+
+

अखिल क्रान्तिकारीको विवाद समाधान उन्मुख, यस्ता छन् सहमतिका ८ आधार

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते १२:२९

२५ भदौ, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को आन्तरिक विवाद समाधान उन्मुख भएको नेताहरुले बताएका छन् ।

आज प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिव वर्षमान पुन अनन्त र अखिल क्रान्तिकारीका फ्रयाक्सन इन्चार्ज हिमाल शर्माको उपस्थितिमा विद्यार्थी नेताहरुसँग भएको छलफलपछि विवाद समाधान नजिक पुगेको दाबी नेताहरुको छ ।

अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका शर्माले बैठकपछिको तस्वीर सामाजिक सन्जालमा सार्वजनिक गर्दै अखिल क्रान्तिकारी एकताबद्ध भएको र यो आफ्ना लागि खुसीको क्षण भएको लेखेका छन् ।

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएयता संगठनभित्रको विवाद उत्कर्षमा पुगेको थियो । नेता हितमान शाक्य फ्रयाक्सन इञ्चार्ज हुँदा पञ्चा नेतृत्वको कमिटी विधि र प्रक्रियाविपरीत गठन गरिएको भन्दै पवन कार्की समूहले समानान्तर गतिविधि गर्दै आएको थियो । अखिल क्रान्तिकारीभित्रको यो विवाद नेताहरुका लागि टाउको दुखाइको विषय भएको थियो ।

सहमतिका आठ बुँदे आधार

हिमाल शर्मा फ्र्याक्सन इञ्चार्ज भएपछि उनले विवाद समाधानको पहल लिएका थिए । उनले अखिल क्रान्तिकारीका दुबै पक्षसँग गरेको छलफलको आधारमा सहमतिका आठ बुँदे आधार तयार पारेर आज बिहान प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष प्रचण्डसमक्ष प्रस्तुत गरेका थिए ।

सहमतिको आधारको पहिलो बुँदामा विद्यमान केन्द्रीय समितिलाई पदाधिकारी कायम राखी २३ औं राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गर्ने उल्लेख छ । त्यसपछि पार्टीसँग परामर्श गरी यथाशीघ्र विधान सम्मेलन र राष्ट्रिय सम्मेलनको मिति तय गरिने छ ।

यो सहमतिको आधारमा सबै सहमत भएको र अखिल क्रान्तिकारीको दुई वर्षयताको विवाद समाधान उन्मुख भएर संगठन एकताबद्ध भएको शर्माले दाबी गरे । उनले अनलाइनखबरसँग भने, ‘दुई वर्षदेखि थाती रहेको काम थियो । त्यसलाई आज समाधान गरिएको छ । सबैको सकारात्मक सहयोगबाट संगठन एकताबद्ध छ । सम्मेलनमा जाँदासम्म संगठन थप सुदृढ हुने अपेक्षा छ ।’

आयोजक समितिमा पदाधिकारी विस्तार गरिने छ । पदाधिकारी विस्तार गर्दा २२ औं राष्ट्रिय सम्मेलन आयोजक समितिमा रहेका र हाल केन्द्रीय समितिमा क्रियाशील सदस्यहरुको एउटा लेयरलाई मापदण्ड मानी स्वतः बढुवा गरिने छ । अध्यक्ष, उपाध्यक्ष र महासचिव रहेको कार्यालय टिम बनाइने छ ।

आयोजक समिति सदस्य विस्तार गर्दा २२ औं राष्ट्रिय सम्मेलनका सिनियर प्रतिनिधिहरु मध्येबाट समान लेयरको आधारमा छनोट गरिने छ । मातहतका कमिटीमा रहेका असमझदारी हटाउने र त्यसका लागि गृहकार्य गर्न कार्यदल बनाउने लगायतका विषय आधारपत्रमा उल्लेख छन् ।

रञ्जित तामाङको पालाको आयोजक कमिटीलाई समेटिने

बालुवाटार बैठकमा सहभागी अखिल क्रान्तिकारीका उपाध्यक्ष इन्द्र भुसालले रञ्जित तामाङको पालाका कमिटी र पञ्चा नेतृत्वको कमिटीलाई समेटेर आयोजक कमिटी गठन हुने बताए ।

अर्का उपाध्यक्ष नरेश रेग्मीका अनुसार पवन कार्की अब उपाध्यक्षको जिम्मेवारीमा फर्किने छन् । साथै सचिवालय सदस्यहरु सचिव र सचिवहरु उपमहासचिव हुनेछन् । उनले अनलाइनखबरसँग भने, ‘सजिलोसँग बुझ्ने तरिकाले भन्दा रञ्जित तामाङको पालाका केन्द्रीय सदस्यहरु पञ्चा सिंहको पालामा सचिवालय सदस्य भए, पञ्चाको कार्यकाल दुई वर्ष पूरा भएकाले ती सचिवालय सदस्यहरु सचिव र अहिले भएका सबै सचिवहरु उपमहासचिव हुने भए । आयोजक कमिटीमा पवनको समूहको अलग्गै थपिने, पञ्चाको अलग्गै थपिने भन्ने हुँदैन ।’ रेग्मीले अखिल क्रान्तिकारीको विवाद समाधान नभइसकेको तर समाधानको बाटोमा अघि बढेको बताए ।

अर्का उपाध्यक्ष भुसालले पनि पञ्चा सिंह र पवन कार्की नेतृत्वको टिमको विवाद समाधानको नजिक पुगेको बताए । बालुवाटार बैठकमा सहभागी भुसालले भने, ‘दुबै टिमलाई मिलाएर विधान सम्मेलन र त्यसपछि राष्ट्रिय सम्मेलन गर्ने सहमति भएको छ । योसँगै आजदेखि संगठन एकताबद्ध भएको छ ।’

बालुवाटार बैठक सहभागी नेताहरुका अनुसार पार्टी अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको विवाद समाधान भएकोमा खुसी व्यक्त गर्दै आजै बस्ने माओवादी पदाधिकारी बैठकले सहमतिको आधार पत्रलाई ग्रहण गर्ने समेत बताएका थिए ।  उनले आफू न्यूयोर्क र चीन भ्रमणबाट फर्किएपछि थप गृहकार्य हुने जानकारी गराएका थिए ।

हेर्नुहोस् सहमतिका आठ आधार –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?