२४ भदौ, काठमाडौं । बागमती प्रदेशले सर्वाधिक १९ स्वर्ण पदक हासिल गर्दै छैटौं राष्ट्रिय उमा कुङफु प्रतियोगिताको उपाधि जितेको छ । नेपाल उमा कुङ्फु संघद्वारा आयोजित प्रतियोगितामा १४ स्वर्णसाथ गण्डकी प्रदेश दोस्रो र ७ स्वर्ण जितेको कोशी प्रदेश तेस्रो भए ।
प्याटर्नको पुरुषमा अपिल मोक्तान तथा महिलामा साइना महर्जन उत्कृष्ट खेलाडी घोषित भए । सान्डाको पुरुषमा दिपेश थिङ तथा महिलामा सन्तली थामी उत्कृष्ट खेलाडी चुनिए । चारै जना बागमतीका हुन् । उत्कृष्ट चारै जनाले जनही १५ हजार नगद पुरस्कार हात पारे ।
विजेतालाई नेपाल उमा कुङ्फु संघका अध्यक्ष सिद्धार्थ लामालगायतले शनिबार एक कार्यक्रमबीच पुरस्कृत गरे । यसअघि एकदिने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उदघाटन गरेका थिए ।
सो अवसरमा सदस्य–सचिव घिसिङले वर्ल्ड मार्सल आर्ट्स गेम्स कमिटी (डब्लुएमएसी), अस्ट्रियाबाट प्राप्त विभिन्न डानको प्रमाण पत्र सम्बन्धितलाई हस्तान्तरण गरेका थिए । संजीतकुमार राईलाई पाँचौं डान, रमेश महर्जन र कमल मगरलाई चौथो डान तथा सञ्जयराज पुटुवार, सरिना घले र रवि महर्जनलाई तेस्रो डानको प्रमाण पत्र प्रदान गरियो । नेपाल उमा कुङफु संघकी उपाध्यक्ष मुन्नी सुवेदीलाई डब्लुएमएसीबाटै प्राप्त मानार्थ सदस्यको प्रमाण पत्र पनि सोही अवसरमा प्रदान गरिएको थियो ।
प्रतियोगिताअन्तर्गत सान्डा स्पर्धामा अन्तर्राष्ट्रिय निर्णायक संजीतकुमार राई तथा प्याटर्न स्पर्धामा अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा तामाङले मुख्य जजको भूमिका निर्वाह गरेका थिए ।
प्रतिक्रिया 4