
भारतका लागि छिमेकी देशहरु नेपाल र बंगलादेशबीचमा कुनै एउटा छनोट गर्नका लागि धर्मसंकटको स्थिति पैदा भएको छ ।
नेपाल र बंगलादेश दुबैले विश्व स्वास्थ्य संगठनमा क्षेत्रीय निर्देशक पदमा उम्मेदवारी दिने निर्णय गरेका छन् ।
भारतमा यो हप्ता जी–२० शिखर सम्मेलनका अलावा यो चुनावी मुद्दाका विषयमा पनि चर्चा हुनसक्छ ।
भारतीय पत्रिका द हिन्दूले यस विषयमा भारतको सकसपूर्ण स्थितिका विषयमा एक रिपोर्ट प्रकाशित गरेको छ ।
द हिन्दूको रिपोर्ट अनुसार विश्व स्वास्थ्य संगठनको शीर्ष पदका लागि बंगलादेशका तर्फबाट प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेद उम्मेदवारको रुमपा खडा भएकी छिन् भने नेपालका तर्फबाट शम्भुप्रसाद आचार्य उम्मेदवार छन् ।
विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयका निर्देशक पदको चुनाव नयाँ दिल्लीमा आगामी अक्टोबर ३० देखि नोभेम्बर २ सम्म चल्ने बन्दसत्रका क्रममा हुनेछ ।
उक्त चुनावमा ११ वटा सदस्य मुलुकहरुले मतदान गर्नेछन् । जसमा नेपाल, भारत, बंगलादेश, भुटान, उत्तर कोरिया, इण्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे रहेका छन् ।
सन् २०१४ देखि भारतकी पुनम खेत्रपाल सिंह उक्त पदमा रहेकी छिन् ।
भारतको रणनीति के होला ?
द हिन्दूले भारत सरकारका अधिकारीहरुसँग यस विषयमा जिज्ञासा राख्दा अधिकारीहरुले निर्णय लिनका लागि अझै समय बाँकी रहेको प्रतिक्रिया दिएका छन् ।
तथापि भारत र बंगलादेशबीचको सम्बन्धलाई ध्यानमा राख्दै बंगलादेशी उम्मेदवार साइमा वाजेदको पल्ला भारी हुनसक्ने संकेत भारतीय अधिकारीहरुले गरेका छन् ।
यसको एउटा कारण चाहिँ बंगलादेशी उम्मेदवार प्रधानमन्त्रीकै छोरी भएका कारणले पनि हुनसक्छ ।
यद्यपि संयुक्त राष्ट्रसंघीय प्रणाली अन्तर्गत हुने कुनैपनि चुनावमा विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया अर्थात् एसइएआरओका सदस्य देशहरुको बंगलादेश तथा नेपालसँग भएका समझौता तथा कुराकानीहरुमा पनि विषयवस्तु निर्भर हुने अधिकारीहरुको भनाइ छ ।
यस्तोमा चुनावमा पारस्परिक सम्बन्धहरुको आधारमा नै भोटिङ गरिन्छ । अर्थात् यदि कुनै देशले अरु देशको समर्थन गर्दा उसले संयुक्त राष्ट्रसंघका अन्य मुद्दामा पारस्परिकताको आधारमा उक्त मुलुकको समर्थन माग गर्दछ ।
नेपाली उम्मेदवार शम्भुप्रसाद आचार्य हाल विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एधनम गेब्रियेसस अन्तर्गतको कन्ट्री स्ट्राटेजी एण्ड सपोर्टका निर्देशकका रुपमा जेनेभा मुख्यालयमा कार्यरत छन् ।
आचार्यको कार्यानुभव क्षेत्रीय निर्देशकका लागि निकै राम्रो मानिएको छ ।
उता साइमा वाजेद मनोवैज्ञानिक हुन् र बंगलादेश सरकारको सल्लाहकारको रुपमा कार्यरत छिन् । उनी उच्चस्तरीय राजनीतिक अभियानको हिस्सा पनि रहँदै आएकी छिन् ।
द हिन्दूले सूत्रहरुको हवाला दिँदै बताए अनुसार साइमा वाजेद आफ्नी आमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँगै जी–२० सम्मेलनमा भाग लिन भारत आउन सक्ने सम्भावना छ ।
ट्रेडोस एधनम गेब्रियेससको समर्थक कसलाई ?
विश्व स्वास्थ्य संगठनका प्रमुख गेब्रियेसस जी– २० सम्मेलनका लागि नयाँ दिल्ली आउँदैछन् । उनीसँगै संगठनका अन्य वरिष्ठ अधिकारीहरु पनि भारत आउनेछन् जसमा उनका सहकर्मी तथा निर्देशक पदका नेपाली उम्मेदवार आचार्य पनि रहनसक्ने बताइएको छ ।
त्यसैले जी– २० सम्मेलनका दौरान दुबै पक्षले आफ्ना आफ्ना उम्मेदवारका लागि एसइएआरओका सदस्य मुलुकहरुलाई मनाउनमा सक्रिय रहनेछन् । साथै नेपाल तथा बंगलादेश दुबै पक्षले यो विषयमा अहम् भूमिका रहने अन्य मुलुकहरुलाई समेत प्रभावित गर्ने कोसिस गर्नेछन् ।
साइमा वाजेद बुधबार आसियन सम्मेलनमा सहभागी हुनका लागि बंगलादेशी राष्ट्रपति मोहम्मद शाहबुद्दिनसँगै इण्डोनेसिया पुगेकी छिन् ।
जकार्तामा उनले इण्डोनेसियाका विदेशमन्त्री टेनो मर्सुदीसँग छलफल गरेकी छिन् । उनले म्यान्मार तथा थाइल्याण्डको पनि समर्थन पाउने कोसिस गरिरहेकी छिन् ।
सोसल मिडिया पोस्टमा उनले भनेकी छिन्, ‘बंगलादेश तथा इण्डोनेसियाको बीचमा द्धिपक्षीय वार्ता राम्रो भयो । हामी दुबै देशका बीचमा असल सम्बन्ध तथा सहयोगको आशा गर्दछौँ ।’
उनी यसअघि अगष्टमा भएको ब्रिक्स सम्मेलनमा सहभागिता जनाउनका लागि आफ्नी आमासँगै दक्षिण अफ्रिका पनि गएकी थिइन् । त्यही क्रममा उनले चिनिया राष्ट्रपति सी जिनपिङसँग भेट गरेकी थिइन् ।
नेपाल सरकार पनि सक्रिय
बंगलादेश आफ्ना उम्मेदवार जिताउनका लागि सक्रिय देखिइरहेको बेला नेपाल पनि पछि परेको छैन ।
द हिन्दूको रिपोर्टमा उल्लेख भए अनुसार नेपालले पनि आफ्नो अभियान तीव्र पारेको छ ।
हालै एसइएआरओ सदस्य मुलुकका राजदूतहरुको एक बैठक काठमाण्डौमा आयोजना गरिएको थियो ।
राजनीतिक सूत्रको हवाला दिँदै द हिन्दूले बताए अनुसार उक्त बैठकमा आचार्यले एक प्रस्तुति दिएका थिए र स्वास्थ्य अधिकारीको रुपमा आफ्नो करिअरलाई हेरेर समर्थन गर्न अपिल गरेका थिए ।
आचार्य पछिल्लो २४ वर्षदेखि जेनेभामा विश्व स्वास्थ्य संगठनको मुख्यालयमा सेवारत छन् ।
नेपाल सरकार पनि यो चुनावलाई लिएर सक्रिय रहेको र संयुक्त राष्ट्रसंघमा समर्थनको आशा गरिरहेको बताइएको छ । बीबीसीबाट
प्रतिक्रिया 4