+
+

ढाकाकुमारले नाम लिएका मोहनजंगमाथि रास्वपाले थाल्यो अनुसन्धान

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते १५:१४

२७ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्य मोहनजंग थापामाथि अनुसन्धान थालेको बताएको छ ।

रास्वपाले बर्खास्त गरेका पूर्व सांसद ढाकाकुमार श्रेष्ठले सभापतिसँग निकट रहेका थापाले मन्त्री बनाउँछु भनेर आफूसँग ३ करोड रुपैयाँ मागेको बताएका थिए । यसबारे अनुशासन आयोगले केन्द्रीय सदस्य थापासँग सोधपुछ र अनुसन्धानको प्रक्रिया अगाडि बढाएको रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले बताए ।

गत चैतमा रास्वपाका तत्कालीन सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक गरेको थियो । त्यसमाथि छानबिन गरेको रास्वपाले श्रेष्ठले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो ।

त्यही कारबाहीका कारण उनको सांसद पद गयो । पछिल्लो समय उनले त्यो बेला आफूलाई मन्त्री बनाउन भन्दै केन्द्रीय सदस्य थापाले ३ करोड रुपैयाँ मागेको दाबी गरेका छन् । यसबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै रास्वपाले श्रेष्ठमाथि प्रश्न उठाएको छ ।

त्यो अडियो सार्वजनिक भएपछि श्रेष्ठले कहिले त्यो अडियो आफ्नो होइन त कहिले पुसको अडियो अहिले किन सार्वजनिक भयो भन्ने गरेको रास्वपाले बताएको छ । साथै उक्त अडियो आफ्नो होइन भनेर उनले दिएको बयान पार्टीमा सुरक्षित नै रहेको भन्दै रास्वपाले भनेको छ, ‘कहिले कोर टीम छैन भन्ने त कहिले पार्टीका फरक फरक केन्द्रीय सदस्यलाई पोलिरहने जस्तो एकआपसमा परस्पर विरोधी अभिव्यक्ति दिइरहनु भयो ।’

पार्टीको नाम प्रयोग गरेर पैसा मागेको प्रमाण लिएर आए ७२ घण्टाभित्र कारबाही गर्ने रास्वपाले बताएको छ । तर पार्टीप्रति जनविश्वासमा चोट पुर्‍याउने प्रयत्न नहोस् भनेर समेत सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?