चीन बसाइका त्यतिका दिनमा दाल भन्ने सायद भेटिएन । खानामा फलफूल पनि छ । मासु पनि छ । दूध पनि छ । समुद्री खाना पनि छ ।
चिनियाँ खानपिनको अर्को सुन्दरपक्ष के लाग्यो भने खाएर बिरामी र अस्वस्थ भइएन । पेट बिग्रियो खान मन लागेन भन्ने आएन । बरु सुरु सुरुमा चिनियाँ खानामा बानी पर्न गाह्रो भयो । तर कतिपय नेपालका रेष्टुरेन्टमा खायो भने भोलिपल्ट पेट के हुने हो भनेर सोच्नुपर्दछ । बिरामी हुने डर हुन्छ ।
अझ यात्रा गर्दा सडक बाटोको खानाको के कुरा गरौं ! बाहिरको खाना भन्यो कि नाक खुम्च्याउनुपर्ने अवस्था छ । तर चीनको खाना खाएर बिरामी भएँ असर गर्यो भन्ने कतै सुनिएन । त्यो हाम्रो ग्रुप होस् वा तिनीहरूको आफ्नो ग्रुप होस् । खानेकुराको इज्जत गर्दछन् । फाल्दैनन् । खान्छन् ।
सामाजिक सञ्जालप्रति सचेत
हामी कर्मचारी, नेता, सञ्चारकर्मी, सुरक्षा निकायका र सबै क्षेत्र तप्काका मानिस सामाजिक सञ्जालको अम्मली भएका छौं । सके जति पोष्ट र कमेन्ट गर्ने । झुण्डिरहने । भेटेको पाएका सबै पोष्ट गर्छाैं तर उनीहरू निकै सचेत छन् । केही वर्ष पहिले भारतको सीबीआईले आयोजना गरेको कार्यक्रममा जाँदा त्यहाँका उच्च पदस्थ कर्मचारीहरूले स्मार्टफोन प्रयोग नगरेको थाहा पाएको थिएँ ।
यो पटक चीनमा पनि त्यस्तै भयो । हाम्रो लागि कार्यक्रम आयोजना गर्ने संस्थाको नेतृत्वकर्ता नेपालमा प्रहरी नायब महानिरीक्षकको सरहका अधिकृतसँग हामीले ग्रुप फोटो लिन अनुरोध गर्यौं । तर मानेनन् । अन्तिममा एउटा शर्त राखे । त्यो के भने यो फोटो कतै पनि सामाजिक सञ्जाल र इन्टरनेटमा पोष्ट गर्नुहुँदैन । हामीले त्यही शर्तमा ड्रेसकोड सहितको सामूहिक फोटो लिएका थियौं ।
सांस्कृतिक साँझको रमाइलो
चिनियाँहरूमा उधुमको सांस्कृतिक जागरण र रस छ । बेलुकाको समयमा पार्कतिर निस्कियो भने नाच्ने, गाउने र रमाउने क्रम चलिरहेको हुन्छ । बालबालिकादेखि बुढाबुढीसम्म रमाइरहेका भेटिन्छन् ।
मलाई त्यसमध्ये एउटा दृश्यले निकै पुलकित बनायो । उमेर ७६ भन्दा बढीको बुढाबुढीको जोडी थियो पार्कमा । नाँच्ने गाउने क्रम चलिरहेको थियो । त्यसमा बुढी नाचिरहेकी थिइन् भने बुढाले भिडियो बनाइरहेका थिए । फेरि बुढाले नाचे बुढीले भिडियो बनाइन् । यो क्रम चलिरहेको थियो ।
यसले मूलतः दुई कुराको संकेत गर्दछ, मनोरञ्जन र तनाव व्यवस्थापन । सामाजिक अन्तरघुलनको पाटो पनि बलियो भयो । गीत, संगीत र साहित्यले मान्छेलाई तनावमुक्त बनाउन सहयोग गर्दछ । यो संस्कृति चिनियाँ समाजमा व्याप्त देखियो ।
विकास यात्राका अँध्यारा र उज्याला पक्ष सबैसँग हुन्छन् । आलेखमा उल्लेखित चिनियाँ विकासका उज्याला पक्ष हुन् । अनुसरण गर्ने भनेको नै उज्याला पाटा हुन् ।
महाविकास र सञ्जालीकरणको वर्तमान युगमा अन्तरनिर्भरता र पारस्परिकता बढ्दो अवस्थामा छ । पूँजी, प्रविधि र उत्पादनको निरन्तर प्रवाह भइरहेको समयमा अरूबाट सिक्ने र जान्ने प्लेटफर्म प्राप्त भएको छ । त्यसको सुर्की लगाउँदै विकासको प्यास मेटाउनुपर्दछ । विकास प्राकृत, अभ्यास तथा अनुभवको निरन्तर प्रयासबाट हुने गर्दछ ।
प्रतिक्रिया 4