
हामीकहाँ सामान्यतया कस्तो चलन छ भने सहनै नसक्नेगरी नसताएसम्म कोही पनि बिरामी अस्पताल जाने गर्दैनन् । दुखाइ वा छटपटी बढेपछि मात्र डाक्टरलाई भेट्ने वा अस्पताल जाने गरिन्छ ।
रोग वा समस्या जेसुकै होस्, दुखाइ सहेर बस्न सकिंदैन । यसले हाम्रो दैनिक जीवनयापनमा त बाधा पुर्याउँछ नै, मानसिक रुपमा पनि कमजोर बनाउँछ । किनभने दुखाइको स्थितिमा न हामी घुम्न सक्छौं, न खान, न खेल्न, न गफ गर्न, न मनोरञ्जन गर्न, न त रमाउन नै ।
कतिपय रोग वा अवस्थामा हुने शारीरिक दुखाइ सहनै नसक्ने हुन्छ । जस्तो क्यान्सर भएको अवस्थामा हुने दुखाइ । यस्तै दुखाइ कतिपय दीर्घकालीन पनि हुने गर्छ ।
यस्तो दुखाइ कसरी कम गर्ने त ?
यद्यपि यस्तो बिरामीको उपचार निकै चुनौतीपूर्ण छ । किनभने यी रोगहरुको उपचारले आफैंमा त्यस्ता दुखाइका लागि प्रभावकारी भइरहेको छैन । त्यसैले अति नै पीडादायी र दीर्घकालीन दुखाइ कम गर्न (पेन क्लिनिक) अन्तिम गन्तव्य हो भनेर बुझ्नु आवश्यक छ ।
के हो पेन क्लिनिक ?
पेन क्लिनिक दुखाइ व्यवस्थापनको प्रभावकारी विधि हो । यसमा विशेषज्ञ चिकित्सकसहितको टोलीले दीर्घकालीन दुखाइको बिरामी वा अति नै पीडादायी दुखाइ न्यूनीकरण गर्न आधुनिक प्रविधिसहितको औषधि उपचारको व्यवस्था गर्छ ।
यही क्लिनिकमा उक्त बिरामीलाई जीवन जिउन वा दैनिक कार्य गर्न सक्ने बनाउन सकिन्छ । यस्ता क्लिनिकमा बिरामीको दुखाइ मात्र नभएर दुखाइसँग सम्बन्धित विभिन्न पक्ष जस्तै शारीरिक, भावनात्मक, संज्ञानात्मक, व्यावहारिक, व्यावसायिक र सामाजिक पक्षको समेत रेखदेख तथा समाधान गरिन्छ ।
दुखाइ कम गर्न मात्र शारीरिक समस्या समाधान भएर हुँदैन । त्यसैले अन्य क्लिनिक र अस्पतालमा जुन उपचार गरिन्छ, त्यसले दुखाइ कम हुन्छ भन्ने हुँदैन । यसैको विकल्पमा पेन क्लिनिक जरुरी देखिएको हो ।
कसरी गरिन्छ त दुखाइ कम ?
यस्ता क्लिनिकमा दुखाइ व्यवस्थापनमा दक्षता हासिल गरेका विशेषज्ञ चिकित्सकहरु खटिएका हुन्छन् । उनीहरुको जिम्मेवारी भनेको कुनै पनि असह्य दुखाइ वा दीर्घकालीन दुखाइ नियन्त्रण गरी उक्त व्यक्तिलाई सामान्य दिनचर्यामा फर्काउनु हो ।
यसमा शारीरिक दुखाइ निको बनाउने मात्र होइन, बिरामीको मनोबल उकास्ने काम पनि हुन्छ । उनीहरुलाई आत्मसम्मान दिएर, हौसला दिएर सामान्य जीवनयापन गर्न सहज बनाइदिने काम पनि गरिन्छ ।
पेन क्लिनिकमा कस्ता बिरामीको उपचार गरिन्छ ?
पेन क्लिनिकमा आउने करिब ३० प्रतिशत बिरामीहरु नसासम्बन्धी दुखाइ (न्युरोपेथिक पेन सिन्ड्रोम र न्युरोलोजिक पेन) लिएर आउने गर्छन् । पेन क्लिनकमा न्युरोजेनक र सिम्पेथेटिक नसाको माध्यमबाट हुने दुखाइ, जटिल क्षेत्रीय पेन सिन्ड्रोम, जनैखटिरापछि हुने दुखाइ आदिको प्रभावकारी उपचार गरिन्छ ।
पेन क्लिनिकमा आउने अन्य बिरामीहरुमा हड्डी तथा मांसपेशीको दुखाइ पनि धेरै छन् । यस्ता बिरामीको संख्या करिब ५० प्रतिशत छन् । कम्मर वा पीठको दुखाइ, घाँटी दुखाइ, घुँडा वा जोर्नी दुखाइका बिरामी पनि पेन क्लिनिकबाट लाभान्वित हुन्छन् । साथै भास्कुलर दुखाइका कारण करिब पाँच प्रतिशत बिरामी पेन क्लिनिकमा आउने गरेको एक तथ्यांकले देखाएको छ ।
अहिले क्यान्सर पनि बढ्दो अवस्थामा छ । क्यान्सरको कारण हुने दुखाइ कम गर्न पेन क्लिनिक एक उपयुक्त ठाउँ भएको छ । महिलाहरुमा हुने तल्लो पेटको दीर्घकालीन दुखाइ वा असामान्य पीडाको पनि पेन क्लिनिकमा प्रभावकारी उपचार गरिन्छ । पेन क्लिनिकमा औषधि, उपचार र विभिन्न प्रविधिको प्रयोग गरेर दुखाइ कम वा नियन्त्रण गर्छ ।
प्रतिक्रिया 4