
२६ भदौ, काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सोमबार बिहान निधन भयो । राति एक्कासी गाह्रो भएपछि परिवारका सदस्यले अस्पताल पुर्याउँदा नेम्वाङको नाडी, मुटुको धडकन र श्वासप्रश्वास चाल बन्द थिए ।
बालुवाटारस्थित निवासबाट सोमबार राति १ः५० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो, अस्पतालले विहान ३ बजे मृत घोषणा गरेको थियो ।
शिक्षण अस्पतालका अनुसार अस्पताल ल्याइपुर्याउँदा नेम्वाङको आँखाको नानी फुलिसकेको, रक्तचाप र पल्स रेकर्ड गर्न नमिल्ने भइसकेको थियो । नेम्वाङको मृत्युको कारणबारे त्रिवि शिक्षण अस्पतालले आधिकारिक रुपमा उल्लेख गरेको छैन ।
नेम्वाङको स्वास्थ्य अवस्थाबारे तीन दशकदेखि नै नजिक रहेका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमी मृत्युको कारण हृदयघात हुन सक्ने बताउँछन् ।
डा. सायमीका अनुसार नेम्वाङको २०४८ सालमा मुटुमा समस्या देखिएको थियो । नेम्वाङ त्यतिबेला राष्ट्रिय सभाका सदस्य थिए । त्यसबेला डा. सायमीकै जोडबलमा नेम्वाङ उपचारका लागि भारतको दिल्ली गएका थिए ।
डा. सायमीका अनुसार एन्जियोग्राम, ईसीजीलगायत परीक्षण गर्दा पनि उनको समस्या पत्ता लागेको थिएन । त्यसपछि, इलेक्ट्रोफिजियोलोजिकल स्टडी (ईपीएस) गरियो । ईपीएस प्रविधिबाट परीक्षण गर्दा भने नेम्वाङको मुटुमा केही असामान्य तन्तुहरू फेला परेको थियो ।
यिनै तन्तुका कारण नेम्वाङको मुटुको धड्कन गडबड भइरहेको पत्ता लागेको थियो ।
चिकित्सकीय भाषामा यस्तो रोगलाई ‘एट्रियल फिब्रलेसन भनिन्छ । यो रोगले मानिसको श्वासप्रस्वासमा समस्या निम्त्याउँछ भने रिंगटा लाग्ने, उच्च रक्तचाप हुने जस्ता लक्षण देखिन्छन् ।
‘एट्रियल फिब्रलेसन’ भएका मानिसलाई स्ट्रोक र हृदयघातको जोखिम उच्च हुन्छ । दिल्लीका चिकित्सकले नेम्वाङलाई जीवनभर ‘एट्रियल फिब्रलेसन’ रोगको औषधि खानुपर्ने बताएका थिए । उनले मुटुको चाल गडबडी हुने समस्याको नियमित औषधि पनि खाइरहेका थिए ।
‘म त्यसबेला मन्त्रिपरिषद्को चिकित्सक थिएँ । त्यसबेला नेपालमा उपकरण नभएको मैले नै भारत लगेर उपचार गराएको थिएँ’ ३ दशकअघिको घटना सम्झिँदै डा. सायमीले भने, ‘त्यसबेला एन्जियोग्राफी सबै नर्मल नै थियो । तर, मुटुको चाल असामान्य बनाउने तन्तुलाई ‘रेडियो फ्रिक्वेन्सी एबलेनि थेरापीद्वारा जलाएर नष्ट पारिएको थियो ।’
निरन्तर मुटुको चाल सम्बन्धीको औषधि खाइरहेको भए पनि बीचमा फलोअपमा नभएको डा. सायमीले बताए ।
डेढ वर्ष अगाडि सायमी त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत थिए ।
त्यसबेला नेम्वाङको इसिजी, इको लगायतका स्वास्थ्य परीक्षण गरेर औषधि समेत परिवर्तन गरिएको डा. सायमी बताउँछन् ।
विशेषज्ञ चिकित्सकका अनुसार सामान्य अवस्थामा एक मिनेटमा ६० देखि १०० पटक सम्म मुटु धड्किने गर्छ ।
यदि सोही अवधिमा यो भन्दा कम वा बढी पटक मुटु धड्किएको अवस्था असामान्य हो । यसलाई ‘मुटुको चालमा गडबडी’ भएको मानिन्छ ।
तर, जब मुटुले असामान्य तरंग उत्पादन गर्न थाल्छ, तब मानिसको मुटुको चाल असामान्य हुने गर्छ । र, असामान्य मुटुको चाल भएमा हृदयघात, स्ट्रोक लगायतका समस्या निम्तिन सक्छ । डा. सायमीका अनुसार नेम्वाङमा मधुमेह र उच्च रक्तचापको पनि समस्या थियो । जसले गर्दा हृदयघात हुने जोखिम पनि बढी हुन्छ ।
‘एक पटक मुटुको चाल गडबड भएको मानिसलाई हृदयघात हुने सम्भावना बढी नै हुन्छ । त्यसमाथि उहाँलाई सुगर, प्रेसरको पनि समस्या थियो । उमेर पनि धेरै भयो । नियमित जाँच गरिरहनुपर्छ भनेर पठाएको थिएँ । तर, त्यसपछि भेट भएको थिएन’ डा. सायमीले भने, ‘उहाँको सबै मेडिकल हिस्ट्री हेर्दा हृदयघात भएको हो । हदृयघात हुनेबित्तिकै एक तिहाई बिरामी समयमै अस्पताल पुग्दैनन् । उहाँमा पनि त्यही भएको देखिन्छ ।’
१५ वर्षयता नेम्वाङलाई संघीय संसद्को स्वास्थ्यकर्मी प्रदीप घिमिरेले जाँच गर्दै आएका थिए । उनले नियमितजसो नेम्वाङको रक्तचाप र मधुमेह पनि जाँच गरिरहन्थे । सोमबार दिउँसो पनि नेम्वाङको रक्तचाप, मुटुको चाल सामान्य नै थियो । तर, ज्वरो भने १०१ डिग्री पुगेको थियो । उनले सिटामोल खाइरहेका थिए ।
घिमिरेका अनुसार दुई दिन अगाडि नेम्वाङ धरानबाट फर्किएका थिए । शरीर थकान भएको महसुस गरेका थिए ।
‘उहाँलाई हिजो दिउँसो आफैं गएर रक्तचाप, पल्स रेकर्ड लगायतका परीक्षण गरेको थिएँ । सबै सामान्य थियो । उहाँले अहिले म ठीक छु भोलि बिहान ७ बजे मुधुमेहको परीक्षण गर्नुपर्ला भनेर पठाउनु भएको थियो’, घिमिरेले अनलाइनखबरसँग भने ।
घिमिरेका अनुसार सोमबार राति १० बजे दुई छोरी र श्रीमतीसँगै खाना खाएर नेम्वाङ सुतेका थिए । राति १ बजे नेम्वाङकी कान्छी छोरीले फोन गरेर गाह्रो भएको जानकारी दिएकी थिइन् । घिमिरेले त्रिवि शिक्षण अस्पताल लैजान सुझाव दिएका थिए ।
‘घरबाट एम्बुलेन्ससम्म लैजाँदा नै हृदयघात भएको अनुमान छ । त्यसबेलासम्म उहाँ होसमा हुनुहुन्थ्यो रे । तर, अस्पताल लैजाँदासम्म उहाँको मुटुको चारवटा भल्भ फुटिसकेका रहेछन्’, घिमिरेले भने ।
उच्च रक्तचाप र मधुमेहको औषधि खाइरहेकाले बेलाबेलामा रिंगटा लाग्ने र कमजोर महसुस हुने भए पनि उनमा कुनै गम्भीर समस्या भने देखिएको थिएन ।
‘उहाँले मधुमेह, उच्च रक्तचाप, मुटुको औषधि नियमित रुपमा सेवन गर्नुहुन्थ्यो । स्वास्थ्यप्रति धेरै नै सचेत हुनुहुन्थ्यो । औषधि सकिएको छ भने राति नै किनेर खानुहुन्थ्यो’, घिमिरे भन्छन् ।
चिकित्सकका अनुसार मानव शरीरमा हुने मुटुले रगतको पम्पको काम गर्छ र शरीरभर रक्तसञ्चालन गराउँछ । मुटुका मांसपेशीको बाहिरी भागमा रहेका तीन वटा कोरोनरी रक्तनलीमा प्रवाहित हुने रगतमार्फत मुटुमा ग्लुकोज र अक्सिजन प्राप्त हुन्छ ।
त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनलीहरू स्वस्थ हुनु जरुरी छ । तर, यी रक्तनलीभित्र विभिन्न कारणबाट बोसो जमेर (कोलेस्टेरोल) साँघुरो हुने गर्छ । जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन ।
यदि रक्तनली पुरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ । मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षतिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिदै गएमा मांसपेशी मर्दछ र काम गर्न छाड्छ । यो अवस्थालाई हृदयघात भनिन्छ ।
चिकित्सकका अनुसार हृदयघात भएका व्यक्तिले समयमै उपचार नपाए रोगीको तत्काल मृत्यु हुन सक्छ । हृदयघात हुँदा छातीमा बेस्सरी दुखाइ महसुस हुन्छ ।
छातीमा ढुंगाले थिचेजस्तो, डोरीले कसेजस्तो, निचोरेजस्तोे अनुभव बिरामीले गर्छ । यो दुखाइ बाँया कुम, पाखुरा, घाँटी, चिउँडोलगायत अंगतर्फ सर्न सक्छ । यस्ता लक्षण देखिए तुरुन्तै अस्पताल जानुपर्छ ।
प्रतिक्रिया 4