+
+

सिलगुडीमा पोखरेलीको सन्देश : एक पटक आउनुस्, सधैं जाम-जाम लाग्नेछ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २६ गते १७:३०

२६ भदौ, पोखरा । भारतको सिलगुडीमा भएको सातौं बंगाल मार्टमा ३ दिनसम्म गण्डकी प्रदेश र यसको राजधानी सहर पोखरा घुम्न आउन निम्तो बाँडेर पोखरेली व्यवसायीको टोली फर्किएको छ ।

मार्टमा पोखरेली व्यवसायीले स्टलमार्फत र ट्राभल एजेन्ट्स तथा व्यवसायीसँग भेटेरै सबै सिजनमा पोखरा घुम्न आउन आग्रह गर्दै फर्किएका हुन् ।

शनिबारदेखि सोमबारसम्म चलेको मार्टमा धेरैजसोले पोखरा घुम्नका लागि पुग्न सकिने गन्तव्यबारे चासो राखेका थिए भने अधिकांशले नेपालको बाटोकै कारण दुख पाउने गरेको गुनासोसमेत गरेका थिए ।

आयोजक संस्था इस्टर्न हिमालयन ट्राभल एण्ड टुर अपरेटर्स एसोसिएसनकै अध्यक्ष देवाशिष मैत्रले पोखरासम्म पुग्न सडकका कारण दुख पाएको धेरैले गुनासो गर्ने गरेको सुनाए ।

‘पोखरा भनेपछि एक पटक जानुपर्छ भन्ने योजना धेरैले सुनाउँछन् तर सडक खराब हुँदै दुख पाएको सुनाउँछन्,’ उनले भने, ‘हामीले पोखरा जान प्रोत्साहन गरौंला, तपाईंहरुले पनि सिलगुडी घुम्न वा व्यवसायका लागि पठाइदिनुस् ।’

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले नेपालका सडक अहिले बन्ने क्रममै रहेको बताए । मुग्लिन–पोखरा, बुटवल-नारायणगढ सडक बन्ने क्रममै छ ।

‘बिस्तारै सडक निर्माण व्यवस्थित हुन्छ । भद्रपुरबाट सिधै पोखरा उडान गर्न पनि पहल गर्दै छौं,’ अधिकारीले भने, ‘नेपालको पर्यटनमा भारतीयले ठूलो हिस्सा ओगट्छ । त्यसमा पनि वेस्ट बंगालबाट पुग्ने ठूलो संस्था हुनसक्छ, तपाईंहरुले प्रोत्साहन गरिदिनुपर्‍यो ।’

पोखरामा ७ ताल, हिमहृंखला, पदयात्राको मजा लिन सकिने र साहसिक खेलका गतिविधि पनि बढिरहेकाले सिलगुडी हुँदै घुम्न जानेका लागि पोखरा सबैखाले गतिविधिका लागि गतिलो गन्तव्य र प्याकेज हुन सक्ने भन्दै व्यवसायीले निम्ता गरेका थिए ।

कतिपयले पोखरा महंगो भएको गुनासोसमेत गरेका थिए कतिपयले पोखरा नाम सुने पनि अनुभव गर्न नपाएको सुनाए । ‘छोटो दूरीमै हिमालदेखि तालसम्म, डाँडाकाँडादेखि समथरसम्म पुग्न सकिने ठाउँ हो पोखरा ।

पोखरामै ठूलो महादेवको मूर्तीको दर्शनदेखि मुक्तिनाथसम्म जान सकिने आस्थाको द्वार पनि हो पोखरा,’ अधिकारीले भने, ‘साहसिक खेलदेखि गुणस्तरीय होटल, रिसोर्टको सेवादेखि न्यानो आतिथ्यताका लागि तम्तयार छौं । एक पटक आउनुस्, वा एकपटक कसैलाई पठाइदिनुस्, अर्को पटक आफैंलाई सधैं जाम जाम लाग्ने छ ।’

सिलगुडीबाट पोखरा जम्मा ६ सय ३० किलोमिटरमात्र भएकाले सडक मार्गबाट आफ्नै गाडी लिएरै आउन सकिनेसमेत पोखरेलीले व्यवसायीलाई अनुरोध गरेका थिए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पूर्वाधार बन्ने क्रम जारी रहने र व्यवस्थित पनि हुँदै गएकाले हवाइ वा स्थलमार्ग दुबैतिरबाट पोखरा घुम्न अनुरोध गरे । नेपाल र भारतको धेरै संस्कृति समान रहेकाले पोखरा घुम्दा आफ्नो मनसमेत मिल्ने श्रेष्ठको भनाइ थियो ।

दुर्गा पूजा, दीपावलीजस्ता चाडमा नेपाल घुम्न आउन आग्रह गर्दै प्रचार सामाग्री बाँडिएको र धेरै उत्साही पनि बनाएको नाट्टा गण्डकी महासचिव संगीता पौडेलले बताइन् ।

व्यवसायीले नेपालमा भारतीय मुद्रा सटहीमा पनि समस्या भएको गुनासो गरेका थिए । पोखरेलीले अहिले त्यो समस्या नरहेको र नीतिगत हिसाबमै भएका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आश्वासन दिएको भन्दै आश्वस्त पारे ।

मार्टमा करिब १ हजार जना ट्राभल एजेन्ट्सले सहभागिता जनाएका थिए । पोखरा महानगरपालिकाको सहयोगमा नाट्टाको नेतृत्वमा १५ जना व्यवसायी सिलगुडीमा प्रवद्र्धनात्मक कार्यक्रम लिएर पुगेका हुन् । कार्यक्रम सकेर सोमबार राति टोली पोखरा फर्किएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?