+
+

भेटिएको ज्याक र हराएको नयाँ पुस्ता

विस्तारै ज्याकलाई बिर्सने प्रयास गर्दैथिएँ। तर लगभग एक महिनापछि राति ८ बजेतिर ज्याक आफैं घर आइपुगेछ। घरबाट फोन आयो, ज्याक भेटियो !

गणेश लामिछाने गणेश लामिछाने
२०८० भदौ २७ गते ७:०९

मैले उसलाई फेरि भेट्टाएँ। होइन, यसपटक मलाई उसले खोज्यो। ऊ, मतलब मेरो ‘ज्याक’। मैले उसलाई शहरको कुनै केनल घरबाट किनेर ल्याएको होइन, एउटा सानो झोलामा कसैले राम्रोसँग छाडिदिएको अवस्थामा भेट्टाएको हो, मेरो आफ्नै रुम नजिकै।

सानोमा सायद ३ कक्षामा एउटा कुकुरको कथा पढेको थिएँ। कथामा बाढीमा मान्छेलाई बचाउँदा कुकुर आफैं बगेको कथा।

ज्याक हेर्दा त्यस्तो राम्रो, क्युट केही थिएन। तर उसका आँखाले केही भनिरहेका थिए। सानो कुकुर, सानो झोला, झोलाभित्र खेलौना, एउटा चिठी; जहाँ लेखिएको सन्देश पनि थप महत्वपूर्ण थियो।

‘मैले यसलाई भर्खर जन्मिएको वेलामा कहीं भेट्टाएको हो, कामविशेषले म उपत्यका छाड्दैछु। मलाई थाहा छ, म यस्तो कुकुरलाई छाड्ने दानव देखिन सक्छु, क्रुर देखिन सक्छु। तर मैले यसलाई भर्खर जन्मेर मिल्काएको ठाउँबाट देखेर लगभग १५-२० दिन पालें। अब अफिसको कामले योभन्दा बढी पाल्न नसक्ने भएकाले यस्तो गर्न विवश भएँ। मलाई माफ गर्नुहोला, झोलामा यसको खानेकुरा, औषधि गरेको बिल र केही भिटामिन छ। हेर्दा नराम्रो भए पनि यो ज्ञानी छ, पिसाब फेर्दा ट्वाइलेटमा जान खोज्छ, मान्छे नदेखेपछि कराउँछ। यसको जसले हेरविचार गर्नुहुन्छ, हजुरलाई यसले हानि गर्ने छैन, तर मलाई माफ गर्नुहोला।’

यो सबै राम्रा अक्षरमा अङ्ग्रेजीमा लेखिएको थियो। मैले झोला पहिले नै देखे पनि कसैको सामान होला भनेर छाडें। एकछिन पछि अरु रोडका कुकुरले भुकेपछि मेरो ध्यान झोलामा गएको थियो।

झोला हेरेपछि मात्र मैले पत्रसहित अरु सामग्री फेला पारेको थिएँ।

म पनि आफैं एकल कोठामा बस्ने, दिउँसो जागिर खान जाने भएकाले हेरविचार गर्न असम्भव नै थियो।

कामविशेषले घर (चितवन) आउने भएकाले मैले बाइकको लेग गार्डमा त्यै झोलामा मिलाएर लैजाने निर्णय गरें। न हेर्दा राम्रो छ, न ठूलो जातको हो, यस्तो भुसिया कुकुरलाई कसले छाडेको हो, किन लैजाने भनेर आफ्नै दिमागसँगै साथीभाइको सल्लाह पनि आएको हो। तर, मनले मानेन।

मैले धेरै अङ्ग्रेजी फिल्महरूमा देखेको हो, एउटा कुकुर मान्छेको असल साथी बन्न सक्छ। उदाहरणको लागि, ‘हाची’ कुकुरको नामबाट जापानमा एउटा शहरको नाम राखिएको छ। अन्य फिल्महरू जस्तै, ‘एइट बिलो’, ‘टोगो’ यस्ता फिल्म हुन् जहाँ कुकुरको राम्रो कहानी देखाइएको छ।

कसैले कुकुर डोर्‍याएर हिंडेको देख्दा अजिव लाग्थ्यो। अझै पनि कुकुरभन्दा बाख्रा, भैंसी पाल्यो भने बढी काम लाग्छ भन्ने नलागेको भने होइन।

तर पनि एउटा कुकुर डोर्‍याएर हिंड्ने समाजका सम्भ्रान्त वर्गले मात्र हिंड्न सुहाउँछ जस्तो लाग्छ। तर मलाई थाहा छ- म गलत छु।

यसै बीचमा ‘ज्याक’ ठूलो हुँदैथियो। खुट्टाको पञ्जा हेरेर देख्ने मान्छेले यो राम्रो जातको हो भन्थे। कसैले यसको कान ठाडो छ यो त जर्मन सेफर्ड हो भने। तर मलाई जातसँग केही लिनुदिनु थिएन।

हुर्किंदै जाँदा त्यो सानो ‘ज्याक’ रोडमा हिंड्ने भन्दा फरक र राम्रो ब्रिड भन्दा बीचको क्रस निस्क्यो। अरु भन्दा फरक निस्क्यो।

यसैबीचमा म घरमा बस्न पाइनँ। विस्तारै त्यो ‘ज्याक’ मेरो परिवारको सदस्य बन्न पुगेछ। बुवासँग पसल जाने, ममीसँग खेतबारीमा जाने, रातभरि भुक्ने र दिनभरि सुत्ने। अब त ‘ज्याक’ पनि ठूलो भएछ।

अचानक एक दिन बुवासँग मर्निङ वाल्कमा गएको ‘ज्याक’ बुवासँगै फर्केन। लगातार एक हप्तासम्म खोज्दा पनि ज्याक भेटिएन। हराएको दिन ममीले फोनमा घर सुनसान बनाएर गयो भन्दै आँसु निकाल्नुभयो।

मलाई भने अब ठूलो बनाएँ, कहींकतै मागेर नि खान्छ भन्ने लाग्यो। मलाई कुकुर किनेर पाल्नु छैन, थिएन पनि।

अब अर्को कुकुर ल्याउन मेरो मन थिएन। घर सुनसान थियो। हरेक पटक फोनमा बोल्दा ‘ज्याक’ आएन है ममी भनेर सोधें।

हिलो पटक जसले ज्याकलाई पाल्नुभयो, उहाँले टेकु अस्पतालमा खोप लगाउन लग्नुभएको रहेछ, मैले बिल हेरेर थाहा पाएँ। एउटा बाटोमा भेट्टाएको कुकुरलाई यतिसम्म गर्ने हजुर क्रुर होइन, असल मानव हो। तपाईंलाई पनि मनबाटै धन्यवाद

यसैबीच मेरो एक जना साथीले अमेरिकामा एक जोडी कुकुर नेपालदेखि लगभग ६-७ लाख नेपाली रूपैयाँ तिरेर लगेको सुनें। सुरुमा लाग्यो- किन यति धेरै खर्च गरेर लगेको होला ?

केही चिजहरूको याद मेटाउन अर्को चिजले नसक्ने रहेछ। मलाई पनि त्यस्तै भयो। मलाई न कुकुर किन्नु थियो, न त्यो कुकुरलाई सोध्न छाडेको थिएँ। हरेक पटक फेसबुकमा देखिने रिल, बाटोमा मानिसले डोर्‍याएर हिंड्ने कुकुर देख्दा मलाई ‘ज्याक’ को याद आउँथ्यो।

विस्तारै ज्याकलाई बिर्सने प्रयास गर्दै थिएँ। तर लगभग एक महिनापछि राति ८ बजेतिर ज्याक आफैं घर आइपुगेछ। घरबाट फोन आयो, ज्याक भेटियो।

म भावुक भएँ। आँसु आए। खै किन आए ? खै किन माया लाग्यो? खै के सम्झिएँ ? सायद ज्याकले एउटा अर्को जिन्दगी बाँच्यो।

मैले एउटा फिल्म हेरेको थिएँ- वार हर्स। त्यसमा एक बालक र घोडाको अथाह प्रेम देखाइएको छ। घोडा विश्वयुद्धको वेला बेचिन्छ। उसले धेरै दुःख पाउँछ र अन्त्यमा फर्केर आएको देखाइएको छ। त्यो फिल्म धेरै विधामा अवार्ड हात पार्न सफल भएको थियो।

मैले सोचें, यसबीचमा उसले धेरै साथी बनायो होला। उसले धेरै दुःख पनि पायो होला। उ धेरै छाक भोकै पनि बस्यो होला। केही थान ढुङ्गा खायो होला मान्छेको हातबाट। मासु पसलको अगाडि झुक्किएर एक छिन बस्ने मौका जुरेको भए धेरै मासु पनि खायो होला।

मैले सोचें, ज्याक त घर आएछ। एउटा कुकुर जसलाई मैले एक वर्ष पालें, त्यो केही समय हरायो तर फर्केर आयो। विदेश बस्ने हामी कहिले जाने होला। हामीलाई त यत्रो वर्ष आफ्नो देशले पाल्यो। परिवारले पाल्यो। भेट्टाएको कुकुरलाई फेरि भेट्टाउँदा मेरा आँसु निस्किए भने आफ्नै परिवारमा फर्केर उनीहरू कति खुशी हुन्छन् होला।

मलाई लाग्छ- हामी पनि कोही ‘ज्याक’ जस्तै हराएका छौं। केही थान खुशी खोज्न, केही समय दुःख बुझ्न, केही भाग दुनियाँ बुझ्न। हामी कहिले आफ्नो घर जाने? एक महिना भन्दा बढीसम्म खोज्दा नभेटिएको कुकुरले घर चिनेर फर्किए झैं हामी आफ्नो घर चिनेर कहिले फर्किने होला?

हामीले जति खोजे पनि नभेटिने त्यो ‘ज्याक’ झैं, हामी आफैं घर खोजेर घर जान मन नभएसम्म नेपाल आमाले नभेट्टाउने पो हुन् कि ?

यो एउटा प्रतिनिधि उदाहरण हुनसक्छ। मलाई थाहा छ- म जस्तै कुकुरलाई माया गर्ने धेरै हुनुहुन्छ। म त कुकुरलाई माया गर्ने मान्छेको सूचीमा निकै पुछारमा पर्छु होला। तर जसले नियमित गल्लीका कुकुरलाई खाना दिनुहुन्छ, उहाँहरूलाई हात जोडेर धन्यवाद भन्न चाहन्छु। जसले बाटोमा हिंड्दा कुकुर देखेर बिस्कुट किनेर दिनुहुन्छ उहाँहरूलाई पनि धन्यवाद।

तपाईंको छेउछाउमा पनि धेरै ‘ज्याक’ हरू हुनसक्छन्, तिनीहरूलाई थोरै माया दिनुस्। शायद उनीहरूले त्यो मायाको हात बिर्सने छैनन्।

हराइरहेका ज्याकहरूले साथी पाऊन्। माया पाऊन्।

अन्त्यमा पहिलो पटक जसले ज्याकलाई पाल्नुभयो, उहाँले टेकु अस्पतालमा खोप लगाउन लग्नुभएको रहेछ, मैले बिल हेरेर थाहा पाएँ।

एउटा बाटोमा भेट्टाएको कुकुरलाई यतिसम्म गर्ने हजुर क्रुर होइन, असल मानव हो। तपाईंलाई पनि मनबाटै धन्यवाद।

तपाईंले भने जस्तै तपाईंको त्यो सानो कुकुर अहिले ठूलो भएको छ र ज्ञानी छ। तपाईंलाई शुभ समय।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?