
दिनमा १२ घण्टा घर-खेतमा काम गरेर परिवार पाल्ने महिलालाई आफ्नो काम ‘जागिर होइन’ भन्ने लाग्छ र भन्छिन्, ‘म केही पनि गर्दिनँ !’ त्यसो भए जागिर चाहिं हो के ?
केही दिन पहिलेको कुरा हो, म मेरो आफन्तको घरमा लगाएको सप्ताह पुराणमा गएकी थिएँ । संयोगवश मेरो आईए पढ्दा सँगै डेरा बस्ने पुरानो साथीसँग भेट भयो । क्याम्पस सकिएपछि हामी एकाएक टाढिएका थियौं । म बीए पढ्न काठमाडौंतिर लागें, उनी कता हराइन् !
सामाजिक सञ्जालको प्रचलन आएपछि उनलाई खोज्ने प्रयास गरेकी थिएँ तर फेला पारिनँ । विवाहपछि प्रायः महिलाले नाम र थर फेर्ने गरेको पाइन्छ । उनले पनि त्यही गरेको ठानेकी थिएँ तर उनको त सामाजिक सञ्जालमा आइडी नै रहेनछ !
म छक्क परें । दुई वर्ष एउटै भाँडाको भात खाएका हामी दुई मित्र यसरी हराएका थियौं कि को कहाँ छ र के गर्छ भन्ने कुराको सुइँकोसम्म थिएन । लामो समयपछि यसरी एक्कासी भेट हुँदा हामी भावुक बनेका थियौं । उनको घर त्यही गाउँमा रहेछ ।
एकापसमा सद्भाव साटासाट गर्यौं अनि दुःख पनि । के काम गर्दैछौ भनेर उनले मलाई सोधिन् अनि मैले पनि उनलाई । आफूले एउटा निजी विद्यालयमा पढाउने गरेको बताएँ । उनले म त केही गर्दिनँ, घरमै यत्तिकै भनिन् ।
फेरि मैले सोधें, हातै बाँधेर बस्छौ त ? कहाँ हात बाँधेर बस्नु खेतीपाती छ नि ! तीन जना छोराछोरी छन् । श्रीमान्को जागिर छ । एउटा गाई पालेको छ ।
एउटा भैंसी, तिनीहरूका बाच्छा-पाडा, दुई वटा माउ बाख्रा, दुई वटा खसी छन् । चार वटा पाठा । एक बिघा खेती आफैं गरेकी छु ।
अनि त्यो सब तिमी आफैं भ्याउँछ्यौ ? कि श्रीमान् छोराछोरीले पनि सघाउँछन् ?
कहाँ सघाउनु श्रीमान्को जागिर टाढा छ । घरैबाट धाउनुहुन्छ बिहान चाँडै हिंड्नुपर्छ । केटाकेटी स्कुल, ट्युसन, कोचिङ भन्छन् खान पनि राम्ररी भ्याउँदैनन् ।
यति धेरै काम गर्दी रहिछ्यौ त ! फेरि किन केही गर्दिनँ भनेको ?
अनि त्यो जागिर हो त ? त्यो त घरको काम पो हो त, उनले भनिन् ।
मैले सोधें तिमी बजार गएर सब्जी किन्छ्यौ ?
किन्दिनँ ।
चामल, दाल, तेल, दूध, दही, घिउ किन्छ्यौ ?
किन्दिनँ ।
ग्याँस चाहिं किन्छ्यौ होला होइन !
हाँस्दै भनिन्, किन्दिनँ, गोबरग्याँस छ ।
श्रीमान्को तलबले के किन्छ्यौ त ? लुगाफाटो, नुनचिनी, साबुन-सलाई किन्छ्यौ होला होइन ?
कहाँ किन्नु उहाँको तलबले त के टार्छ र टाढा बाटो गाडीलाई तेल हाल्नुपर्यो, खाजा खानुपर्यो, कहिले पार्टी भन्नुहुन्छ, कहिले चन्दा भन्यो, कत्ति पनि आउँदैन ।
अनि घर खर्च कसले टार्छ त ?
यही खेतीको पैसाले ।
खेती चैं कसले गर्छ ?
म आफैं गर्छु । ठूलो काम हुँदा खेताला लगाउँछु । सानातिना काम आफैं गर्छु ।
श्रीमान् भन्दा त तिमी धेरै कमाउँदी रहिछ्यौ त !
त्यसो त हो नि ! मैले एउटा भैंसी बेचें भने एकै चोटिमा एक–डेढ लाख आउँछ । एउटा खसी बेचें भने पच्चीस-तीस हजार ।
अनि किन अघि केही गर्दिनँ भनेकी त ?
तैपनि जागिर त होइन नि ! उनले फेरि जोड गरिनँ ।
तिम्रो विचारमा जागिर भनेको के हो ?
कुनै अफिस, कार्यालयमा गएर काम गरेर पैसा कमाउनु जागिर हो ।
पैसा त तिमी पनि कमाउँदी रहिछ्यौ त ! तर तिमी अर्काको नोकरी गर्दिनौ । तिमीलाई पाँच मिनेट ढिला हुँदा तलब कटाउने धम्की आउँदैन । बिरामी पर्दा आनन्दले सुत्न पाउँछ्यौ । समय मिलाएर घरको काम सिध्याएर मन लागेको ठाउँमा जान पाउँछ्यौ । आफ्नै हातले फलाएको अर्गानिक सागसब्जी खान पाउँछ्यौ । त्यसैले गर्व गर्नुपर्छ आफ्नो कामप्रति ।
उनले भनिन्, ‘जसले जति कमाए पनि समाजले मलाई काम नगर्ने बेरोजगार देख्छ अनि मेरो श्रीमान्लाई रोजगार ।’
मैले जवाफ फर्काएँ, ‘हो यही समाजको सोचलाई परिवर्तन गर्नु छ, हामीले महिलाको कामको सम्मान हुने वातावरण सिर्जना गर्नु छ ।’
करिब दुई घन्टा हामीले यस्तै गफमा बितायौं । छुटेर घर आउँदा बाटाभरि उनको ‘तैपनि जागिर त होइन नि’ भन्ने वाक्य मेरो दिमागमा अल्झिरह्यो ।
दैनिक १२ घण्टा काम गरेर परिवार पाल्नेलाई आफ्नो काम ‘जागिर होइन’ भन्ने लाग्छ भने खास जागिर चाहिं के हो ? मेरो दिमागमा अहिले पनि यो प्रश्न घुमिरहेको छ ।
मेरी ती मित्रले कमाएको चामल, दाल, तेल, सब्जी, दूध, दही, घिउ, ग्याँस जागिर हो कि होइन ? उनले एउटा भैंसी बेचेर एकै पटक समाएको डेढ लाख रुपैयाँ कमाइ हो कि होइन ? बिहानै हतारहतार श्रीमान् र छोराछोरीलाई मिठो–मसिनु पकाएर खुवाइकन बिदा गरेर सबै जुठाभाँडा सफा गरेको काम जागिर हो कि होइन ?
मैले उनको र मेरो जागिरको तुलना गरें ।
म बिहान सबेरै उठ्छु, नित्यकर्म सिध्याएर भान्सामा जान्छु । हतार–हतार खाना बनाएर खुवाई, खाई अफिसका लागि निस्कन्छु । बेलुका घर फर्कंदा घरमा चाहिने तेल, दाल, सब्जी, ग्याँस आदि सबैथोक लिएर आउँछु ।
बजारबाट ल्याएका यी सम्पूर्ण चिज विषादी प्रयोग गरेर फलाइएका छन् । मेरी मित्र यी सबै चिज अर्गानिक तरिकाले आफैं फलाउँछिन् ।
हाम्रो देश कृषिप्रधान देश हो । यहाँ मन लगाएर गर्ने हो भने जागिरबाट भन्दा कृषिबाट धेरै आम्दानी लिन सकिन्छ । फेरि कृषि पेशा गर्नेले आफ्नो लागि खाने आफैं उब्जाउने भएकाले प्राङ्गारिक उत्पादन हुन्छ जुन स्वास्थ्यका लागि लाभदायक छ ।
तर हामीले कहिल्यै कृषि पेशालाई सम्मान गरेनौं । कृषिको आत्मनिर्भरतालाई देख्दै देखेनौं । सरकारले कृषि पेशामा सम्मान महसुस हुने नीति ल्याएन । एउटा जागिरेले भन्दा कृषि कर्म गर्नेले धेरै कमाएको हुन्छ तर पनि जागिरेकै समाजमा सम्मान छ ।
कतिसम्म भने कृषि गर्ने अनपढ नै हुन्छ र जागिरे पढेलेखेकै हुन्छ भन्ने धारणाले अहिले पनि जरो गाडेको छ । खेतीलाई काम नै मानिंदैन । केही काम नपाउनेले मात्र खेती गर्ने हो भन्ने सोच अहिले पनि छ ।
एउटा जागिरे श्रीमान्लाई तपाईंकी श्रीमती के गर्छिन् भन्यो भने केही गर्दिनन् भन्छन् । तर, खेती गर्ने उनकी श्रीमतीले उनको भन्दा दोब्बर कमाएकी हुन्छिन् । गर्वका साथ मेरी श्रीमती कृषि कर्ममा छिन्, मभन्दा दोब्बर कमाउँछिन्, घर पनि धान्छिन्, छोराछोरी पढाउँछिन् भन्न सक्ने अवस्था छैन ।
अर्काको काम गरेर कमाएको भन्दा आफ्नो काम गरेर कमाएकोमा सन्तुष्टि लिन सिक्नुपर्छ । आफ्नो काममा स्वतन्त्रता बढी प्राप्त गर्न सकिन्छ । काम नसकिए हाकिम रिसाउला भन्नुपर्दैन । आजको काम आजै सक्नुपर्छ भन्ने दबाब हुँदैन ।
त्यति मात्रै होइन, एक दिन बिरामी परेर अफिस जान नसक्दा तलब काटिएला भन्नुपर्दैन । आज तरकारी किन्ने पैसा छैन भन्नुपर्दैन । दहीको डेरी बन्द भएछ भन्नुपर्दैन । त्यसैले आफ्नो कामको सम्मान गर्नुपर्छ ।
आफ्नो कामलाई ठूलो ठान्नुपर्छ र आफ्नो काम गरेर स्वनिर्भर बन्नुलाई सानो काम ठान्नुहुँदैन । त्यसैले गौरवका साथ भनौं, ‘म कृषि कर्म गर्छु ।’ अनि कहिल्यै नभनौं, ‘म केही पनि गर्दिनँ !’
प्रतिक्रिया 4